सरकारको प्रगति देखेर विश्व चकित पर्नुका प्रमुख पाँच कारण
१. ढुकुटीको पैसा खर्च गर्न नसक्ने सरकारः सरकारबाट जनताले चाहने भनेको विकास हो । सरकारले प्रहरी, सेना, कर्मचारी पालेको कुरामा गर्व गर्न मिल्दैन । विकासको कुरा गर्ने हो भने वर्षको आधा समय सकिसकेको छ । विकासका लागि सरकारले ३ खर्ब १४ अर्ब जति बजेट छुट्टयाएको थियो । पहिलो ६ महिनामा यो रकमको १८ प्रतिशत मात्रै खर्च गरेको छ । अब झमझम पानी परेको बेला सडक कालोपत्रे गरेर पैसा सिध्याएको हेर्न पाँच महिना प्रतीक्षा गरे पुग्छ । विकासको यो नमुनाले विश्व चकित नहुनु पर्ने कुनै कारण छैन ।
२. ४ अर्ब ३५ करोड सजिलै पचाउन सक्ने सरकारः वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको संसदको सार्वजनिक लेखा समितिअन्तर्गत गठित अध्ययन उपसमितिले प्रतिवेदन तयार पार्यो । तर सरकारले त्यसलाई सजिलै पचाईदियो । दुईवटा जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड भ्रष्टाचार हुने र सरकारले यस्तो घटनालाई सजिलै पचाई दिने काम देखेर विश्व चकित नभएर के हुन्छ ?
३. गोविन्द केसीविरुद्धको युद्धमा ओली सरकारको शानदानर जितः चिकित्सा शिक्षामा राज्यको दायित्व बढाउने, व्यापारिकरण घटाउने र गुणस्तर बढाउन सरकारविरुद्ध १६ पटक अनसन गरेर एक प्रोफेसरले सत्याग्रह गर्नु पर्ने विश्वमा नेपालबाहेक सायदै अन्यत्र हुन्छ । सत्याग्रहपछि सहमति गर्र्ने तर पालना नगर्ने र प्रधानमन्त्री नै मेडिकल माफियाको दालभात खाने अनि दालभातको गुन तिर्न सोहीबमोजिम ऐन बनाउने सरकार विश्वमा अन्यत्र हुँदैन । यो कामले विश्व चकित हुने नै भयो ।
४. गाउँ गाउँमा सिंहदरबार तर रंगशाला बनाउने जिम्मा धुर्मुसलाईः देश बनाउछु भन्ने सरकारका प्रधानमन्त्रीको अधिकांश भाषणमा मानिस हसाउने खुराक हुन्छ । उनी कार्यक्रमबारे चर्चा गर्दैनन् । विकासका कामको समिक्षा गर्दैनन् । मान्छे हसाउने कुरा खोज्छन् । तर रंगशाला निर्माणको जिम्मेवारी भने दुई तिहाइको सरकारले लिन सक्दैन । तीन तहका सरकार देशमै छन् । रंगशाला बनाउन हास्यकलाकार यो सरकारलाई चाहिएको छ । सरकारले राष्ट्रिय गौरब मानेका अधिकांश योजनाको हालत ध्वस्त नै छ । शक्तिशाली सरकारले बजेट पनि खर्च गर्न सक्दैन । यस्तो सरकार देखेर विश्व चकित नभएर के हुुने त ?
५. जनताको हातमा पञ्चामृतः प्रधानमन्त्रीको हातमा ‘होलीवाइन’: ९४ प्रतिशत ओमकार परिवारका मानिसहरु बसोबास गर्ने मुलुकलाई धर्मनिरपेक्ष बनाएर दलहरुले पहिले नै विश्वलाई चकित पारेकै हुन् । यसपटक प्रधानमन्त्री ओलीले एसिया प्यासिफिक समिटका लागि तीन दिन सोल्टी होटलमै बास बसेर सम्मेलन सफल बनाए । कानुनविपरीत युनिफिकेसन चर्चको सुशासन अवार्ड पनि लिए । त्यसको एक हप्तापछि मुलुकमा भ्रष्टाचार रोक्नै नसकिने गरी बढेको भनेर आफैले भाषण ठोके । यस्ता प्रधानमन्त्री देखेर विश्व चकित हुनु स्वभाविकै हो ।