कभर स्टोरी

नेबिसंघ नेतृत्वमा शाहीको दाबी, भन्छन्–‘ अखिल र अनेरास्ववियू नै स्ववियू निर्वाचनको बिपक्षमा’

नेबिसंघ नेतृत्वमा शाहीको दाबी, भन्छन्–‘ अखिल र अनेरास्ववियू नै स्ववियू निर्वाचनको बिपक्षमा’

फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नहुने निश्चित छ । अब चैत मसान्त भित्र निर्वाचन गर्ने तयारी त्रिबिले गरेको छ । यसका लागि त्रिबिले शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा समिति पनि गठन गरिसकेको छ । 

 


स्ववियूमा नेबिसंघ ‘एक नम्बर’


चैत मशान्त भित्र निर्वाचन गर्ने हो भने नेबिसंघ त्यसका लागि पूर्ण तयार रहेको निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पकुमार शाही बताउँछन् । केही दिनमै नेबिसंघले नयाँ नेतृत्व पाउने र देशभरका क्याम्पसमा नेबिसंघको संगठन पनि चुस्त रहेकाले स्ववियू निर्वाचनमा भाग लिने कुरा निश्चित भएको उनले बताए । 

 


शाहीले आगामी स्ववियू निर्वाचनमा नेबिसंघ एक नम्बर संगठन बन्ने दाबी गरे । सरकारका विवादास्पद कामकारवाहीबाट देशभरका बिद्यार्थीहरुसमेत आजित भैसकेकाले अब कांग्रेसको भ्रातृ संगठन नेबिसंघलाई एक नम्बर संगठन हुनबाट कसैले रोक्न नसक्ने उनको दाबी छ । 

 


नेता शाहीले अनेरास्ववियू र अखिल क्रान्तिकारीले देखावटीरुपमा स्ववियू निर्वाचनको जति माग गरेपनि उनीहरुले नै निर्वाचन नचाहेको तर्क गरे । पार्टी एकताका काम टुंगिन नसक्दा आन्तरिक विवादले दुवै संगठन लथालिंग अवस्थामा पुगेको बताउँदै उनले आउँदो निर्वाचनमा नेबिसंघको शानदार जित हासिल हुने बिश्वास व्यक्त गरे । 

 


नेतृत्वमा दाबी


नेता शाहीले नेबिसंघको महाधिवेशनका लागि आफनो नेतृत्वमा तदर्थसमिति गठन गरे संगठन र स्वयं पार्टीलाई पनि फाइदा हुने तर्क गरे । आफूले बिगतमा निर्वाह गरेको भूमिका र अहिले संगठनलाई अघि बढाउने स्पष्ट दृष्टिकोण आफूसंग भएकाले आफनो नेतृत्वमा तदर्थसमिति बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराए । 

 


३२ बर्षे लगाउनु हुंदैन


नेता शाहीले तदर्थसमिति गठन गर्दा ३२ बर्षे उमेरको हदबन्दी लगाउन नहुने धारणासमेत राखे । बिधान अनुसार नयाँ महाधिवेशन सम्पन्न भएपछि मात्रै उमेर हदबन्दी लगाउने स्पष्ट भैसकेकाले त्यसमा नेतृत्व नअल्मलिने उनको बिश्वास छ । 

 


महरको समर्थन 

 

नेबिसंघको महाधिवेशन सम्पन्न गराउन निबर्तमान अध्यक्ष नैनसिंह महर पनि इमान्दारितापूर्वक लागेको जानकारी दिंदै नेता शाहीले आफूलाई महरको पनि समर्थन रहेको जानकारी दिए । 

 


महरसंग आफनो व्यक्तिगत र राजनीतिक सम्बन्ध राम्रो भएको स्पष्ट पार्दै नेता शाहीले पार्टी भित्रका बिभिन्न समूहलाई मिलाएर लैजाने क्षमतासमेत आफूमा भएको दाबी गरे । 

 


सुदूरपश्चिमको ‘ट्याग’


नेता शाहीले आफूलाई सुदूरपश्चिमको ‘ट्याग’ लगाएर नेतृत्वबाट वञ्चित गर्न खोजेको भन्दै दुःखसमेत प्रकट गरे । पार्टी सभापति पनि सुदूरपश्चिमको, निबर्तमान अध्यक्ष पनि सुदूरपश्चिमको भएको कुरा उठाएर केही मान्छेले आफूमाथि अन्यायपूर्ण व्यवहार गर्न खोजेको उनको गुनासो छ । 

 


क्षेत्रगत व्यवहार नगरी संगठनमा पु¥याएको योगदान, कार्यक्षमता र कार्यकुशलता हेरी मूल्यांकन गर्ने परिपाटी बसाल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 


 

विशेष