टी–२० विश्वकप छनोटः नेपालद्वारा कुवेतलाई ११७ रनको लक्ष्य
काठमाडौं । महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ११७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनायो । नेपालका लागि विन्दु रावलले नटआउट २८, कप्तान रुविना क्षेत्रीले १३ बलमा २२, काजल श्रेष्ठले १८, इन्दु बर्मा, रोमा थापाले समान ७ रन, सीताराना मगर र सरिता मगरले खाता नै खोल्न सकेनन् ।
खेल थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा भइरहेको छ । कुवेत प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । उसले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । नेपालले यसअघिका ४ खेलमा जित निकालेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।
आजै दिउँसो हुने खेलमा थाइल्याण्ड र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको शीर्ष टोलीले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने भएकाले नेपालको सम्भावना निकै कमजोर छ । सात टोली सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिग प्रणालीमा खेलाइएको छ ।
प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकप र सन् २०२१ मा हुने एकदिवशीय महिला विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्नेछ । नेपालले मलेसिया, हङकङ, युएई र चीनलाई पराजित गरे पनि थाइल्याण्डसँग ५४ रनले पराजित भएको थियो ।
नेपाल भर्सेस कुवेत टी–२० विश्वकप छनोट