खेल

टी–२० विश्वकप छनोटः थाइल्यान्डविरुद्ध नेपाल बलिङ गर्दै

टी–२० विश्वकप छनोटः थाइल्यान्डविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको थाइल्यान्ड विरुद्धको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । यी दुवै टोलीबीचको खेल बैंककस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीको मैदानमा नेपाली समयअनुसार बिहान ८ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा मलेसियामाथि ३४ रनको जित निकालेको नेपाल विजय यात्रालाई निरन्तरता दिने रणनीतिमा आयोजक थाइल्यान्डको सामना गर्न लागेको छ ।

 

छनोटको तयारी स्वरुप गत महिना आयोजित वुमन ट्वान्टी–२० स्म्यासमा उपाधिका लागि नेपाल र थाइल्यान्ड भिडेका थिए । जसमा आयोजक टोली फराकिलो अन्तरले विजयी भएको थियो । महिना दिनको आसपासमा फेरि यी दुई टोलीले एक अर्काको सामना गर्दैछन् । बलियो थाइल्यान्डविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । 

 

स्म्यासमा नेपालले सहभागी राष्ट्रमध्ये आयोजक थाइल्यान्डबाहेक सबैलाई हराएको थियो । स्म्यासमा भएको कमजोरी र गल्तीलाई सुधार्नका लागि प्रशिक्षणमा प्रयास गरिएको प्रशिक्षक विनोद दासले बताएका छन् ।  जारी एसिया छनोटमा युएई दुवै खेलमा जित निकाल्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । 

 

१ खेलमा जित निकालेको नेपाल  २ अंकका सहित दोस्रो स्थानमा छ । २ खेलमा १ मा हार र १ मा जित निकालेको मलेसिया २ अंकसहित तेस्रो स्थानमा छ । १ खेलमा विजय आयोजक थाइल्याण्ड २ अंकसहित चौथो स्थानमा छ ।  ६ टोली सहभागी छनोटको तेस्रो खेलमा नेपालले फागुन १० गते संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ । फागुन १२ गते हङकङसंग प्रतिस्पर्धा गर्ने नेपालले १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

टी–२० विश्वकप छनोट नेपाल भर्सेस थाइल्यान्ड

विशेष