कभर स्टोरी मनोरञ्जन भिडियो

गीत जहाँसुकै बजोस्, श्रष्टाको नाम र रोयल्टी सुरक्षित हुनुपर्छ’ (भिडियाेसहित)

गीत जहाँसुकै बजोस्, श्रष्टाको नाम र रोयल्टी सुरक्षित हुनुपर्छ’ (भिडियाेसहित)

काठमाडौं । संगीतकार एव‌‌म् सर्जकका सिर्जना वा कृति कसरी सिर्जना भएका हुन्छन् भन्ने खाेतल्ने हाे भने राेचक स्टाेरीहरु पाइन्छन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले एक सर्को चुरोट तान्दा तान्दै कविता रचिदिन्थे । चर्चित संगीतकार सुरेश अधिकारीकाे हकमा पनि यस्ता केही विषयहरु छन् ।उनको मष्तिष्कमा पनि यस्तो तरिकाले धेरै गीत सिर्जना भए । ती सिर्जनाले जीवन पाएसँगै दर्शकहरूको अपार माया र सफलता पनि हात पर्‍यो । उनले दिएका सबै हिट गीतका भिन्नभिन्नै कथा छन् । कुनै समयको हिट गीत ‘झरनाको चिसो पानी’ अझै देश विदेशका कार्यक्रममा गुञ्जयमान् हुन्छ । अधिकारीलाई यसले अझै चकित बनाउँछ, किनभने उक्त गीतले सोच्दै नसोचेको सफलता पाएको थियो । 

 

फ्लासब्याकमा जाँदै उनले सुनाए, ‘त्यो गीतको प्रचारप्रसार पनि कहीं गरिएन । यसो डाँडातिर घुम्न जाँदा सानो भिजुअल बनाइयो । कुनै मिडियामा पनि बजाइएको थिएन । तर विस्तारैविस्तारै भुसको आगो झैँ बल्झियो ।’ एकपटक चीन भ्रमणमा जाँदा त्यहाँको डिस्कोमा यही गीत बजिरहेको देख्दा उनी अचम्मित भएका थिए । चिसो बतासले मनमा छोएजस्तै अधिकारीको मनमा बसेको छ यो गीत । 

 

 

गीत सिर्जना गर्ने दुई प्रकारबाट हुने बताउँछन् उनी । उनका अनुसार सिर्जना गर्ने एउटा शक्ति अलौकिक शक्तिबाट प्राप्त हुन्छ । जो हामी हिन्दूले सरस्वतीबाट पाइन्छ भन्छौं । त्यो अदृश्य शक्तिले दिएर सिर्जना हुन्छ । अर्को भने प्राविधिक ज्ञानको आधारमा गरिने सिर्जना । प्राविधक ज्ञानको प्रयोग गरेर सिर्जना गर्न कुनै समय नचाहिने उनको ठहर छ । प्राविधिक ज्ञानको आधारमा आफूजस्ता व्यवसायिक मान्छेले तत्काल ४ –५ वटा गीत बनाइदिन सक्ने उनले बताए । तर अर्को शक्तिबाट गरिने सिर्जना फरक हुन्छन् र ती सिर्जना थुप्रै कालखण्डसम्म जीवन्त पनि ।

 

हाल अधिकारी संगीत रोयल्टी संघ समाज नेपालका अध्यक्ष छन् । उनकाे धेरै जसाे समय समाजकै लागि खर्च हुन्छ ।  यसको कारण पनि अलौकिक ज्ञानको नभएर अहिले आफ्ना सिर्जना प्राविधिक ज्ञानको प्रतिफल भएको बताउँछन् ।  

 

कुनै समय एकै दिनमा एउटा एल्बम लेखेर सक्ने अधिकारीको अहिले त्यत्ति धेरै मात्रामा गीतहरू आएका छैनन् जति आउनुपर्ने हो । उनले अहिलेसम्म दुईवटा एल्बम बनाउन डेढ दिनभन्दा बढी नलगाएको रेकर्ड छैन । हिजोआज उनको अधिकांश समय संगीत रोयल्टी समाजको अध्यक्षको हैसियतमा दिनुपर्ने काममा बितेको छ । संगीतलाई दिनुपर्ने समय कम भएको छ । तर अब छिटै संगीतकर्ममा लाग्ने उनले बताए । 

 

नेपाली गायन क्षेत्रमा अहिलेसम्म सबैभन्दा मन परेको र मान्य व्यक्ति उनी आफैँ लाग्छ । भन्छन्, ‘मलाई मनपर्ने गायक म आफैं हो । किनभने मेरो मनमष्तिस्कले सिर्जना गरेको गीत पूर्ण रुपमा मैले मात्र गाउन सक्छु । आफ्नो जस्तै गाइदियोस् भनेर संगीतकारले सोच्नु हुँदैन । अरूको क्षमताअनुसार काम गराउने हो भने सबै राम्रा छन् ।’ 

 

प्रायः संगीतकारको गीत गायकले बिगारिदिएको गुनासा पनि बेलाबेलामा आइरहन्छन् । आफ्नो सिर्जनालाई पूर्ण रूपमा न्याय गर्न पुरुषको आँखामा आँशु आउनुपर्ने र महिलाले डाँको छोडेर रुनुपर्ने उनले बताए । तर अधिकारीले अहिलेसम्म त्यस्तो व्यक्ति पाएका छैनन् ।

 

गीतको सिर्जना गर्ने संगीतकार भए पनि गीत हिट भएपछि श्रेय गायकलाई मात्र जाने कुरामा उनको कुनै पनि आपत्ति छैन । भन्छन्, ‘श्रष्ठा भनेको जरा हो । गायक भनेको फल र हाँगाबिँगा हुन् । जरा पर्दापछाडि नै रहन्छ । जरा बाहिर आउँदा विरुवा बाँच्दैन ।’ तर श्रष्ठाको नैतिक अधिकार भनेको गीत जहाँसुकै बज्दा पनि उसको नाम उल्लेख हुनैपर्ने भएको उनले बताए । ‘श्रष्ठाको नाम बाहिर उल्लेख नहुनु भनेको ठूलो अपराध हो’, उनले थपे, हुँदाहुँदा फलानो मोडलले खेलेको गीत भनेर लेखेको पनि देखेको छु । यसमा श्रष्ठालाई गायब बनाइएको छ ।’

 

रियालिटी शोमा प्रथम हुनेहरू शो छोडेर बाहिर आउँदा संगीतमा प्रथम हुँदैनन् । यसको कारण बताउँदै उनले भने, ‘रियालिटी शोमा कम्पिटिटरहरू सीमित मात्रामा हुन्छन् । तर बाहिर गएपछि विशाल माससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । निश्चित चुनौती असिमित भइदिन्छन् । धेरै प्रतिस्पर्धा बाहिरै छन् र बाहिरै पनि ठूलै प्रतिस्पर्धा गरिरहेका छन् । बाहिर पनि प्रतिस्पर्धी हौं भन्ने कुरा बजारमा हिट हुन चाहनेले मनमा राखेको हुनुपर्छ । तर सिर्जनामा कुनै पनि प्रतिस्पर्धा हुँदैन । आफू बजारको लागि हो कि सिर्जनाको लागि भन्नेकोरा सुरुमै छुट्याएर आउनुपर्छ ।’ 

 

गायन क्षेत्रमा अझै सबै गायक, गायिका र स्रष्ठाको जीवनस्तरको उत्थन भएको छैन । यसका असर पूरा गायन क्षेत्रमा पनि पर्न जान्छ । संगीतमा गायक गायिकाको मात्र अवस्था उत्थान गरिनुलाई गल्ती हुने बताउँदै अधिकारीले भने, ‘पहिला सिर्जना गर्नेको उत्थान, स्रष्ठालाई अवसर दिने निर्माताको उत्थान भएपछि गायक गायिकाको कुरा आउँछ । तुलनात्मक हिसाबमा गायक गायिका लाभको स्थानमा छन् बजारमा । तर नेपालको विद्यामन परिस्थितिमा पाइरेसी व्याप्त छ, बजार सम्पूर्ण रुपमा ध्वस्त छ, मेकानिकल मार्केट पूरै ध्वस्त भएर डिजिटल मार्केटमा लागेपछि त्यसबाट कसरी लाभ लिने भन्नेबारे स्वयं उद्योगीसमेत अन्योलमा रहेको समयमा संगीतसँग आश्रित कलाकार त पीडित हुने नै भए । गीत संगीत सार्वजनिक अवस्थामा प्रयोग हुँदा त्यसको प्रतिलिपी अधिकार ऐनले व्यवस्था गरेको रोयल्टीबाट पनि वञ्चित हुँदा संगीत क्षेत्र साँच्चै नै रुग्ढ बनेको छ । यसले ठूलो असर राज्यको गरिमा, राष्ट्रियता, सांस्कृतिक अवस्थामा असर पारेको छ ।’ 

 

हिजोआज कलाकारको सानो आधारभूत आवश्यक्ता पूरा हुन पनि नम्बर वान गायक गायिका नै हुनुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थाले संगीत क्षेत्र नटिक्ने अधिकारीको भनाइ छ । यसलाई आरक्षण गर्न राज्यले नै पहल कदम लिनुपर्नेमा उनले जोड दिए । संगीत क्षेत्रको प्रवर्द्धनका लागि उनीहरूले प्रतिलिपि अधिकार ऐनलाई कडाइका साथ लागू गरेर संगीत रोयल्टीलाई लागू गराउन राज्यलाई घच्घचाइरहेका छन् । राज्यका निकायमा गुहार लगाइरहेकोबारे उनले जानकार गराए । रोयल्टीबारे राज्यलेमात्र नभएर राज्यका विभिन्न नियमक निकायले बुझ्नुपर्ने उनको भनाई छ । 

 

कोही पनि व्यक्ति सौखिन हुँदैमा व्यवसायिक रुपमा गायक हन नसक्ने उनले बताए । यसबारे प्रष्ट पार्दै उनले भने, ‘सौखिनहरु हरेक क्षेत्रमा हुन सक्छन् । तर व्यवसायिक भएर काम गर्न सकिदैन । संगीतमा रूची भयो भन्दैमा कोठामा गुनगुनाउन र टोलका कार्यक्रममा गाउन, स्कुल कलेजसम्म पर्फेक्ट हुन सक्ला तर यहाँ केही पहुँच र पैसाको भरमा राष्ट्रिय मिडियामा पहुँच हुन्छ । पैसा तिरेर सर्वोत्कृष्ट भन्ने अवार्ड पनि पाउँछन् । क्रेकेट खेल्ने इच्छा हुँदैमा या पैसा हुँदैमा पारस खड्कासँग पहुँच हुने या ट्रफी नै किन्ने पहुँच हुँदैन । तर संगीत क्षेत्रमा त्यस्तै छ ।’

 

कला संस्कृति राज्यको प्रमुख प्राथामिकताको विषय हुनुपर्ने भन्दै उनले भने, ‘देश भनेको ढुंगा माटो होइन, देश भनेको यहाँ बोलिने भाषा र गीत संगीत हो । यो कुरामा राज्यले ध्यान नदिँदा अहिले जसले पनि अवार्ड आयोजना गर्न पाउएँछ । मन परेका गायक बटुलेर अवार्ड दिन कसैले कसैलाई रोक्दैन । त्यो अवार्ड र सडकमा भएको कवाडको बीचमा के फरक भयो त ? यो कुरा पनि नियन्त्रण गर्ने संयन्त्र नहुुँदा यो भद्रगोल आइपरेकोह हो ।’ 

 

अहिले नेपाली संगीत क्षेत्रमा सबै श्रष्ठा कुण्ठामा बाँचिरहेको स्थिति भएको र केही टाठाबाठाले मात्र कमाउन सकेको उनले बताए । सबैलाई मिलाएर लैजान खोज्दा एक पक्षले मानिरहेको स्थिति नभएकाले यसको कानूनी रूपमा आपसी सहमतिका कुराबारे संवादमा आउनु जरुरी भएको उनको मान्यता छ ।

संगीतकार सुरेश अधिकारी

विशेष