कभर स्टोरी

डा.केसीको अबको रोडम्याप भीषण आन्दोलन, सरकारको उड्यो सातो

जसै, केसी फूर्तिला हुनेछन....आन्दोलन चर्किनेछ....केसी अघिअघि...अरु पछिपछि...

डा.केसीको अबको रोडम्याप भीषण आन्दोलन, सरकारको उड्यो सातो


अबको राजनीतिक परिदृश्य हो सरकारबिरुद्ध भीषण आन्दोलन । यसको अगुवाइ गर्नेछन् भर्खरै अनसन तोडेर शिक्षण अस्पतालमा तङग्रीरहेका प्रा.डा. गोविन्द केसीले । प्रमुख बाहना त्यही हुनेछ चिकित्सा शिक्षा बिधेयक । 


डा.केसीको १६औं चरणको अनसनमा समर्थन जनाउन र उनको प्राण जोगाउनका लाग पहल गर्न शिक्षण अस्पताल को को पुगे ? 


सामान्य मान्छेको कुरा छोडौं । यो पटक पूर्व राष्ट्रपति डा. रामवरण यादव पनि पुगेका छन । पूर्व प्रधानन्यायाधीश सुशील कार्की र  पूर्व सभामुख दमननाथ ढुंगानाले त केसीलाई जुस नै खुवाएर अनसन तोडाए । पूर्व प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवापनि केसीलाई मनाउन अस्पताल पुगे ।

 

 
केसीले इलामबाट आफनो १६औं चरणको अनसन सुरु गरेपछि उनलाई त्यहीं भेटन कार्की र ढुंगानासंगै एक दर्जन अधिकारकर्मी तथा नागरिक अगुवा पुगेका थिए । यो केसीप्रतिको व्यक्तिगत माया र लगावले होइन, बर्तमान सरकारप्रतिको आक्रोश पनि हो । आफैले गरेका सहमति कार्यान्वयन नगरी उल्टो सत्याग्रही केसीको बदनाम गर्न थालेपछि बर्तमान सरकारबिरुद्ध अधिकारकर्मी र नागरिक अगुवापनि एकजुट भएका हुन् । 

 


केही समयअघिको कुरा गरौं । यीनै डा. केसीको आन्दोलनमार्फत बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पदबाट हात धुनु परेको थियो । त्योबेलाको बिजयी उत्सवमा माइतीघरमा आयोजित कार्यक्रममा चर्चित वकिल एवम डा. केसीका सहयोगी ओमप्रकाश अर्यालले आगामी योजनाबारे प्रष्ट पारेका थिए । उनले त्यहीबेला माफीयाको संरक्षक केपी ओलीबिरुद्ध अबको आन्दोलन सोझिने उद्घोष नै गरेका थिए । यसका लागि ओली निशानामा परिसकेको बताउँदै ओलीका प्रत्येक कर्तूतहरु ट्रेस गर्ने काम भैरहेको जानकारी गरेका थिए । 

 


२४ दिन लामो १६औं अनसन तोड्नेक्रममा डा. केसीले पनि प्रधानमन्त्री ओलीबिरुद्ध आक्रोश पोखेका छन । इलाममा अनसन सुरु गर्दै गर्दापनि उनले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारी र माफियाको संरक्षक भन्दै मुलुकको सबैभन्दा ठूलो अपराधीको संज्ञा दिएका थिए । 

 


आज डा. केसीको मागमा निर्मला पन्त र द्वन्द्वकालका मुद्दासमेत पर्नुको कारण ओली र प्रचण्डलाई सिध्याउनु नै हो । यो उनको पुरानो योजना हो । अहिले एकाएक लहडमा हडबडाएर उनले बोलेका पनि होइनन्, लेखेका पनि होइनन् । यो सबै पूर्वयोजना हो, जसको संकेत अधिवक्ता अर्यालले पहिले नै गरिसकेका थिए । 


अब के हुन्छ त ? 


डा. केसीलाई अनसन तोडन भन्दै सबैभन्दा पहिले आग्रह गर्ने व्यक्ति थिए, कांग्रेस सभापति शेरबहादुर देउवा । उनले भनेको कुरा निकै महत्वपूर्ण छ । उनले भनेका थिए,–‘ केही माग पूरा भएका छन् र बाँकीका लागि तपाईको नेतृत्वमा आन्दोलन गरौंला, अनसन तोड्नूहोस । ’

 


सभापति देउवाले डा.केसीलाई तपाईको नेतृत्वमा आन्दोलन गरौंला भन्नुको पछाडी ठूलो योजना छ । अहिले कांग्रेस सरकारबिरुद्ध सडक र सदन दुर्वतर्फ आन्दोलनमा छ ।  उसले लगातार संसद् अवरुद्ध गरिरहेको छ भने माघ २१ गते सरकारबिरुद्ध देशब्यापी प्रदर्शन गर्दैछ । भ्रातृसंगठनहरु दैनिक प्रदर्शन गरिरहेका छन् । यो बेला कांग्रेस सरकारबिरुद्धको आन्दोलनमा अन्य सारथीको खोजिमा छ । 

 


कांग्रेससंगै बिवेकशील साझाका दुवै समूह पनि सडक प्रदर्शनमा छन् । बिधेयक र कानूनका सवालमा उनीहरुको माग र कांग्रेसको मागमा केही भिन्नता छैन ।


भर्खरै पार्टी एक गरेका पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी समूहपनि सरकारबिरुद्धको लडाईंका लागि कांग्रेससंग परामर्शमा जुटिसकेका छन् । कमल थापा नेतृत्वको राप्रपा त हिन्दू राष्ट्रको एजेण्डासहित चरणबद्ध आन्दोलनमा पहिलेदेखि नै छ, अझ चर्काउने उसको योजना छ । 


सरकारले आफूसंग भएको सहमति अनुसार संविधान संशोधन नगरेको भन्दै सरकारमै रहेको संघीय समाजवादी फोरमले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई कुनैपनि बेला सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । सरकारलाई समर्थन दिएको राजपा पनि समर्थन फिर्तालिएसंगै आन्दोलनमा जाने तयारी छ । 
यहीबेला भेनेजुएला प्रकरणमा सरकार नराम्ररी फँसेको छ । अमेरिका सरकारसंग क्रुद्ध भएको छ । अमेरिका र उसको गठवन्धनका सबै राष्ट्र सरकारको बिरुद्धमा देखिएका छन् । 

 


सरकारलाई भारत र चीनले पनि बिश्वास गर्न छोडेका छन् । हिन्दू राष्ट्र बनाउने सवालमा धोका दिएको, भारतको पुनेमा सार्क राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने बिषयबाट पछि हटेको, चीनलाई बुढीगण्डकी दिएको लगायतका बिषयमा भारत असन्तुष्ट छ । 


उता, चीनपनि ब्यापारिक, पारवाहन तथा यातायात सम्झौता कार्यान्वयनमा ओली सरकारले वास्ता नगरेपछि चिढीएको छ । साथै, अमेरिकाको इण्डोप्यासिफिक स्ट्राटिजीमा रुची देखाएको तर आफनो वान वेल्ट वान रोडप्रति खासै चासो नदिएको चीनको गुनासो छ । 


यी सबैले बर्तमान ओली सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति सहज नभएको देखाउँछ । भन्नुको अर्थ बर्तमान सरकार घेराबन्दीमा परिसकेको छ । 
अझ सो पार्टी भित्रै बामदेव गौतम, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत समूहको असन्तुष्टि बढ्दै गएकाले आन्तरिकरुपमा पनि अवस्था बलियो छैन । बामदेव गौतमलाई सांसद बनाउने कुरामा ओली र प्रचण्डले धोका दिएपछि स्थिति बिकराल बनेको हो । प्रमुख चार जना नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेर अध्यक्षद्वय ओली र प्रचण्डलाई झट्का दिएको धेरै समय भएको छैन । 

 


यी सबै कारणले सरकारबिरुद्धको माहोलले दिनप्रतिदिन बलियो रुप पाइरहेको छ ।  यसको नेतृत्व कांग्रेस आफै गर्न चाहन्छ । डा. गोविन्द केसीप्रति अपार जनसमर्थन र उनका मुद्दाको जग पनि बलियो भएकाले उनलाई पनि साथमा लिने कांग्रेसको योजना हो । यसका लागि डा. केसीको जीवनरक्षा एकदम जरुरी थियो । 

 


केसी सडकमा निस्किने हो भने लाखौं मानिस देशभर सडकमा आउनेछन् । बिभिन्न राजनीतिक दल, नागरिक अगुवा, अधिकारकर्मी, चिकित्सकसहितका पेशाकर्मीको आन्दोलनलाई सरकारले थेग्न सक्ने छैन ।


यो भन्दा अघि सरकार भ्रष्टाचारी र अपराधिको संरक्षक बनेको, अधिनायकवाद लाद्न खोजेको, प्रजातन्त्र मास्त खोजेको लगायतका बिषय उछालेर सरकारलाई अन्तर्राष्ट्रियस्तरमै बदनाम गरिनेछ ।  यसले दुई तिहाई भएपनि सरकारलाई क्षण भरमै भष्म गर्न सक्ने कांग्रेस र स्वयं केसी समर्थकहरुको पनि बिश्वास छ । यो बिषयमा यीनीहरुको आपसी सल्लाह त भएको छैन तर सरकारबिरुद्धको मत भने एउटै छ । 


केसी तङ्रग्रीनुअघि कांग्रेस लगायतका दल र नागरिक अगुवाहरुले छिटपुट प्रदर्शन गरिरहनेछन् । जसै, केसी फूर्तिला हुनेछन....आन्दोलन चर्किनेछ....केसी अघिअघि...अरु पछिपछि... । 

विशेष