कभर स्टोरी Breaking News

ललितपुर बमकाण्डले सम्झायो द्वन्द्वकाल, गृहमन्त्री थापा र बिप्लवबीच युद्धकालदेखि नै फाटो 

ललितपुर बमकाण्डले सम्झायो द्वन्द्वकाल, गृहमन्त्री थापा र बिप्लवबीच युद्धकालदेखि नै फाटो 


ललितपुरको नख्खुसहित देशका बिभिन्न स्थानमा एनसेललाई लक्षित गरी गरिएको आक्रमणले पुनः एकपटक द्वन्द्वकाल सम्झना गराएको छ । बाहना एनसेलको भएपनि मुलुक पुनः द्वन्द्वतर्फ जान्छ कि भन्ने चिन्ता पनि हो । 

 


गृहमन्त्रालयले आक्रमणकारीका रुपमा अर्धभूमिगत नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको माओवादीमाथि शंका गरेको छ । एनसेलले कर नतिरेकोसहित चन्दाका बिषयमा आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ । सर्वसाधारण मानिसहरुले पनि यो काम बिप्लवकै हुनुपर्छ भनी लख काटेका छन् । 

 


घटनामा एक जनाले ज्यान गुमाउनु पर्यो भने दुई जना गम्भीर घाइते भए । शनिवार नै गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसंगै अस्पताल पुगी घाइतेहरुको अवस्था बुझे र उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएर आए ।  

 


कुरो यतिमा मात्र सिमित होइन । यो लेखलाई चिनाउन जुन फोटो प्रयोग गरिएको छ, सन्दर्भ त्यसैको हो । ललितपुरसहित देशका बिभिन्न स्थानमा भएका बिष्फोटमा बिप्लव समूहको हात होला वा नहोला त्यो अनुसन्धान पछि थाहा हुने कुरा हो । तर, सत्य के हो भने कुनैबेलाका नेपाल परिवर्तन गर्ने भनेर ज्यानको बाजी लगाएर हिंडेका दौंतरी आज आमनेसामने भएका छन् । 

 


फोटोका एक पात्र रामबहादुर थापा गृहमन्त्रीको कुर्सीमा आसिन छन् । यसअघि उनी रक्षा मन्त्री पनि भएका थिए । मुलुकमा शान्ति सुरक्षा कायम गर्नु उनको दायित्व हो । चन्द बिद्रोहमा छन् । यो राज्यसत्ताले मुलुक परिवर्तन गर्दैन र जनतालाई न्याय पनि दिंदैन भन्ने चन्दको ठहर छ । 

 


पछिल्लो पटक भएका यी बिष्फोटका घटना मात्र होइन प्रदेश र प्रतिनिधिसभा निर्वाचनका समयमा देशका बिभिन्न स्थानमा भएका बिष्फोटमा पनि बिप्लवको हात रहेको अनुमान गरिएको थियो । 

 


थबाङ जाँदाको फोटो


आज थापा र चन्द आमनेसामने हुँदा द्वन्द्वकालको यो तस्बीर सबैको मष्तिष्कमा छाएको छ । यो २०१३ मा जीवन हमालले प्रकासित गरेको फोटो हो । रोल्पाको थबाङ जाँदा बिचमा पर्ने भेडीखर्क खोलामा बिश्राम गर्र्दै गर्दाको तस्बिर उनले सार्वजनिक गरेका हुन् । 

 

यो २०१३ फेब्रुअरी १२ तारिखको कुरा हो । यो समूहमा बादल, बिप्लवका अलवा सीपी गजुरेल र इन्द्र मोहन सिग्देल पनि थिए । उनीहरु थार्पु गाउँबाट थबाङका लागि हिंडे । अर्को दिन जनयुद्ध दिवस मनाउनुपर्ने भएकाले त्यसका लागि उनीहरु त्यसतर्फ जाँदै थिए । घना जंगलको बाटो निकै उकालो थियो । 

 


बादल र गजुरेललाई पहाड चढ्न कठिन


यो समूहमा बादल र गजुरेललाई पहाड चढ्न निकै कठिन भयो । ठाडो उकालो भएकाले उनीहरु स्याँफ्याँ गर्दै हिंडिरहेका थिए । जब यो समूह उवाको भेडीखर्क खोलामा पुग्यो, बादल चट्टानको आड लिएर थुचुक्क बसे । 
उनको नजिकै उभिएर बिप्लवले भने, ‘तपाई जस्ता सिनिएरहरुलाई उकाली ओरालीले समस्या गरायो । अब पार्टी युवाहरुलाई जिम्मा लगाउनु पर्यो, होइन र बादल दाई ? ’


बिप्लवको यो प्रश्नले समूहका अन्य व्यक्ति गलल हाँसे । तर, बादलले अँध्यारो मुख लगाए, उनले कुनै जवाफ दिएनन् । 

 

युद्धकालबाटै बिप्लव र बादलबीच फाटो


माओवादीमा लागेका धेरैले युद्धकालदेखि नै बिप्लव र बादलबीच फाटो रहेको बताउने गर्दछन् । त्यहीबेला पनि पार्टीका लडाकु र कार्यकर्ता बादल भन्दा बिप्लवसंग भेटघाट गर्न बढी रुचाउँथे । 

 


बिप्लवले आफनो प्रश्नको उत्तर पाउन दुई बर्षसम्म कुरे । गतिलो जवाफ नपाएपछि २०१४ मा उनले फरक बाटो रोजे । बादलको राजनीतिक लाइन जनयुद्धको जगमा जनबिद्रोह थियो । बिप्लवले अर्को ठाउँबाट एकीकृत जनक्रान्ति गर्नुपर्ने लाइन लिएका थिए । 

 


अहिले आएर बादल प्रचण्डको लाइनमा समाहित भएका छन् । बिचमा उनले प्रचण्ड र बाबुरामलाई गद्दार भन्दै मोहन बैद्यसंग समय बिताए । तर, पछि प्रचण्डसंग मिसिएर राष्ट्रियसभा सदस्यहुंदै मन्त्री पनि भए । 
बिप्लवले चुनाव बहिष्कार गरे । त्यहीबेला गृहमन्त्री बादलले बिप्लवमाथि पक्राउ पूर्जी जारी गर्दै ७० दिन भित्र अदालतमा हाजिर हुन उर्दी गराए । त्यसबेला सरकारी वारेन्ट कपिलबस्तुस्थित बिप्लवका दाई चन्द्रबहादुर चन्दको घरमै टाँसियो । 

 


कसले जित्ने ? कसले हार्ने ?


‘राजनीतिमा स्थायी मित्र र शत्रु भन्ने हुँदैन’ । कुनैबेला ज्यान हत्केलामा राखेर हिंडेका यी दुई व्यक्ति अहिले एक अर्काका बिरोधी भएका छन् । माओवादीमा १६ बर्ष एउटै कमिटीमा रहेका थापा र चन्द आज बिपरित ध्रुवमा मात्र छैनन त्यस्तै परे एकले अर्कालाई सिध्याउनेसम्मको परिस्थिति पनि बन्न सक्छ । 

 


थापाले चन्दका प्रवक्ता खड्ग बिश्वकर्मालाई बिभिन्न मुद्दा लगाएर दिनुसम्म तनाव दिए । चन्दका थुप्रै कार्यकर्ता पक्राउ गर्न लगाए । अहिलेपनि बिभिन्न अदालतमा उनीहरुबिरुद्ध मुद्दा छ भने सरकारले उनीहरुका गतिविधिलाई निगरानीमा राखेको छ । 

 


अहिले देशभर बिष्फोटका घटना हुंदै गर्दा पुनः बादल र बिप्लवको चर्चा चलेकाले यती गन्थन गरिएको हो । यहाँ व्यक्तिगत हार जितको कुरा भन्दा पनि मुुलुकलाई जिताउन सबै लाग्नुपर्ने हो तर त्यस्तो भएको छैन । यो हाम्रो दुर्भाग्य हो  !
 

नेत्र विक्रम चन्द विप्लव रामबहादुर थापा बादल

विशेष