Technology

सार्वजनिक स्थानमा पासवर्डबीना वाइफाइ राख्न नपाइने

सार्वजनिक स्थानमा पासवर्डबीना वाइफाइ राख्न नपाइने

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा पासवर्डबिनाको वाइफाई राख्न नपाइने गरी मापदण्ड ल्याउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको सार्वजनिक स्थानमा राखिने निःशुल्क वाइफाईसम्बन्धी सुरक्षा मापदण्डको मस्यौदामा यस्तो व्यवस्था राखिएको छ । 

 

मापदण्डमा सार्वजनिक स्थानमा राखिने वाइफाईमा उपयुक्त ‘लगइन’ हुनैपर्ने प्रावधान राखिएको छ । साथै ‘लगइन’ गर्दा प्रयोग हुने डिभाइसको म्याक वा आईपी एड्रेसजस्ता पहिचान खुल्ने विवरण संग्रह गरेर राख्नुपर्ने प्रावधान पनि छ ।

 

सार्वजनिक स्थानको वाइफाई प्रयोग गरेर आपराधिक काम नहोस् भनेर यस्तो मापदण्ड तयार पारिएको प्राधिकरणले जनाएको छ । ‘निःशुल्क वाइफाई प्रयोग गरी हुने कुनै अपराधको अनुसन्धानमा सहयोग पुगोस् भन्नका लागि मापदण्ड तयार पार्न लागेका हौं,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘अहिलेसम्म लग इन अनिवार्य गर्ने नगर्ने, डिभाइसको विवरण राख्ने नराख्ने भन्ने विषय सेवा प्रदायकमा निर्भर छ ।’

 

सार्वजनिक स्थानमा राखिने वाइफाई प्रयोग गर्ने डिभाइसको पहिचान खुल्ने गरी विवरण संग्रह गर्नुपर्ने व्यवस्था अनिवार्य पारिनेछ । ‘अहिले सार्वजनिक स्थानमा राखिने वाइफाई प्रयोग गर्ने डिभाइसको पहिचान खुल्ने विवरण जस्तै म्याक एड्रेस, आईपी एड्रेस संग्रह गर्नुपर्ने अनिवार्य छैन,’ उनले भने ।

 

एयरपोर्ट, अस्पताल, मल, पार्कजस्ता सार्वजनिक स्थानमा इन्टरनेट सेवा प्रदायक तथा सम्बन्धित निकायले वाइफाई सुविधा राख्ने क्रम बढेको छ । यस्ता वाइफाई निश्चित समय अवधि वा भोल्युमसम्म मात्रै उपलब्ध गराउनुपर्ने प्रावधान पनि मापदण्डमा समेटिनेछ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

निःशुल्क वाइफाइ

विशेष