मुख्य समाचार

यी मन्त्रीहरुबाट प्रधानमन्त्री ओली भए वाक्कदिक्क

यी मन्त्रीहरुबाट प्रधानमन्त्री ओली भए वाक्कदिक्क

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो टिममा रहेका असक्षम मन्त्रीहरु हटाउने तयारी गरेका छन् । 

 

आफ्नो विभागीय काम राम्रो निर्वाह नगर्ने उल्टो उनीहरुको कामले सरकारको शाख ध्वस्त हुन थालेपछि प्रधानमन्त्री ओली केही मन्त्रीलाई कुनै पनि हालतमा हटाउने नै निष्कर्षमा पुगेका छन् । जानकार स्रोतका अनुसार भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, पर्यटन, नागरिक उड्यन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारी सबैभन्दा हिट लिस्टमा छन् । 

 

आफ्नो जिम्मेवारी राम्रो पूरा नगर्नेमा कृषिमन्त्री चक्रपाणि खनाल  र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल पनि छन् । प्रधानमन्त्री ओली आपूर्तिमन्त्री मातृका यादव, वनमन्त्री शक्ति बस्नेत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग पनि असन्तुष्ट छन् । 

 

कुन मन्त्रीका के कमजोरी ? 
 

रवीन्द्र अधिकारी– अधिकारी जुझारु युवाको रुपमा प्रधानमन्त्री ओलीले राम्रो मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर यिनले वाइडवडी विमान प्रकरणमा संसदमा समेत झूठ बोलेर आफ्नो पदीय गरिमाको बेइज्जत गरे । युवा भनिए पनि आफ्नो अंगरक्षकलाई आफ्नो कोट बोकाएको, यिनको छातासमेत अंगरक्षकले ओढाईदिएको भिडियो सार्वजनिक भयो । पर्यटन क्षेत्रका तमाम विषय छाडेर यिनी पनि बुढा नेताहरु झै उदघाटन्, मेलापर्वमा रमाउन थालेपछि यिनको औचित्य समाप्त भएको ठहर प्रधानमन्त्री ओलीले गरेका छन् । 

 

रघुवीर महासेठ– सरकारको पहिलो चोटिलो एक्सन सार्वजनिक सवारीहरुमा रहेको सिण्डिकेट तोड््ने बन्यो । तर महासेठ आफैले भिलेनको भूमिका खेले । सिण्डिकेटविरुद्धको एक्सनमा बलियोगरी प्रस्तुत भएका तत्कालीन सहसचिव रुपनारायण भट्टराईलाई मन्त्री महासेठले दिनुसम्म दुःख दिए । वर्तमान मन्त्रीमण्डलका सबैभन्दा धनी महासेठलाई युवा र मधेसी भनेर प्रधानमन्त्री ओलीले राम्रो मन्त्रालय जिम्मा लगाएका थिए । तर यिनीबाट कुनै रचनात्मक काम नदेखिनु, उल्टो सरकारको बद्नाम हुने काममात्रै हुन थालेपछि महासेठलाई फाल्नु पर्ने निष्कर्षमा ओली पुगेको चर्चा छ । 

 

चक्रपाणि खनाल– ध्वंश र निर्माण ठीक विपरीत शब्दहरु हुन् । विगतमा जनमुक्ति सेनाको कमाण्डर रहेका कृषिमन्त्री चक्रपाणि खनालले देशमा धेरै ध्वंश मच्चाए । अब सिर्जना र किसानको लागि काम गर्ने बेला आएको छ । किसान र मजदुर वर्गको हितका लागि भनेर जनयुद्ध गरेका खनाललाई नै प्रधानमन्त्री ओलीले कृषिको जिम्मा दिए । तर यिनकै पालामा किसानले बन्दाकोभीमा डोजर चलाउनु परेको छ । कृषिसँग सम्बन्धित उद्योग सिध्याउन मन्त्री खनाल नै लागिपरेपछि यिनी अहिले हिट लिस्टमा छन् । सरकारी स्वामीत्वको डिडिसीको दूध पिउन योग्य छैन भन्ने यिनै हुन् । कालीमाटी तरकारी बजारमा अनुगमनका नाममा झिल्के काम गर्ने पनि यिनै हुन् । किसानका मूल समस्यामा कहिले गम्भीर नहुने, कार्यक्रम नल्याउने तर सधै स्टन्ट गर्दै हिँड्न थालेपछि यिनको पत्ता कट्न लागेको हो । 

 

पद्मा अर्याल– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी पद्मा अर्यालले देशको गरिबी भन्दा आफ्नै गरिबी निवारण गर्न थालेको चर्चा छ । जागिरे मनोवृत्तिबाट माथि उठ्न नसकेपछि प्रधानमन्त्री यिनीबाट दिक्क भएको स्रोतको दावी छ । 

 

शक्ति बस्नेत– मन्त्री भनेपछि र्याल चुहाइहाल्ने स्वभावका शक्ति बस्नेत पोर्टफोलियोबाट तल गिरेर वन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यिनी यसअघि गृहमन्त्री भइसकेका थिए । पहिलेका सरकार, समुदायको बलमा नेपालको वन जोगिएको छ । तर वनको लाभ मुलुकले पाएको छैन । यि मन्त्रीको एकमात्रै काम जागिर खानु र कुर्सीमै टाँसिएर कुर्सी पुरानो पार्नुबाहेक देखिएन । ‘थपनाकै लागि त अखिलको फुच्चेलाई नै लगेर राखे पनि भइगयो नी’ भन्ने परिस्थितिमा प्रधानमन्त्री ओली पुगेका छन् । 

काम देखाउन नसकेका अन्य जागिरे मन्त्रीहरु 
१.इश्वर पोखरेल– रक्षामन्त्री 
२.उपेन्द्र यादव– स्वास्थ्यमन्त्री 
३.मातृका यादव –उद्योग, वाणिज्य तथा आपूर्ति
४. थममाया थापा –महिला बालबालिका
५.इश्तियाक राई– सहरी विकास 
६.जगतबहादुर सुनार– खेलकुद 
 

विशेष