कभर स्टोरी

स्वामी अरुणको जेतवनले पैसा लियो, जग्गा दिएन 

पीडित कानुनी उपचारमा जाने तयारीमा 

स्वामी अरुणको जेतवनले पैसा लियो, जग्गा दिएन 

काठमाडौं । ओशो तपोवनका विवादास्पद स्वामी आनन्द अरुणको आर्थिक अनियमिततासम्बन्धी अर्को विषय सार्वजनिक भएको छ । 

स्वामी आनन्द अरुण नै संरक्षक रहेको लुम्बिनीस्थित जेतवनमा ७० वटा आवसीय घर निर्माण गर्ने भनेर मानिसहरुलाई जग्गा बिक्री खुला गरेको थियो । त्यो क्रममा एक महिलाले पनि जग्गा खरिदका लागि स्वामी अरुणको जोर्बा सहकारीमा पैसा जम्मा गरेकी थिइन् । तर लामो समय बितिसक्दा पनि स्वामीको जेतवनले जग्गा पास गरिदिएको छैन । पीडित मीठु गौतम भन्छिन्, ‘स्वामी प्रेमकृष्णले भनेअनुसार मैले दुई चरणमा २ लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेकी छु । तर जग्गा अहिलेसम्म पास गरिएको छैन ।’

 

गौतमले पैसा जम्मा गरेको पनि ६ वर्ष भइसकेको छ । तर यतिलामो समय बितिसक्दा पनि जेतवनले जग्गा पास गरिदिएको छैन । जग्गा बेच्ने भनेर पैसा लिने तर लामो समय भइसक्दा पनि जग्गा पास गर्न आलटाल गर्नेमा जेतवनका अध्यक्ष गोविन्द नारायण पनि छन् । गौतमका अनुसार फोटो र नागरिकताको फोटोकपि पठाउन भनेर पनि अहिलेसम्म जग्गा पास गरिएिको छैन । केही सीप नलागेपछि गौतमले जग्गा चाहिँदैन, पैसा नै फिर्ता दिनूस भन्दा पनि रकम फिर्ता नभएको गुनासो उनले गरेकी छिन् ।   

 

यसबीच स्वामी आनन्द अरुणबारे विभिन्न रहस्यहरु मिडियामार्फत सार्वजनिक भएका छन् । गौतमले भनिन्, ‘उहाँबारे यस्ता विषयहरु मिडियामा आए । अहिले मलाई मेरै पैसा पनि डुब्ने हो कि भन्ने चिन्ताले सताएको छ । गौतमले पैसा पनि फिर्ता नदिने, जग्गा पनि नदिने भए आफू जेतवनविरुद्ध ठगी मुद्दामा जाने चेतावनी दिएकी छिन् ।  

 

पीडित गौतमले आफू ओशो सन्यासी नभए पनि ओशोका जीवनपयोगी उपदेशबाट प्रेरित भएको उल्लेख गरेकी छिन् । ओशोप्रति आफ्नो श्रद्धा अटल भए पनि ओशोको नाममा यस्ता क्रियाकलाप भने सही नभएको उनको ठहर छ । 

ओशो तपोवनमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले पनि आवासका लागि पैसा लगानी गरेको सार्वजनिक भएको थियो । कतै सर्वसाधारणलाई पैसा लिएर जमिन नदिने त कतै भ्रष्टाचार गरी कमाएको धन थुपार्ने स्थानका रुपमा  ओशो तपोवन विकास हुँदै गएको देखिन्छ । काठमाडौंमै ५ वटा घर हुँदा हुँदै तपोवनमा पनि खड्काले २५ लाख रुपैया बुझाएका थिए । अख्तियारले त्यो पैसा पनि भ्रष्टाचार गरी कमाएको शंका गरेको छ । खड्काले स्वामी अरुणकै जोर्बा सहकारीमा ७१ वैशाख ३ मा दुई किस्तामा २५ लाख बुझाएका थिए । त्यो बेला अख्तियारमा लोकमान सिंह कार्की थिए ।

 

लोकमान र खड्का आफन्त पनि हुन् । दुवै विवादास्पद पात्रका परम गुरुज्यु भने स्वामी आनन्द अरुण हुन् । आनन्द अरुणले अख्तियारमै पुगेर पटक पटक सदाचारको प्रवचन पनि दिने गरेका थिए ।  
 

विशेष