पार्टीको बिग्रदो अवस्था देखेर धरधरी रोइन झाँक्री, अध्यक्ष ओली गम्भीर नभएको गुनासो
‘पार्टी फुट्न दिन्नौ तर संकट आउँदैछ’
रामकुमारी झाँक्री नेपाली राजनीतिमा नयाँ नाम होइन । बिद्यार्थी राजनीतिबाट उठेकी झाँक्री हाल सत्तारुढ दल नेकपाको केन्द्रीय सदस्य र सांसद पनि छन् । आफनो जीवनमा निकै उतारचढाव भोगेकी झाँक्री पटक–पटक राजनीतिक उतारचढावको शिकार पनि बनिन् ।
निकै संघर्षशील र जुझारु व्यक्तित्व भएकी झाँक्रीलाई राजनीतिबाटै बिस्थापित गराउने थुप्रै प्रयास पार्टी भित्र र बाहिरबाट भए, हुँदैपनि छन् । सामान्य बिषयवस्तुलाई उछालेर सामाजिक संजालमा कुप्रचार गरी उनको मनोबल गिराउने प्रयास पनि नभएका होइनन् । तर, सबै प्रकारका दुव्र्यवहार सहेर भएपनि राजनीतिको यात्रालाई उनले अघि बढाएकी छिन् ।
नेतृ झाँक्रीको पछिल्लो समय पुनः चर्चा चलेको छ । संसद्को अर्थ समितिमा मेलम्ची खानेपानी आयोजना र नेपाल टेलिकमको फोर जी सेवा बिस्तारमा जुन कडाइकासाथ उनी प्रस्तुत भइन् त्यसले मुलुकमा बढ्दै गएको भ्रष्टाचारबारे थुप्रै कुरा बाहिर ल्याउन मद्दत गरेको छ ।
नेतृ झाँक्रीसंग नेपाल आजको जम्काभेट हुँदा उनले धक फुकाएर कुरा गरिन् । त्यसक्रममा उनको पार्टी नेकपा र सरकारको कुरा भयो ।
अध्यक्ष ओली नै उदासिन
नेतृ झाँक्रीले पार्टी सुधार्न प्रधानमन्त्रीसमेत रहेका केपी ओली बढी जिम्मेवार भएको आरोप लगाइन् । हतारहतारमा पार्टी एकता गरिएको परिणामको फल अहिले सबैले भोग्नु परेको उनको गुनासो छ । सुरुमा पार्टी एकताको प्रक्रियाका कुरा गर्दा आफूहरुलाई एकताबिरोधी भनिएको स्मरण गर्दै उनले ओली र प्रचण्डले हतारमा पिरती लगाउँदा अहिले विवाद सृजना भएको उल्लेख गरिन् ।
प्रचण्ड दोस्रो नम्बरका अध्यक्ष
नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएपनि ओली नै एक नम्बरको अध्यक्ष भएको झाँक्रीको भनाइ छ । यसकारण पार्टीमा उत्पन्न समस्याको हल साझारुपमा खोज्नुपर्ने भएपनि ओली नै बढी जिम्मेवार रहेको उनको ठहर छ ।
खनाल, नेपाल, गौतमसंग पनि असन्तुष्ट
नेतृ झाँक्रीले पार्टीका अन्य शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमहरु पनि निरीह जस्तै रहेको बताइन् । जतिबेला आवश्यक त्यो बेला मौन बस्ने र बेमौसममा बाजा बजाउँदै हिंडने नेता खनाल, नेपाल र गौतमको कमजोरी भएको उनले औंल्याइन् । यसको मार पार्टीमा आफूजस्ता थुपैै कार्यकर्ताले सहनु परेको उनको दुखेसो छ ।
भ्रष्टाचारबिरुद्ध बोल्न अपील
अर्थसमितिकी सदस्यसमेत रहेकी नेतृ झाँक्रीले नेपाल टेलिकमको फोर जी सेवा बिस्तारमा शंक व्यक्त गरेकी छिन् । ७ अर्बमा हुने काम २१ अर्बमा ठेक्का दिनुमा अनियमितता भएको हुनसक्ने उनको शंका छ । यो बिषयमा संसदीय समितिले थप अध्ययन गरिरहेको उनले जानकारी दिइन् ।
यस्तै, मेलम्ची खानेपानी आयोजनाबाट इटालियन सीएमसी कम्पनीलाई भगाएर गल्ती गरेको र यसको सम्पूर्ण दोष बहालवाला मन्त्रीले लिनुपर्ने उनको प्रष्ट भनाइ छ ।
उनले मुलुकमा बिद्यमान भ्रष्टाचारबिरुद्ध बोल्न लेख्न सबैलाई अपील समेत गरेकीछिन् ।
आशा देखाउनु छ, सरकारको बिरोध गर्दिन
सरकारको एक बर्षको काम र अहिलेको कार्यशैली सन्तोषजनक नभएपनि विकास र समृद्धि उन्मुख रहेको उनी बताउँछिन् । निराश भएका जनतालाई थप निराश बनाउने नभइ उज्यालो भविश्यतर्फ डोर्याउनुपर्ने भएकाले आफूले आशाको दियो बाल्न खोजेको उनको राय छ ।
पार्टी फुट्न दिन्नौ तर संकट आउँदैछ
नेतृ झाँक्रीले पार्टी र सरकारका लागि निकट भविश्यमै गम्भीर संकट आउन लागेको दाबी गरिन् । जस्तो संकट आएपनि पार्टी बिघटन हुन नदिने र सरकारलाई पनि सफल बनाउन प्रतिबद्ध रहने उनको भनाइ छ ।