भारतले पाकिस्तानमा १ हजार किलोको बम खसाल्यो, पाकिस्तानमा आपतकालीन बैठक
काठमाडौं । भारतले पाकिस्तानविरुद्ध आक्रमण शुरु गरेको छ । मंगलबार बिहानबाट भारतीय वायु सेनाले पाकिस्तानमा बमबारी शुरु गरेपछि दुई देशबीच फेरि युद्ध भड्किने सम्भावना पनि बढेको छ ।
भारतीय वायु सेनाको १२ वटा लडाकु विमान पाकिस्तान प्रवेश गरेर पाकिस्तानी खैबार पख्तुनवा क्षेत्रमा गरेको बमबारीमा कम्तिमा ३ सय जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय लडाकु विमानले पाकिस्तानी भूमिका २१ मिनेटसम्म बमबारी गरेका थिए ।
भारत र पाकिस्तानबीच भएको १९७१ को युछपछि पहिलो पटक भारतीय सेना पाकिस्तानी सीमामा प्रवेश गरेर आक्रमण गरेको हो ।
भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा भएको आतंकवादी हमलामा ४४ जना भारतीय सेनाको मृत्यु भएपछि सो घटना पाकिस्तानमा लुकेर बसेको आतंकवादीले मच्चाएको भारतले दावी गर्दै आएको छ ।
त्यसपछि भारतले पाकिस्तानलाई विश्वबाट अलग्याइदिने चेतावनी दिएको थियो । पाकिस्तानतिर बग्ने नदीकोको पानी समेत भारतले रोक्ने निर्णय गरेको छ भने केही वस्तुमा भारतले नाकाबन्दी पनि लगाएको छ ।