डाक्टरले ‘तपाईंलाई क्यान्सर भएछ’ भन्न सकेनन्
साहित्यकार शान्ति शर्मा
मेरो बायोप्सीको रिपोर्ट हातमा लिएर बसेका डा. प्रकाश सायमीले ‘तपाईंलाई क्यान्सर भएछ’ भन्न सकेनन् । वा आफ्ना बिरामीलाई केही ‘कम्फर्ट’ बनाएर भन्न खोजिरहेका थिए । उनले रिपोर्ट हेरेर ‘यो रिपोर्ट नराम्रो आयो, अर्को रिपोर्ट पनि राम्रो आएन’ भन्दै गए ।
बायोप्सीको रिपोर्ट हेरेर ‘रिपोर्ट नराम्रो छ’ भन्नुको मतलब त क्यान्सर भएको छ भन्ने नै हुन्छ । म आफैंले सोधेँ, ‘के मलाई क्यान्सर भइसकेछ ?’ उनले मलिन र नरम ढंगबाट भने, ‘हो, भइसकेछ ।’ डाक्टरले मलिन ढंगबाट दिएको जवाफभित्र क्रुर क्यान्सर थियो ।
रिपोर्टमा मलाई ब्रेस्ट क्यान्सर भएको थियो । जुन सेकेन्ड स्टेजमा प्रवेश गरिसकेको थियो । स्तनमा गाँठो भेटिएपछि म डा. सायमी कहाँ पुगेकी थिएँ । उनले गाँठो छामेकै भरमा समस्या पत्ता नलाग्ने भनेर बायोप्सी गर्नु भनेका थिए ।
जीवनमा धेरैजसो कुरा हामीलाई सकारात्मक वा भनौं पोजिटिभ मन पर्छ । तर अस्पतालको चक्कर काट्न थालेपछि मेडिकल रिपोर्टहरु नेगेटिभ आइदिए हुन्थ्यो जस्तो लाग्दो रहेछ । क्यान्सरको हकमा पोजिटिभ रिपोर्ट मेरो लागि निष्पट्ट नेगेटिभ लाग्यो ।
क्यान्सर हो भन्ने भएपछि पर्खने समय थिएन । अथवा भनौं समय नै थिएन । हुन त दूनियाँमा समयका धनी कोही पनि हुँदैनन् । डा. शायमीको सल्लाहबमोजिम तुरुन्तै शल्यक्रिया गर्ने निर्णयमा पुगेँ । काठमाडौंकै ग्रान्डी अस्पतालमा क्यान्सरको डल्लो डा. सायमीले नै झिकेर फालिदिए ।
शल्यक्रियापछि किमोथेरापी छ पटक गर्नु पर्यो । किमोथेरापी गर्दामात्रै मैले क्यान्सर के हो भन्ने बुझेँ । किमोले सबै कपाल झरे । नङ झरे । आफ्नो रुप आफैबाट टाढा भागेको महशुस गरेँ । त्यो बेला लाग्यो, मानिसहरु जुन सुन्दरतामा घमण्ड गर्छन् ती सबै फगत हुन् । ती सबै क्षणिक हुन् । किमो र पाँच हप्ता दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा गरिएको रेडियोथेरापी पछि मैले क्यान्सरलाई जितेँ । अथवा भनौं मलाई मेरा चिकित्सकहरु, घरपरिवारको हौसलाले क्यान्सरले मलाई जित्न सकेन ।
७१ साल चैतको उराठलाग्दो दिनमा मैले जीवन नै खल्लो बनाउने क्यान्सर भएको थाहा पाएकी थिएँ । त्यो बेला ४५ वर्षकी थिएँ ।
सडक सधै सीधा मात्रै गइरहँदैन । जीवन पनि यस्तै लाग्यो । यदि सडक सीधा मात्रै अनवरत गइरहने हो भने त्यो अन्ततः बन्ने वृत्त हो । अथवा भनौं त्यो शुन्य हो । जीवन पनि एउटै सीधा बाटोमा गइरहने हो भने त्यो शुन्य नै हो । यसकारण जीवनमा मोड आउँदा रहेछन् । मोड नसकिने हो भने त्यहाँ पनि अनगिन्ती शुन्यहरु बन्छन् । मोडपछि अर्को बाटो शुरु हुन्छ । मेरो पनि त्यस्तै भयो ।
क्यान्सरपछि म साहित्य सिर्जनामा लागे । मैले ‘अम्लान फूल’ नामक गजल संग्रह प्रकाशित गरेँ । ‘बार्दलीको जुन’ नामक मुक्तक संग्रह निस्किने तयारीमा छ । दियालो साहित्य सरगमको अध्यक्ष भएर साहित्यिक क्रियाकलापमा आफूलाई व्यस्त राखेकी छु ।
क्यान्सरले जीवनलाई चुनौती दिन्छ । मान्छेको समय यसले खोसेर लैजान्छ । शरिर त आफन्तहरुले नै खरानी बनाउछन् । क्यान्सर नै भएन भने पनि यो शरिरको ‘ट्रान्सफर्म’ निश्चित छ । आजसम्म यो पृथ्वीमा कति मानिसहरु जन्मे होलान् । कोही बाँचिरहेनन् । आज सुतेर १५० वर्षपछि उठन मिल्ने हो भने त्यो बेला अहिले संसारमा भएका कसैलाई पनि भेटन सकिदैन । अर्थात सबै मरिसक्छन् ।
यसकारण यो जीवन अमूल्य छ । यो अमूल्य जीवनलाई आजसम्म धेरैले जसरी व्यतित गरे त्यसैगरी म किन गरुँ ? भन्ने लाग्यो । सय वर्षपछि त म यो संसारमा हुन्न । त्यो निश्चित हो । तर मेरा सिर्जना सय वर्षमात्रै होइन, अझै लामो समय बाँचिरहन सक्छन् । जीवनमा आएको मोडले मलाई सिर्जनामा लगायो ।
क्यान्सर भएपछि मान्छे रोगले भन्दा बढी पीरले मर्छ रे । आत्मविश्वासले बाँच्ने हो । समयमै थाहा हुने हो भने आजको दिनमा क्यान्सरबाट मर्नु पर्दैन । यसपटकको विश्व क्यान्सर दिवसलाई ‘क्यान्सर कारणहरुबाट टाढा बस्छु’ भन्ने अठोट लिएर मनाऔं भन्न चाहन्छु । (कुराकानीमा आधारित)