भ्यालेन्टाइन्स गफ : ‘चक्लेट र टेडी डे’ मा सम्झनु !
भ्यालेन्टायन्स डे मन भित्र थुनिएको यौन भावना प्रस्फुटन गर्ने एक बाहना
छेउमा बसेको साथीले छेउमै बसेकी युवतीलाई हाँस्दै भन्यो,–‘कञ्चन ! आज चक्लेट डे, ख्वै त मलाई ? ’
जवाफमा कञ्चन मुस्कुराइन् । जाडोमा सेतो हिउँ जस्तै टल्केको टोपीमा अति सुन्दर देखिएकी कञ्चनले मुस्कानबाट दिएको जवाफ धु्रवले बुझेन ।
उसले फेरि भन्यो,–‘होइन, टेडी डेमा सम्झे पनि हुन्छ, अरु दिन पर्दैन । ’
कञ्चन फेरि मुस्कुराइन् र भनिन्–‘होइन यो टेडी भनेको के हो ? ’
उताबाट जवाफ आयो–‘थाहा नपाए जस्तो गर्छौ ? तिमीले भ्यालेन्टायन्सका प्रत्येक स्टेप स्वस्थानी ब्रतकथा जस्तै फलो गरेकी छौ । मलाई अरु चाहिएन टेडी डेमा चाहिं सम्झनु ’
कुरो सहज थियो । धु्रव मजाकको मुडमा थियो । कम्प्युटरको कि बोर्डमा लगातार टाइप गरिरहेकी कञ्चनले त्यसपछि गाँठो फुकाइन् ।
‘म त दिने होइन, कसैले दिए लिने हो । अहिलेसम्म कसैले दिएको पनि छैन ’
दुवै जनाको ठीक अघिल्लो कुर्सीमा म थिंए । मनमा प्रश्न आए । भ्यालेन्टाइन्सका अरुपनि चरणहरु छन् । रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमोसि डे, किस डे, हग डे र अन्त्यमा भ्यालेनटाइन्स डे । यति धेरै डे मध्ये किन चक्लेट र टेडी डेमा मात्र सम्झनु भनेको होला ।
पक्कै पनि चक्लेट र टेडी भनेको आफूले पाउने चिज हो । यो भौतिक कुरा हो । यसमा प्रेम जोडिदैन । धु्रवले आफनो प्राप्तीको कुरालाई मात्र जोडेर स्वार्थ प्रदर्शन गर्यो । उसले म तिमीलाई प्रेम गर्दिन भन्ने सन्देश पनि प्रवाह गर्यो । सट्टामा उसले म दिन्छु नी त पनि भन्न सक्थ्यो, तर भनेन ।
कतिपय कुरा मनमा हुन्छन् तर अभिव्यक्त गर्न सकिदैन । धु्रवले मनमा दुनियाभर पाप सोचेको भएपनि रोज डे, किस डे वा हग डेमा सम्झ भन्न सकेन । यी कुरा सिधै प्रेमसंग जोडिएका छन् । अझ किस र हग त स्पर्शसंग जोडिएका छन् । यो कुरा भन्न सक्ने आँट धु्रवमा मात्र होइन सितिमिति कसैसंग हुँदैन । कि त प्रेमको गहिराईमा चुर्लुम्म भएपछि सम्भव छ कि त छाडा हुनु पर्यो ।
अहिले नेपालमा मात्र होइन बिश्वमै भ्यालेन्टायन्स विक अर्थात प्रणय सप्ताहको चर्चा छ । बजारमा गुलाफपनि थुप्रै आएका छन् । अझ प्राकृतिक गुलाफको अभाव हुन थालेपछि कागजका गुलाफसमेत आयात गरिएको छ । आफनो प्रेम दर्शाउन मानिसहरु कागजकै भएपनि नक्कली गुलाफ दिएर प्रेमको इजहार गरिरहेका हुन्छन् । यो यसमा साँचो प्रेम छ ?
भ्यालेन्टायन्स डे मन भित्र थुनिएको यौन भावना प्रस्फुटन गर्ने एक बाहना पनि हो । तपाईं बिचार गर्नुहोस सरकारी भन्नुस वा निजी, प्रायः सबै कार्यालयमा भ्यालेन्टाइन्सको बाहनामा अहिले आपसमा जिस्किेन, ठट्टा गर्नेक्रम निकै बढेको छ । पुरुष सहकर्मीले महिला र महिला सहकर्मीले पुरुषलाई जिस्काएर आफनो कुण्ठा व्यक्त गर्ने गर्दछन् ।
आज बिहानै मलाई पनि एक मेरै सहपाठीले फोन गरिन् । उनले भनिन्–‘सर पानी परेको छ, अफिस कसरी आउने ? ’
मैले भने–‘छाता ओढेर । ’
‘कति टाढा छ सर ! ’
‘त्यसो भए केहीबेरमा पानी रोकिन्छ, त्यसपछि बस चढेर आउने’
............
‘सर ? ’
‘हजुर, भन ?’
‘आज किस डे हो नी....’
‘कसले भन्यो ? आज चक्लेट डे हो । ’
कुरा के भने घुमाइफिराई कुरो भनेको प्रेम, आकर्षण र यौनकै हो । ती नानीले किस डे...भनेर मस्किनुको कुनै सान्दर्भिकता नै थिएन । पुरुष न हुँ म पनि । मैले पनि उनकै बिषयवस्तुलाई निरन्तरता दिए ।
यौनका लागि शारीरिक संसर्ग हुन जरुरी छैन । आकर्षणका लागि स्पर्श जरुरी छैन । हेराई र बोलीले पनि मानिसलाई तृप्त पार्न सक्छ । अहिले हुने अधिकांश प्रेम गफ यही तृप्तीका लागि हुन भन्ने मेरो दाबी छ, चाहे भ्यालेन्टाइन्सको सन्दर्भ होस वा अरु कुनै.... ।
पुराणबिद् तथा नेपाल बाल्मिकी क्याम्पसकी सह प्राध्यापक प्रियम्बदा काफ्ले नेपालीहरुले सरस्वती पूजालाई प्रेम दिवसका रुपमा मनाउनुपर्ने तर्क गर्छिन् । तर, कुनैपनि नेपालीले सरस्वती पूजालाई प्रेम दिवसका रुपमा मनाउन सक्दैनन् र मनाएका पनि छैनन् । किन होला ?
किनभने सरस्वती बिद्याकी देवी हुन् । देवीको सन्दर्भमा यौनमुखी प्रेम जोड्ने साहस कसैको हुँदैन । यदि सरस्वतीलाई प्रेमकी देवी मानियो भने भोलि यौनकी देवीकोरुपमा ब्याख्या नहोला भन्न सकिन्न ।
अहिले त भ्यालेन्टाइन्स डे मनाउने कुरा फेशन भएको छ । ध्रुवले कञ्चनलाई जिस्काए जस्तै हल्काफुल्कारुपमै यसलाई लिने गरिएको छ । होइन भने यो प्रणय दिवसको नियमित तालिकामा को हिंडन सक्छ ? कि आफनै श्रीमति र बनिसकेकी प्रेमिकालाई खुशी बनाउन नाटक गर्न पर्यो, होइन भने नयाँ प्रेमी वा प्रेमिका खोज्न यो तालिकामा हिंडियो भने प्रेम होइन तिरस्कार चाहिं अवश्य भेटिने छ ।
सन्त भ्यालेन्टाइनले प्रेम गर्न सिकाए । आफूले प्रेम गरेकोसंग नै विवाह गर्न सिकाए । अहिले के ठ्याक्कै त्यस्तै छ त ?
मेरै अघि बसेको धु्रवले कञ्चनलाई जस्तै अरु कतिलाई चक्लेट र टेडी मागिसकेको होला । के थाहा कञ्चनको शीरमा सुहाएको टोपी कसैले ‘टेडी डे’ रुपमा दिएको चिनो पो हो कि ?
भन्न खोजेको मानिसका सम्बन्धहरु बहुआयामिक छन् । एक व्यक्ति एक ठाउँमा केन्द्रीत थोरै मात्र होलान् । प्रेम त यस्तो होस जस्को नाम मात्र सम्झिदा चुपचाप प्रेम गीत बजोस ।
‘मैले पुण्ड्य मन पराए, या पाप मन पराए
जे होस तिमीलाई चुपचाप मन पराएँ ।’