मुख्य समाचार

नेकपा सचिवालय बैठकः यस्ता छन् छलफल हुने मुख्य एजेन्डा

नेकपा सचिवालय बैठकः यस्ता छन् छलफल हुने मुख्य एजेन्डा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकरण प्रक्रियाको ढिलाइबारे सचिवालयमा छलफल गर्ने भएको छ । तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको बाँकी काम साढे आठ महिनासम्म नभएपछि सोमबार डाकिएको सचिवालय बैठकमा छलफल हुने भएको हो । गत १२ पुसमा सम्पन्न स्थायी समिति बैठकबाट एकीकरणको बाँकी कामको गृहकार्य गर्न बनेको चौथो कार्यदल पनि समयसीमाभित्र प्रतिवेदन बुझाउन असफल भएपछि नेकपाले समीक्षात्मक छलफल गर्ने तयारी गरेको हो ।

 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे बोलाइएको बैठकमा पार्टी र जनसंगठनको एकीकरणसम्बन्धी बाँकी काम, कार्यदलले समयभित्र प्रतिवेदन बुझाउन नसक्नुको कारण, समयसीमालगायतका एजेन्डामा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले बताए ।  समयसीमाभित्र प्रतिवेदन बुझाउन असफल भएपछि अध्यक्षद्वय ओली र प्रचण्ड कार्यदलको म्याद नथप्ने ‘मुड’मा छन् ।

 

दुवै अध्यक्ष अहिलेसम्मको छलफललाई आधार मानेर प्रतिवेदन माग्ने र सचिवालयबाटै सबै काम टुंगो लगाउने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । बैठक तयारीका सन्दर्भमा ओली र प्रचण्डले दुई दिनयता लगातार छलफल गर्दै आएका छन् । नौ सदस्यीय सचिवालयमा वरिष्ठ नेता खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ भने स्थायी समितिले दिएको म्यान्डेटअनुसार कार्यदलले नै सबै गृहकार्य गरेपछि मात्र छलफल हुनुपर्ने पक्षमा छन् । अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने लाओस भ्रमणबाट मंगलबार मात्र स्वदेश फर्किंदै छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक

विशेष