मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घट्नाको सम्भावित कारण ‘आइसिङ’ (भिडियोसहित)
मुुलुक शोकमा छ । उडेको एक मिनेटमै हेलिकप्टर कसरी दुर्घट्ना भयो भनेर बिभिन्न तर्क बाहिर आएका छन् । धेरैजसोले मौसमका कारण दुर्घटना भएको बताइरहेका छन् । त्रिभुवन बिमानस्थलका अधिकारी र उडान क्षेत्रका केही बिज्ञहरुले पनि मौसममा आएको नाटकिय परिवर्तनका कारण बादलभित्र हेलिकप्टर छिरेको र पाइलटले केही नदेखेपछि दुर्घट्ना भएको हुनसक्ने अनुमान गरेका छन् ।
वरिष्ट क्याप्टेर पि.जे. शाह भने यो जहाज दुर्घटना हुनुको प्रमुख कारण ‘आइसिङ’ हुनुपर्ने अनुमान गर्छन् । ‘आइसिङ’ भनेको बरफ जमेर जहाज ‘डिसफन्सन’मा जानु ।
पाथिभर क्षेत्रमा लगातारको भारी हिमपातले खुल्ला आकासमा राखिएको हेलिकप्टरमा प्रशस्त मात्रामा ‘आइस’ जमेको हुनुपर्ने क्याप्टेन शाहको अनुमान छ । यसरी ‘आइस’ जम्दा त्यसले जहाजका पाटपूर्जाको काम प्रभावित हुने र उडानमा दुर्घट्ना ल्याउन सक्ने उनी बताउँछन् ।
निकै चिसो, लगातारको हिमपात र हतारका कारण पाइलटले हेलिकप्टरको अवस्था चेक गर्न ध्यान नदिएकाले उडेको केहीबेरमै हेलिकप्टरका पाटपूर्जा प्रभावित भएको हुनसक्ने शाहको अनुमान छ ।
मौसम मात्रै दुर्घटनाको कारण हुँदैन
वरिष्ठ क्याप्टेन शाहका अनुसार मौसमका कारणले मात्रै दुर्घटना हुुँदैन । उनी भन्छन्, ‘खराब मौसमले दुर्घट्ना हुने हो भने अहिले पनि ताप्लेजुङको मौसम खराब छ, हेलिकप्टर चलिरहेका छन् त ! ’
बाहिर शंका गरिए जस्तो ‘ओभर वेट’ अर्थात क्षमता भन्दा बढी यात्रुका कारण जहाजले धान्न नसकेर दुर्घटना भएको भन्ने हल्लामा कुनै सत्यता नभएको उनको दाबी छ । पाइलटले पाथिभरा र सुकेटार बिमानस्थलको मौसमको जानकारी लिएपनि त्यो बीचको मौसम कस्तो छ भन्ने जानकारी चाहिं थाहा नपाएको हुनसक्ने शाहको अनुमान छ । यसले पनि पाइलट समस्यामा परेको हुनसक्ने उनी बताउँछन् ।
पाइलटले ‘नो’ भन्नु पर्छ
हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा पनि रहेकाले खराब मौसमका बावजुत् पाइलट प्रभाकर केसीले जहाज उडाएको हुनसक्ने पनि अनुमान गरिएको छ ।
नेपालमा पाइलटलाई एयरलायन्सका मालिकहरुले दबाब दिने प्रचलन रहेको स्वीकार गर्दै क्याप्टन शाहले यस्तो अवस्थामा कुनैपनि पाइलटले ‘नो’ भन्न हिच्कीचाउन नहुने बताए । पाइलटले सबैकुराको अध्ययन गरी निर्णय आफूले गर्नुपर्ने उनको राय छ ।
सिभियल एभियसन ‘स्ट्याण्डर्डलेस’
क्याप्टेन शाहले नेपालको हवाइ क्षेत्रलाई व्यवस्थित बनाउन सबैभन्दा पहिले नागरिक उड्डयन प्राधिकरण व्यवस्थित र सक्षम हुनुपर्ने बताए ।
प्राधिकरण अस्तव्यस्त र दृष्टिकोणविहीन भएको भन्दै उनले भने, ‘जबसम्म प्राधिकरण सक्षम हुँदैन, तबसम्म यो क्षेत्रका बेथिती अन्त्य हुँदैनन् । ’