कभर स्टोरी

राप्रपामा दीपक बोहरा न यता न उता, थपियो चिन्तै चिन्ता

राप्रपामा दीपक बोहरा न यता न उता, थपियो चिन्तै चिन्ता

केही दिनअघि बनेको राप्रपा ( संयुक्त) प्रति असहमति जनाउँदै आवेशमा बिज्ञप्ती निकालेपछि अहिले राप्रपा नेता दीपक बोहरालाई पर्नु फसाद परेको छ । पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एक भएपछि नेता बोहराले यसबाट आफू चकित भएको भन्दै  एकताप्रति खेद जनाउँदै वक्तव्य जारी गरेका थिए । 


बोहराको असहमति किन त ? 


खासमा कुरा अर्कै छ । बोहराले एकीकृत पार्टीमा सह अध्यक्ष खोजेका थिए । यो प्रस्ताव उनले पशुपतिशम्शेर र लोहनी दुवै जनासंग छुट्टाछुट्टै राखेका पनि थिए । लोहनीले मेरो त बिमति छैन, तपाईं पशुपति जीको पार्टीबाट आउनु भएको, उहाँसंग कुरा गर्नुसन भनी टारीदिए । उता, पशुपतिले हेरौंला तर लोहनीलाई मनाउन पहल गर्नुस भनेर पठाएपछि बोहरा हेर बुढी हिस्स भने झैं भए । 

 


त्यसपछि हो बोहराले कमल थापा नेतृत्वको राप्रपा र संघीय समाजवादी फोरम प्रवेश गर्ने हल्ला चलाएको । तर, बोहाराको दुर्भाग्य न थापाले बोहरालाई हरियो झण्डा देखाए न त फोरम अध्यक्ष उपेन्द्र यादवले नै । यादव र थापासंग पनि बोहराले सह अध्यक्षकै रुची देखाएका थिए । उनको रुची पूरा हुने स्थिति नभएपछि अहिले बोहरा यता न उता परेका छन् । 

 


बोहरासंगै दुविधामा परेका छन् केशरबहादुर बिष्ट पनि । तर, बोहरा भन्दा बिष्ट चलाख देखिए । उनले बोहरालाई बिज्ञप्ती जारी गर्न उक्साए तर आफूले दिएनन् । बिष्टका लागि चौतर्फी ढोका खुला छ, तर, बोहरालाई समस्या भयो । नवगठित राप्रपा संयुक्तमा जाउँ वक्तव्य दिइसकियो, अन्त जान कसैले भाउ दिएको छैन । 

 


स्वभावतः कमल थापा र बोहराबीच धेरै कुरा मिल्छ । उनीहरु राम्रा मित्र पनि हुन् । तर, जति हठी र हक्की बोहरा छन् त्यो भन्दा दोब्बर थापा छन् । यही कुराले दुवैलाई मिल्न दिंदैन । 


अहिले राणा र लोहनीले बोहरासहित बिष्टलाई फर्काउने प्रयास जारी राखेका छन् । बोहरा र बिष्टको अर्को समस्या भनेको लोहनी पनि हुन् । दुवै जना लोहनीलाई अध्यक्ष मान्न नसकिने निष्कर्षमा पुगेका छन् । यो कुरा उनीहरुले राणालाई जाहेर गरिसकेका छन् । राणाले मुसुमुसु हाँस्दै टाउको हल्लाउनुबाहेक केही जवाफ दिने गरेका छैनन् । 

 


अहिले बोहरा र बिष्टबीच अलग्गै पार्टी खोल्ने कि भन्ने बिषयमा पनि छलफल चलिरहेको छ । यसका लागि उनीहरुले केन्द्र र जिल्लाका पार्टी सदस्यहरुसंग लगातार छलफल चलाइरहेका छन् । 


नवगठित राप्रपा संयुक्त र थापा नेतृत्वको राप्रपाबीच पनि एकीकरणको प्रयास पुनः सुरु गरिएको छ । उनीहरुले आफनो छलफलमा बोहराको बिषयलाई ‘जोक’ बनाउने गरेका छन् ।  
 

विशेष