पुलवमा हमलाका सहिद परिवारलाई अक्षयले दिए १५ लाख रुपैयाँ
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले पुलवामा हमलामा सहिद भएका भारतीय जवान जीत राम गुर्जरकी पत्नीलाई १५ लाख रुपैयाँ सहयोग गरेका छन् । जीत राम गुर्जर १४ फेब्रुअरीमा कश्मिरको पुलवामामा भएको आतंककारी हमलामा शहिद हुने ४० सिआरपिएफ जवानमध्येका एक हुन । उक्त डोनेसन भारतको वीर ट्रस्टमा गरिएको हो ।
जीत रामका भाई विक्रम सिंहले अभिनेता अक्षय कुमारलाई यस आर्थिक मद्दतको लागि धन्यवाद व्यक्त गरेका छन् । उनका अनुसार जीत राम परिवारमा कमाउने एकमात्र व्यक्ति थिए । अक्षयले अहिलेको जटिल घडिमा मद्दत गरेका कारण उनी आभारी छन् ।
अक्षयले पहिला पनि भारतको वीर ट्रस्टमा ५ करोड रुपैयाँ दान गरेका थिए । १६ फेब्रुरअरीमा उनले आफ्ना फ्यानहरुलाई पनि योगदान गर्न आव्हान गरेका थिए । अक्षयले ट्वीटमा लेखेका थिए, ‘पुलवामा यस्तो घटना हो जसलाई हामी भुल्न सक्दैनौं र भुल्दैनौं पनि । हामी सबै एकदम रिसमा छौं र यो समय केही गर्नुपर्छ । त्यसैले केही गर्नुहोस्, पुलवामामा सहिदको लागि भारतको वीर वेबसाइटमा गएर डोनेट गर्नुहोस् । वीरहरुलाई श्रद्धाञ्जली र सहारा दिनुभन्दा राम्रो तरिका अरु केही पनि हुन सक्दैन ।’
उनी हिजोआज आफ्नो आउँदै गरेको फिल्म ‘केसरी’ को प्रचारमा व्यस्त छन् । सारागढी ब्याटलमा आधारित उक्त फिल्म मार्च २१ मा रिलिज हुनेछ ।