पीएसएलः सन्दीपको उत्कृष्ट प्रदर्शनले लाहोर ८ विकेटले विजयी
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा शानदार प्रदर्शन गरेका छन् । उनले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिए । सन्दीपले बुधबार भएको ग्लाडियटर्सविरुद्ध खेलमा सेन वाट्सन, उमर अकमल, रिली रोस्सु र डेनिस अजिजलाई पेभिलियन फर्काए । चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले चौथो बलमा सेन वाट्सनलाई एलबिडब्लु धरापमा पारे।
छैटौं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर मैदान छिरेका सन्दीपले पहिलो बलमै रिली रोस्सुलाई आउट गरे। छैटौं ओभरकै अन्तिम बलमा उनले उमर अकमललाई आउट गरे। सन्दीपले आठौँ ओभरको तेस्रो बलमा अजिजलाई आउट गरेका हुन्। उनले पहिलो खेलमा तीन विकेट लिएका थिए भने दोस्रो खेलमा एक विकेट झारेका थिए। बुधबारको खेलमा चमत्कारिक प्रदर्शन गर्दै चार विकेट लिएका हुन्।
बुधबार सन्दीपको टिम लाहोरले ग्लाडियटर्सलाई ८ विकेटले पराजित गरेको छ। १०७ रनको लक्ष्य पछ्याएको लाहोरले दुई विकेटको क्षतिमा १६.३ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । यो जितसँगै सन्दीपको टोली अंक तालिकाको चौथो स्थानमा पुगेको छ ।
पाकिस्तान सुपर लिग सन्दीप लामिछाने