कभर स्टोरी भिडियो

जापानीहरु आफ्नै बारीमा फलेका फलफूल पनि खाँदैनन्(भिडियो सहित)

अहिले पनि बिहान ८ देखि राति ११ बजेसम्म काम गर्छु  

जापानीहरु आफ्नै बारीमा फलेका फलफूल पनि खाँदैनन्(भिडियो सहित)

काठमाडौं । रामबहादुर बस्न्यात जापानमा रेष्टुरेन्ट व्यवसायी हुन् । उनी जापानको क्युसु फुकुओकामा चार वटा रेष्टुरेन्ट चलाउँछन् । पहिले भारतमा केही समय बसे । त्यसपछि २७ वर्षअघि जापान प्रवेश गरेका रामबहादुर नेपाल आउनेजाने गरिरहन्छन् । लामो समय जापानमा बसेका कारण उनलाई अहिले नेपाली भाषा बोल्न बेलाबखत केही अप्ठ्यारो पनि लाग्छ । 

 

नेपालबाट जापान जाने धेरैजसोले शुरुमा गर्ने भनेको कुक नै हो । त्यसपछि तिनै कुकले पछि आफ्नै रेष्टुरेन्ट खोल्छन् । यहि कारण जापानमा धेरैजसो नेपालीको व्यवसाय रेष्टुरेन्ट हुने गर्छ । जापानमा कसरी रेष्टुरेन्ट सञ्चालन हुन्छ, नेपाली रेष्टुरेन्ट, जनजीवनसँग जापान कसरी फरक छ भन्ने विषयमा रामबहादुरले बेलिबिस्तार लगाएका छन् । 

 

उनको अनुभवमा नेपालका रेष्टुरेन्टमा कामदार बढी हुन्छन् । नेपालमा चार जनाले गर्ने काम जापानमा एउटैले भ्याइदिन्छ । एउटा रेष्टुरेन्ट तीन चारजनाले जापानमा चलाई दिन्छन् । नेपालका रेष्टुरेन्ट रामबहादुरलाई मूलतः फोहोर लाग्छन् । कामदारको कुनै पोशाक हुँदैन । 

 

रेष्टुरेन्ट सञ्चालन गर्नुअघि रामबहादुरले १२ वर्ष त रेष्टुरेन्टमा काम गरे । त्यसपछि मात्रै उनले रेष्टुरेन्ट खोले । बिहान ८ बजेदेखि राति ११ बजेसम्म काम गरेको गरै गर्छन् । यो दैनिकी उनको अहिले पनि छ । भनेपछि जापानमा जति आकर्षक तलब छ, त्यो भन्दा चर्को काम गर्न हुन्छ । 

 

नेपालबाट विद्यार्थी भिषामा जापान गएकाहरुलाई गाह्रो छ । उनीहरुले २८ घण्टामात्रै काम गर्न पाउँछन् । त्यति काम गर्दा खर्च पुग्दैन । 

जापानमा कामचोर प्रवृत्ति लगभग छैन । रामबहादुर भन्छन्, ‘जापानीहरु नौ बजे अफिस पुग्नु छ भने १५ मिनेटअगाडि नै पुग्छन् । ड्युटी सकिएको १५ मिनेट पछि निस्किन्छन् ।’ सिस्टमको कुरा सबैले गर्छन् । तर मानिसहरु स्वयं आफैं सिस्टममा बस्न रुचाउँदैनन् । रामबहादुरलाई नेपाल आउँदा काठमाडौंको बाटो काट्न हम्मे पर्छ । उनी मानिसहरुको बीचमा बसेर सडक काट्छन् । एक्लै सडक क्रस गर्ने हिम्मत आउँदैन । सडकमा सवारी साधन हुइँकिएको देखेर उनी डराउँछन् । 

 

जापानमा एउटा राजमार्गमा केही समयअगाडि भ्वाङ पर्‍यो । त्यो भ्वाङ रामबहादुरको रेष्टुरेन्ट नजिकै थियो फुकुओकामा । जापानीहरुले त्यसलाई एक हप्तामा मर्मत गरेर दुरुस्तै बनाइदिए । आवागमन त दोस्रो दिनबाटै भयो । रामबहादुर भन्छन्, ‘यो सडकमा अन्डरग्राउन्डको काम गर्ने कम्पनीको गल्ती देखियो । त्यो कम्पनीले जिम्मा लिएर अविलम्व सडक बनायो । काममा ढिलासुस्ती जापानीहरुको सोचाइमै छैन ।’  

 

जापानीहरु स्वास्थ्यमा पनि धेरै सचेत छन् । उनीहरु खाद्य परीक्षकले परीक्षण नगरेका खाद्यवस्तु खाँदैनन् । घरकै करेसाबारीमा फलेका फलफूल पनि खाँदैनन् । किन त ? भनेर सोधेको उनीहरुले ती फलफूल खाद्यपरीक्षकले खानयोग्य भनेर प्रमाणित गरेको हुँदैन भन्ने जवाफ दिए । 

जापान रामबहादुर बस्न्यात

विशेष