टी–२० विश्वकप छनोटः थाइल्यान्डद्वारा नेपालसामु १२४ रनको लक्ष्य
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको थाइल्यान्ड विरुद्धको खेलमा नेपालले १२५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनायो । उसका लागि चाणिडा सुथेरिरुआंगले ३५, नरुमोल चाईवाले ३२, वोंगपका लिगेरेसर्टले २८ र नाटाया बुथथमले १२ रन बनाइन् ।
बलिङमा नेपालकी कप्तान रुबीना क्षेत्री, नेरी थापा, कविता कुँवरले दुईदुई र करुणा भण्डारीले एक विकेट लिइन् । पहिलो खेलमा मलेसियामाथि ३४ रनको जित निकालेको नेपाल विजय यात्रालाई निरन्तरता दिने रणनीतिमा आयोजक थाइल्यान्डको सामना गरिरहेको ।
छनोटको तयारी स्वरुप गत महिना आयोजित वुमन ट्वान्टी–२० स्म्यासमा उपाधिका लागि नेपाल र थाइल्यान्ड भिडेका थिए । जसमा आयोजक टोली फराकिलो अन्तरले विजयी भएको थियो । महिना दिनको आसपासमा फेरि यी दुई टोलीले एक अर्काको सामना गर्दैछन् । बलियो थाइल्यान्डविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।
स्म्यासमा नेपालले सहभागी राष्ट्रमध्ये आयोजक थाइल्यान्डबाहेक सबैलाई हराएको थियो । स्म्यासमा भएको कमजोरी र गल्तीलाई सुधार्नका लागि प्रशिक्षणमा प्रयास गरिएको प्रशिक्षक विनोद दासले बताएका छन् । जारी एसिया छनोटमा युएई दुवै खेलमा जित निकाल्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।