खेल

बंगलादेश प्रिमियर लिगः क्रिस गेलको टोली फाइनल पुग्न असफल

बंगलादेश प्रिमियर लिगः क्रिस गेलको टोली फाइनल पुग्न असफल

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) को गत संस्करण विजेता रंगपुर राइर्डस फाइनल पुग्न असफल भएको छ । बुधबार राति ढाका डाइनामाइट्सँग भएको खेलमा पाँच विकेटले पराजित भएसँगै डिफेन्डिङ च्याम्पियन रंगपुर फाइनल पुग्न असफल भएको हो । 

 

टस हारेर ब्याटिङको निम्तो पाएको चर्चित ब्याट्सम्यान क्रीस गेल आवद्ध रंगपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । उसका लागि रवि भुपाराले सर्बाधिक ४९, मोहम्मद मिथुनले ३८, नदिव चौधरीले २७ र क्रीस गेलले १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् । 

 

बलिङमा ढाकाका रुबेल हुसनले ४, गाजी ओनिक, आन्द्रे रसलले दुईदुई, शाकिव अल हसन र शुभगोता होमले एकएक विकेट लिए । १४३ रनको लक्ष्य पाएको ढाकाले १६.४ ओभरमा ५ विकेट गुमाउँदै १४७ रन बनायो । उसका लागि आन्द्रे रसल (नटआउट) ४०, रोनि तालुकदारले ३५, कप्तान शाकिव अल असनले २३, सुनिल नारायण र किरण पोलार्डले १४–१४ रन बनाए ।

 

बलिङमा रंगपुरका मुसरुफे मुर्तुजाले २, नजमुल इश्लाम र बेनी हाउवेले एकएक विकेट लिए । ढाकाले अब फाइनलमा शाहिद अफ्रीदि आवद्ध कोमिल्ला भिक्टोरियन्ससँग भिड्ने छ । फाइनल खेल भोलि (शुक्रबार) साँझ हुनेछ । 

क्रिस गेल बंगलादेश प्रिमियर लिग

विशेष