नेपाली सिनेमाः लस्करै फ्लप
काठमाडौं । दशैयता झन्डै २० नेपाली फिल्म प्रदर्शन भए । प्रसादले जेनतेन लगानी उठायो । बाँकी सबै घाटामा । अधिकांश फिल्म शुक्रबार हलमा लागेर आइतबार उत्रिए । मल्टिप्लेक्स मात्र होइन, सिंगल थिएटरमा पनि सुख्खा लाग्यो । जोकोही फिम्मकर्मीलाई भेट्नुस्, दुःखेसो एउटै हुन्छ । ‘फिल्म चल्नै छाडे खडेरी लाग्यो ।’ निरासा छ सर्वत्र ।
गाँठी कुरातिर कसैको ध्यानै छैन । सबै भनछन् फिल्म चलेनन् । कोही भन्दैनन्, चल्नुर्पे कुन फिल्म चलेन । स्क्रिप्टभन्दा स्टारलाई महत्व दिइएका, कमेडीको नाममा करेन्टलाई बेवास्ता गरिएका, बनाउ भनदा चलाउन हतार गरिएका, कलाभन्दा बजारको पछि दौडिएका फिल्म फ्लप भए भनेर दुःखमनाउ गर्नु किन !
खासमा स्वदेशी फिल्म मात्र ‘डब्बा’ भएका हुन् । हिन्दी फिल्म केदारनाथ र सिम्बाको व्यापार लोभलाग्दो रह्यो । दक्षिण भारतीय फिल्म केजिएफ हेर्नेको भीड लाग्यो । तर यहीसँगै आएको जिरो ठन्डाराम भयो । प्रष्ट हुन्छ, राम्रो फिल्मलाई दर्शकको अभाव छैन् । नेपाली फिल्मकर्मीको रबैया भने जस्ताको त्यस्तै छ । केही दिनअगाडि एक निर्माता भेटिए, उनलाई हिरो हुनु रहेछ । ६ महिनाभित्र फिल्म हलमा पु¥याउनु पनि छ । तर हातमा स्क्रिप्ट छैन । उनलाई सोधियो, “किन यति हतार ?” आफ्नो दुःख बिसाए, “यूकेबाट ६ महिनाको छुट्टीमा आएको । फर्कने बेला फिल्म चलाइसक्नपर्छु ।” हालत यस्तो छ । अनि, फिल्म नडुबोस् कसरी ?
यो सामाग्री हामीले नेपाल साप्ताहिकबाट लिएका हौं ।