रामकुमारीको आँशु देखेपछि ठाकुर गैरेले दिए यस्तो सन्देश ( भिडियोसहित)
पार्टीमा आफूमाथि पनि पटक–पटक अन्यायपूर्ण व्यवहार भएको गुनासो
नेपाल आजसंगको कुराकानीमा नेकपाकी केन्द्रीय सदस्य एवम सांसद रामकुमारी झाँक्री भावविह्ल भएको समाचार र भिडियो देश बिदेशमा भाइरल भयो । यू ट्यूबमा मात्रै एक लाख भन्दा बढीले सो भिडियो हेरिसकेका छन् भने सो सम्बन्धी समाचार हजारौंले शेयर गरेका छन् ।
नेतृ झाँक्रीले देश र पार्टीको चिन्ता गर्दै बगाएको आँशुले सो पार्टी भित्रपनि तरंग ल्याएको कुरा समाचारमा प्राप्त ‘कमेन्टस’ र नेताहरुका भनाइबाट प्रष्ट भएको छ ।
यसै सन्दर्भमा हामीले नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेसंग पनि कुराकानी गरेका छौं ।
पेलान सहने हो, आत्तिनु हुँदैन
नेता ठाकुरले नेपाल आजबाट प्रकासित समाचार र भिडियोमा नेतृ झाँक्रीको आँशु देख्दा आफू द्रवित भएको बताए । उनले झाँक्रीले भने जस्तै पार्टीमा कसैलाई काखा र पाखाको व्यवहार भैरहेको स्वीकार गर्दै आफूपनि अन्यायको शिकार भैरहेको गुनासो गरे ।
पार्टीमा जुनसुकै बाहनामा जतिसुकै पेलान भएपनि कम्तिमा चार बर्ष सहनुको विकल्प नभएको उल्लेख गर्दै उनले अनेकौं असहमतिका बावजुत पार्टीमा एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको दर्शाए । उनले भने, ‘ हामी एकबद्ध भएर हिंड्नुपर्छ, आत्तिनु हुँदैन, राणा गए, पञ्चायत गयो, राजा गए...दिन सबैका आउँछन् ।
’
उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्छ
नेता ठाकुरले बहुदलिय प्रजातान्त्रिक व्यवस्था आएपछि मुलुकमा भ्रष्टाचार झन बढेको बताउँदै २०४६ साल यताका उच्च पदस्थ सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नूपर्ने प्रष्ट पारे । एउटा अधिकारसम्पन्न छानबिन आयोग बनाई अवैध ढंगले अकुत सम्पत्ति आर्जन गर्नेहरुलाई कारवाही गर्नुपर्ने उनले बताए ।
रामबहादुर थापाको बिषय स्थायी समितिमा उठने
नेता ठाकुरले पार्टी एकताका बिषय टुंग्याउन गठित कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ ले काम गर्न सक्दैनौ भनी कार्यदल बिघटन गर्न स्वीकृति दिएको बिषयमा स्थायी कमिटी बैठकमा छलफल हुने बिश्वास व्यक्त गरे ।
आफू स्थायी कमिटी सदस्य नभएपनि यो बिषयमा स्थायी कमिटीको ध्यान पुग्ने उनको बिश्वास छ ।
मुख्य दोषी ओली र प्रचण्ड, बिश्वास कायमै
कार्यदल बिघटनको अवस्था, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी लगायतमा आबद्ध नेताहरुले जिम्मेवारी नपाउनु, बैचारिक बिचलन देखिनु लगायतका बिषयमा सबैभन्दा बढी दोषी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको ठाकुरको ठहर छ ।
नेताहरुमाथि जति अविश्वास छ, त्यत्तिकै भरोसा पनि रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘ यीनै शीर्ष नेताहरुको नेतृत्वमा समाजवादको यात्रा अघि बढनुपर्छ । ’