पीएसएलमा पनि चम्किए सन्दीप, डेब्यू खेलमै लिए ३ विकेट
काठमाडौं । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसएल) मा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । लाहोर कलन्दर्समा आवद्ध सन्दीपले शुक्रबार मुल्तान सुल्तानसँगको खेलमा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिदै ३ विकेट लिए ।
पहिलो ओभरमा महंगा सावित भएका सन्दीपले बाँकी तीन ओभरमा विकेट लिन सफल भए । उनले कप्तान सोयव मलिक, जेम्स विन्स र आन्द्रे रसललाई आउट गरे । सन्दीपको बलमा उनीहरुले ५ छक्का र एक चौका प्रहार गरे । लाहोरका तर्फबाट अहिलेसम्म कुनै पनि स्पिनरले विकेट लिन नसकेका बेला सन्दीपले त्यो खडेरी पनि तोडे । यसअघिका तीन खेलमा मिडियम पेसर बलरले मात्र विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनले गर्दा लाहोरले मुल्तानलाई ६ विकेटले पराजित गर्यो ।
मुल्तान सुल्तानले दिएको २०१ रनको भारी लक्ष्य पूरा गर्न कप्तान एबी डिविलियर्सले ५२ तथा डेभिड वेइज ४५ रन जोडे । पहिलो विकेट ३६ रनमा गुमाएको लाहोरले दोस्रो विकेट १०१ रनमा खेर फाल्यो । १० रन बनाएका सोहेल अक्तर पहिलो विकेटका रुपमा आउट भएपछि सल्मान बट र फकर जमामले टिमको स्कोर १०१ पुर्याएका थिए । फकर जमाम ३५ बलमा ६३ रन बनाउँदै पेभेलियन फर्किए । त्यसलगत्तै सलमान बट पनि व्यक्तिगत १७ रन बनाए आउट भए । क्रिजमा रहेका एबी डिभिलियर्सले अन्तिमसम्म खेलमा टिक्दै डेभिड विससँग९८ रनको साझेदारी गरे । जसमा एबी डिभिलियर्सले २९ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५२ रन बनाए । यसैगरी डेभिडले २० बलमा ४५ रन बनाउने क्रममा ५ छक्का प्रहार गरे