चारमा चारै ग्राउन्डेड भएपछि विज्ञापन खुल्यो
निगमलाई दैनिक लाखौं घाटा, क्याप्टेन अभाव पूर्ति गर्न बग्रेल्ती चुनौती
काठमाडौं । नेपाल वायु सेवा निगमसँग भएका १४ जहाजमध्ये तीन जहाज क्याप्टेन नभएकै कारण थन्किएर बसेपछि क्याप्टेन माग गर्दै भ्याकेन्सी आह्वान गरेको छ ।
निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार निगमसँग अहिले क्याप्टेन, कोपाइलटलगायत सय जना क्रु मेम्बर छन् । रिक्त ५० पदका लागि निगमले विज्ञापन खोलेको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग ५ ठूला जहाज छन् । ती सबैले उडान भरिरहेका छन् । आन्तरिक उडानका लागि निगमसँग मझौला २ र सात वटा साना जहाज छन् ।
प्रवक्ता कोइरालाका अनुसार चीनमा निर्मित मझौला एम–६० एक र चारवटा वाई–१२ ई जहाजका लागि पाइलट छैनन् । पाइलट नभएकै कारण यी जहाजले महिनौंदेखि घाम तापेर बसिरहेका छन् । चीनसँग खरिद गरिएका साना वाइ–१२ ई मध्ये एक जहाज बिग्रेर ग्राउन्डेड भएको छ । बाँकी जहाज उडनका लागि ठीक अवस्थामा छन् तर चालक नभएका कारण उडान भर्न सकेका छैनन् ।
साना जहाजले एक दिनमा कम्तिमा तीन गन्तव्य गर्न सक्छन् । एक गन्तव्यबाट एक जहाजले १ लाखको व्यापार गर्छन् । जसअनुसार चार जहाजले एक महिनामा ३ करोड ६० लाख रुपैयाँको व्यापार गर्न सक्छन् । यसका अतिरिक्त एम ६० जहाजको आय त्यो भन्दा बढी हुन्छ ।
महिनै पिच्छे करोडौं घाटा हुन थालेपछि निगम धराशयी भइसकेको छ । ढीलैगरी भए पनि निगमले अहिले औपचारिक रुपमा पाइलटको खोजी थालेको छ ।
पाइलट पाइन्नन्
५० पाइलटका लागि विज्ञापन खोले पनि निगमले यतिका मात्रामा विमान चालक पाउने मुस्किल छ । प्रवक्ता कोइराला भन्छन्, ‘एभिएसनको सेक्टरमा पाइलटहरुको तलब सुविधा अन्तर्राष्ट्रिय प्रचलन अनुसार निर्धारण हुन्छ । निगमले दिने सेवा सुविधा अन्तर्राष्ट्रिय स्तरको हुन नसक्दा पाइलटहरु आकर्षित हुन नसकेका हुन् कि भनेर सेवा सुविधा समायोजन पनि गरिरहेका छौं । विदेशी पाइलटहरुका लागि समेत नेपाल वायु सेवा निगम आकर्षक गन्तव्य बन्न सकोस् भनेर काम गरिरहेका छौं ।’
नेपालमा अरु पनि विमान सेवा कम्पनीहरु छन् । तर कुनै पनि निजी कम्पनीले विमान चालक नपाएको खास खबर सुनिएको छैन । तर निगमको हकमा भने कहिले जहाज बिग्रेर त कहिले पाइलट नभएका कारण उडान प्रभावित भएको खबरहरु सार्वजनिक भइरहेका छन् ।
प्रवक्ता कोइराला भन्छन्, ‘वाइडबडी जहाज पनि नेपालमा आइसकेपछि निगम छाडेर गएका वरिष्ठ क्याप्टेनहरु फर्किने तयारी गरिरहनु भएको छ । नेपाल वायु सेवा निगमले आन्तरिकमा मात्रै होइन अन्तर्राष्ट्रिय उडानमा पनि आफूलाई केन्द्रीत गरिरहेकोले पाइलटहरुको आकर्षण बढ्दै गएको छ ।’