विचार

मेरा दुई अग्रज, जो एकै समय विलीन भए

- जुनिता सुब्बा

मेरा दुई अग्रज, जो एकै समय विलीन भए

स्मृतिदंशका कारण अनेक हुनसक्छन्। आज बिहान अर्ध निन्द्रामै थिएँ। राजेशजीले अचानक झक्झ्क्याउनु भो। 'ओइ जुनिता, रवीन्द्र अधिकारी र अरू छ जना हेलिकप्टर 'क्र्याश'मा परेछन्। रवीन्द्र र अर्को एक जनाको शव मात्र चिन्न सकिने अवस्थामा छ रे!' सुरुमा त मैले सपना होला ठाने। तर आँखा खुलेपछि फेसबुक खोलेको, भित्ताभरी समवेदनाका सन्देश थिए। हिजोसम्म 'वाइड बडी' हवाईजहाज खरिदका कमिसन एजेण्ट र अपराधी भनिएका रवीन्द्र अधिकारी त अचानक नयाँ नेपालका सपना थिए भन्ने पो पोतिएको छ। पाखण्डको पराकाष्ठा!

 

२००९/२०१० तिर होला, कुनै काम विशेषले वन मन्त्रालय पुगेकी थिएँ। केहि क्षणपछि २/३ जनाको हुल त्यहाँ आए। रवीन्द्र दाइ पनि हुनुहुन्थ्यो रहेछ। हाम्रो सामान्य चिनजान गर्ने क्रममा उहाँले मलाई तपाई कहाँको भनेर सोध्नु भो। मैले भने म तेह्रथुमको। मैले सोहि प्रश्न उहाँलाई तेर्स्यए। उहाँले पोखराको भन्नु भो। पोखरामा को-को चिन्छौ? भन्नु भो।

 

मैले विद्यार्थीकालदेखि सुनिरहेको नाम रवीन्द्र अधिकारी थियो। पोखराको, तर चिनजान त परको कुरा उहाँको अनुहार पनि मलाई थाहा थिएन। त्यति बेला अहिले जस्तो सामाजिक संजाल त्यति प्रचलनमा थिएनन्। पत्रिकामा उहाँको फोटो त आउथ्यो होला। तर मलाई याद नै थिएन। मैले उहाँको प्रश्नको जवाफ दिंदै भनेको याद छ, 'रवीन्द्र अधिकारी दाइको नाम सुनेको छु। उहाँ मलाई मन पर्ने लिडर हुनु हुन्छ।'

 

यतिभन्दा नभन्दै उहाँ मुसुमुसु मुस्कुराउनु थाल्नु भो। म जिल्ल परें। त्यहाँ उभिएका सबैले मेरो अनुहार हेर्न थाले। त्यतिकैमा हाँस्दै एक जना मित्रले भन्नुभयो, 'उहाँ नै हो रबिन्द्र अधिकारी।'

 

म रातो पिरो भएं, के भनु के भनु भएर। उहाँको नाम सुन्दा म सानै थिएँ। मेरो ठूलो दाजु अखिलको नेता हुनुहुन्थ्यो। त्यसकारण पनि अखिलका नेताहरुको चर्चा घरमा भइरहन्थ्यो। वरिपरि राजनीतिक माहोल हुन्थ्यो। हामी भने लुकी-लुकी चोरी-चोरी दाजुहरूको कुरा सुन्थ्यौं। त्यति बेलादेखि नै मैले रवीन्द्र अधिकारी दाइको नाम सुनेको थिएँ। र, उहाँ त्यतिबेला देखिने मेरो मनमा एक तिलस्मी विद्यर्थी नेताका रुपमा स्थापित हुनुहुन्थ्यो। 

 

तिनै रविन्द्र अधिकारी दाइसँगको पहिलो जम्का भेटपछि हाम्रो भेट नेपालमा कहिले पनि भएन। २०१० मा म अमेरिका आएँ। २०१२/१३ तिर हुनु पर्छ। उहाँ अमेरिकाको वाशिंगटन डिसी आउनुभएको थियो।  म र मेरो श्रीमान डिसीबाट नजिकै बस्थ्यौं त्यो बेला। हामीले लन्चको अफर गर्यौं । उहाँले स्वीकार गर्नु भो। हाम्रो निवासमा हामीले खाना खायौं। के के कुरा भए, मलाई याद छैन। कुरा राजनीतिकै भए, तर वातावरण साह्रै रमाईलो थियो। त्यसपछि हाम्रो भेट भएन। त्यो भेट नै जीवनको अन्तिम भेट भो। म बच्चा हुँदादेखिको मेरो आदर्शको पात्र उहाँको जीवन यति चांडै व्यतित नहुँदो हो त कर्मको छाप मुलुकमा पक्कै पर्ने थियो। एक असल मानिसको अवसानमा मेरो शरीर यहाँ सात समुद्र पारी अझै थरथर काम्दैछ।

 

त्यही हेली दुर्घटनामा पर्नु भएका आंग छिरिंग शेर्पा दाइसँग पनि मेरो आफ्नै सम्झना छ। सन् २००८  मा म सगरमाथा आरोहण गर्ने तयारीमा थिएँ। मलाई प्रायोजकहरूको खाँचो थियो। त्यसै क्रममा म नेपाल वायुसेवा निगमका निर्देशक कप्तान अंकल कूलबहादुर लिम्बूलाई भेट्न गएँ। उहाँले मलाई यति एयरलाइन्सका संचालक आंग छिरिङ्ग शेर्पासँग भेट गराइदिनुभो।  

 

शेर्पा दाइसँग भेटेपछि मलाई खुशी त लाग्यो नै। तर निराश पनि भएँ। खुशी यसकारण कि, उहाँको आफ्नै ट्रेकिंग एजेन्सी रहेछ। उहाँले मेरा लागि सम्पूर्ण प्रायोजन गर्ने वचन दिनुभयो। निराश यसकारण भएँ कि, मैले पहिल्यै नै अर्कै ट्रेकिंग एजेन्सीसंग सम्झौता गरेर आधा पैसा बुझाइसकेको थिएँ। अब त्यो ट्रेकिङ एजेन्सीले मेरो रकम फिर्ता दिने कुनै सम्भावना थिएन। आंग छिरिङ दाइसँग मेरो सहकार्य हुन सकेन।  तै पनि, उहाँले दिएको सल्लाह र सुझावका कारण म सगरमाथा आरोहणमा सफल भएँ।

 

टाढा भएर पनि मलाई ऊर्जा दिने यी दुवै व्यक्ति आज यो संसारमा छैनन्। उनीहरू दुवैजना एकै समय, अनि एउटै कारण यो धराधामबाट बिदा भए। मलाई यी दुवैको अभाव जीवनभर महशुस हुनेछ। अलबिदा भन्न मन लागिरहेको छैन।

 

मृत्यु आफैँमा क्षति होइन। प्रकृतिले शरीरलाई यो अथवा त्यो रुपमा फेरि प्रकृतिकै कोखमा अर्पण गर्नेछ। तर एक कर्मठ र जागृत मान्छेको चेतनाबाट मानव जगतले लाभ लिन नपाउनु भने वास्तवमै क्षति हो। समवेदना छ दाइहरू र उहाँका परिवारजनप्रति।

रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटना आङ छिरिङ शेर्पा

विशेष