कभर स्टोरी

देउवाका आसेपासे गलत, ओली सरकार चार वर्ष नटिक्ने

देउवाका आसेपासे गलत, ओली सरकार चार वर्ष नटिक्ने

अहिले मुलुकका दुई ठूला राजनीतिक दल तीव्र आन्तरिक विवादमा छन् । कांग्रेसले महासमिति बैठकको सुझावविपरीत विधान पारित गरेको छ भने नेकपामा विघटित कार्यदलका असन्तुष्ट सदस्यहरुले फरक प्रतिवेदन बुझाएका छन् । 

 


दुवै पार्टीका शीर्ष नेता पार्टीभित्रै चरम दबाबमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र कोइराला परिवारको दबाबमा छन् । उता, नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालल कार्यदलका असन्तुष्ट सदस्यसहित माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतको समूहको चेपुवामा परेका छन् । 

 


यसको सिधासिधा अशर मुलुकमाथि परेको छ । यीनै सन्दर्भमा हामीले नेपाली कांग्रेसका नेता एवम पूर्व सांसद रामहरि खतिवडासंग कुराकानी गरेका छौं । केही महत्वपूर्ण अंश यस्ता छन् । 

 


देउवा असल छन, आसेपासे गलत भए


कांग्रेसको बिधान महासमिति बैठकको सुझाव अनुसार पदाधिकारी एवम केन्द्रीय सदस्य वडास्तरबाटै चुनिएर आउनुपर्ने कुरामा सभापति देउवा सहमत भएपनि उनलाई उनका निकटका नेताहरुले निर्णय गराउन बाध्य भए । 

 


एकजनाले एकपटक मात्रै आरक्षणको सुविधा पाउनुपर्ने बिषयमा पनि देउवाको परिक्रमा गर्नेहरुले सभापतिलाई चेपुवामा पारेको खतिवडाको बुझाइ छ । 


देउवा र कोइराला दुवैले गल्ती गरे

 

कांग्रेसमा अर्को चर्चाको बिषय अहिले कोइराला परिवार र सभापति देउवाबीचको वाकयुद्ध रहेको छ । त्यसमा पनि डा. शेखर कोइराला र सभापति देउवाले जो सार्वजनिक कार्यक्रममै आरोप प्रत्यारोप गरिरहेका छन्, त्यसले कांग्रेस भित्रको द्वन्द्व झन चर्काइरहेको छ । 

 


नेता खतिवडाले केन्द्रीय सदस्य जस्तो व्यक्तिले पार्टीको सम्मानीत सभापतिका बिरुद्धमा जथाभावी बोल्दै हिंड्न नहुने टिप्पणी गरे । यस्तै, सभापति देउवाले पनि कुनै कुरा चित्त नबुझे सार्वजनिक कार्यक्रममा आक्रोश पोख्नुभन्दा कोइरालालाई पार्टी कार्यालयमा बोलाएर सोध्दा उचित हुने उनको सुझाव छ । यो बिषयमा देउवा र कोइराला दुवै चुकेको उनको निष्कर्ष छ । 

 


परिश्रमी र परिक्रमी दुई थरी कार्यकर्ता


नेता खतिवडाले गणेश र कुमार जस्तै कांग्रेसमा पनि दुई थरी कार्यकर्ता भएको बताए । नेतृत्वले परिश्रम गरेर बसेको कार्यकर्तालाई नभइ आफनो परिक्रमा गर्नेलाई मात्र संरक्षण र प्रवद्र्यन गरेको उनको आरोप छ । 

 


देउवालाई देखाएर भ्रष्टाचार लुक्दैन

 

वाइडबडी लगायतका ठूलाठूला भ्रष्टाचार काण्डमा प्रधानमन्त्री ओलीकै निकटका मन्त्री र नेताहरु मुछिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई जबरजस्ती विवादमा तानिएको खतिवडाको आरोप छ । सभापति देउवा स्वयंले संसद्मा भ्रष्टाचार छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरिसक्दा पनि उनलाई दोष दिइरहनु अन्याय भएको उनको ठहर छ । 

 


‘वाइडबडी भ्रष्टाचारका विषयमा लेखा समितिलाई नै चुनौती दिएर सरकारले बनाएको अर्को छानबिन कमिटीले के गर्यो ?’ खतिवडाको प्रश्न छ । 

खतिवडा भन्छन्, ‘आफै छानबिन कमिटी बनाउने अनि ४५ दिनसम्म पनि नियुक्ति नदिएर कमिटीको म्याद नै गुजार्ने नियत के हो ? ’
प्रधानमन्त्री ओलीसहित सरकारका मन्त्री र नेकपाका नेताहरु गम्भीर भ्रष्टाचारमा फसेपनि त्यसबारे अख्तियारले छानबिन नगरेको उनको गुनासो छ ।

 
ओली बाँचुञ्जेल रेल आउँदैन


नेता खतिवडाले प्रधानमन्त्री ओलीले पानी जहाज र रेलका कुरा गरेर नेपाली जनतालाई ढाँटीरहेको आरोप लगाए । एउटा रंगशाला बनाउन नसक्ने प्रधानमन्त्रीले रेल ल्याउँछु भनेर दिएको गफ कसले पत्याउने ? उनले भने रेल ल्याउन लाग्ने खबौंको बजेट उनले कहाँबाट ल्याउँछन् ? 

 


उनी भन्छन्, ‘कांग्रेस नेता नविन्द्रराज जोशी उद्योग मन्त्री हुंदा आयोजित लगानी सम्मेलनमा दातृ राष्ट्रले कबुल गरेको रकम अहिलेसम्म आएको छैन । भूकम्पकाबेला प्रतिबद्धता जनाएको रकम पनि आएको छैन, यो बेला केरुङबाट काठमाडौं रेल ल्याउन लाग्ने २८ खर्ब भन्दा बढी रकम उनले कसरी जुटाउँछन् ? ’

 


आफनै कारणले सरकार ढल्छ


नेपाली कांग्रेसले सरकारबिरुद्ध बिरोधका कार्यक्रम जारी राखेपनि सरकार ढाल्नेबारे केही नसोचेको उनी बताउँछन् । नेकपा भित्रै आन्तरिक र बाह्य प्रभावले गम्भीर खटपट परिसकेकाले यो सरकार चार बर्ष पनि नचल्ने उनको दाबी छ । 

विशेष