अश्वमेध गायत्री महायज्ञ सफल बनाउन शक्ति कलश रथयात्रा
वीरगन्ज । नेपालमा पहिलोपटक हुन गइरहेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन सोमबारदेखि वीरगन्जबाट तीनवटा शक्ति कलश रथ यात्रा गरिएको छ। वीरगन्जस्थित आर्दशनगरबाट शुरु भएको शक्ति कलश रथ यात्राको शुभारम्भ वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका हुन् ।
विधिवत रुपमा पूजापाठ गरी वीरगन्जबाट रथयात्रा पूर्व, पश्चिम र उत्तर तर्फ प्रस्थान गरे । रथयात्रा शुभारम्भ गर्दै मेयर सरावगीले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नेपालमा यज्ञ गर्न लागिएकोले उत्साहजन सहभागिताको लागि नेपालवासीसँग आग्रह गरे ।
'यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्न सकिन्छ, वैज्ञानिक ढंगले संचालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभूतहरुको शुद्धिकरण हुन्छ उनले भने यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुनेछ' उनले भने।
वीरगन्जबाट शुरु गरिएको रथयात्रामा राखिएको कलशमा २४ सय तीर्थस्थलको जल मिसाएर राखिएको छ, हरेक जिल्ला यसको प्रभावले शुद्धिकरण हुँदैजान्छ । एकमहिने रथयात्रा पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर काठमाडौं, बनेपा, धुलिखेल, पोखरा लगायतको स्थानमा व्यापक रुपमा प्रचार प्रसार गरी यज्ञमा सहभागिता जनाउन सबैमा आह्वानसमेत गरिएको यज्ञका प्रचारक राजेश्वर सिंहले बताए ।
फाल्गुन १९ गते शुरु भई २२ गतेसम्म चल्ने ४ दिने यस यज्ञमा भारत नेपालका गरी करिब ५ लाखभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ र यसमा कुल लागत २ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठ वीरगन्जले जनाएको छ ।
अश्वमेध गायत्री महायज्ञ कलश रथयात्रा