सचिवले मेरो फर्मुलामा काम गरेनन्, सरुवामा परे –खानेपानी मन्त्री
काठमाडौं । खानेपानी मन्त्री बीना मगरले सांसदमा मेलम्ची खानेपानी आयोजनाको काम छिटो भन्दा छिटो अघि बढ्ने बताएकी छन् । मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरव र उपत्यकाबासी जनताको लागि निकै महत्वपूर्ण आयोजना भए पनि व्यक्तिगत रूपमा आफ्नो सफलतासँग जोडिएको आयोजना भएको उनले बताइन् । तसर्थ मेलम्चीमा कुनै पनि गिद्धे नजर पर्न नदिने उनको जोड छ ।
उक्त आयोजनाको टेन्डर लिएको कम्पनीले बीचमै काम बन्द गरेपछि विभिन्न झमेला आइपरे । उक्त कम्पनिलाई नै फेरि टेन्डर सुम्पिने भएपछि धेरै आलोचना पनि भए । मन्त्री मगरले सिएमसीलाई काममा फर्काउन निकै कठिन भएको र विधिवत रुपमा काम गर्ने भए सिएमसीको सरकारले स्वागत गर्ने बताइन् । हालसालै खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले सिएमसीलाईलाई थप तीन अर्बको धरौटी दिएर मन्त्रीले मुलुक डुबाउने काम गरेको आरोप लगाएका छन् । आरोपसँगै उनको सरुवा भयो ।
यस विषयमा प्रमुख प्रतिपक्षका नेता गगनकुमार थापाले गरेको दोषी को हो छापा कि मन्त्रालय भन्ने प्रश्नमा मन्त्री मगरले भनिन्, ‘सचिवले के कुरा उठाए या उठाएनन् भन्ने कुरालाई म प्राथामिकता दिन्न । सचिवले कमिसनको विषय उठाए भन्ने कुरा आधिकारिक रुपमा मिडियामा सुनेकी छैन । यसलाई गम्भीरताकासाथ आत्मसात गर्नका लागि विशेष अनुरोध गर्न चाहन्छु ।’
ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप पनि लगाएका थिए । यसको जवाफ दिँदै मन्त्री मगरले भनिन्, ‘यसको जवाफ मैले होइन सम्बन्धित व्यक्तिले नै दिनुपर्छ ।’
आफ्नो फर्मुला ‘मेलम्ची आयोजना प्लस सिएमसी इज इक्वल टु’ जनता भएको तर सचिव ठाकुरले आफ्नो फर्मुला भित्र रहेर काम नगरेका कारण सरुवा गरिएको उनले बताइन् । यससन्दर्भमा केही नियोजित मिडिया हावी भएको भन्दै उनले थपिन्, ‘कहिलेकाहीं सही काम गर्दा पनि नराम्रा भ्रम फैलिएका छन् ।
केही मिडियाको नियोजित प्रचारमा नलाग्नुहोला । सिएमसी कम्पनीमा कहिले कति अर्ब खर्ब खायो, मन्त्रीले एक अर्ब रुपैया खायो भनेर मेरो प्रचारबाजी गरिएपछि मैले हिसाब किताब निकालेर हेरें । मेलम्ची खानेपानी आयोजनाले अहिलेसम्म कति भुक्तानी गर्यो भनेर हेर्दा, जम्मा ८४ करोड १५ लाख रुपैया म आइसकेपछि भुक्तानी गरेको रहेछ । तर मिडियाले एक अर्ब खायो भनेर प्रचार गर्यो ।’
मेलम्ची आयोजनाले बिगारेका बाटोहरु छिटो भन्दा छिटो बन्ने बताउँदै अब यसको काम रफ्तारमा चल्ने मन्त्रीले मगरले बताइन् । जनताको अधिकतम हित र नाफालाई मध्यनजर गरेर छिटो भन्दा छिटो काठमाडौं उपत्यकाका जनतालाई पानी उपलब्ध गराउने काममा मेलम्ची खानेपानी आयोजना प्रतिबद्ध रहेकोबारे उनले जानकारी गराइन् ।