विद्युत उत्पादनमा लगानी बढ्दा बरुणको नाफा १० प्रतिशतले घट्यो
काठमाडौं। विद्युत उत्पादन कम हुँदा बरुण हाइड्रोपावरको नाफामा १० प्रतिशतले गिरावट आएको छ। कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३७ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ४१ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको थियो।
पुससम्ममा कम्पनीले विद्युत बिक्रीबाट एक करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी एक करोड ८३ लाख रुपैयाँ थियो। आयोजनाको मर्मत सम्भारमा एक लाख १२ हजार रुपैयाँ थप खर्च लागेको छ। व्याज खर्च कम देखिए पनि ह्रास कट्टीले गर्दा नाफामा थप गिरावट आएको हो।
आयोजना निर्माणको दीर्घकालीन ऋण अझै २७ करोड ६४ लाख रुपैयाँ तिर्न बाँकी छ। चुक्ता पूँजी २५ करोड ५१ लाख रुपैयाँ छ भने जगेडा कोषमा दुई करोड ७५ लाख रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी १० रुपैयाँ छ।
एक वर्षको अवधिमा दोस्रो बजारमा कम्पनीको कारोबार न्युनतम १०२ रुपैयाँदेखि अधिकतम १२७ रुपैयाँसम्ममा कारोबार भएको छ। नयाँ आयोजनामा लगानी गर्ने भन्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा शतप्रतिशत हकप्रद निष्कासनको लागि निवेदन दिएको छ।
हकप्रद शेयर निष्कासनको लागि गरेको क्रेडिट रेटिङ इक्रा एनपी आइपिओ ग्रेड चार पाएको छ। कम्पनीले ४.५ मेगावाट क्षमताको हेवाखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ।
बरुण हाइड्रोपावर