कभर स्टोरी

मन शान्त भएन ? ढुक्कले चिकित्सक मनोविद भेट्नुहोस् (भिडियोसहित)

कन्चन न्याैपाने

मन शान्त भएन ? ढुक्कले चिकित्सक मनोविद भेट्नुहोस् (भिडियोसहित)

के तपाईंलाईं भिडभाडदेखि डर लाग्छ ? श्रीमान श्रीमतीबीच झगडा परिरहन्छ ? धेरै मानिस भएको ठाउँमा बोल्न असहज हुन्छ ? बच्चा पढाइमा ध्यान दिँदैन ? ख्याल गर्नुहोस् यस्ता समस्या मानसिक समस्या पनि हुन सक्छन् । यस्तो अवस्थामा चिकित्सक मनोविदलाई भेट्न नहिच्किचाउनुस् । मानिसको दिमागले सधै ठीक ढंगले काम गर्छ भन्ने हुँदैन । जब मानसिक अवस्थामा फेरबदल आउँछ्, तब चिकित्सक मनोविद या मनोचिकित्सकहरुको सहयोग लिनुपर्छ । (मनाेचिकित्सकले औषधी दिन पाइन्छ भने चिकित्सक मनोविदले औषधी दिन पाउँदैनन् । )

 


शरिरमा दुख्ने पोल्ने हुन्छ । त्यसले दुःख दिन्छ । मानिसलाई डर, चिन्ता, हैरानी, अनिद्रा आदि पनि हुन सक्छ । यस्ता कुराले शरिरमा त दुःख हुँदैन तर मनमा पीडा हुन्छ । यसकारण यसरी बिरामी भएको मन पनि बिसेक पार्न सकिन्छ ।                              

 

चलचित्र बासुदेवको संवादमा भए जस्तै ‘त्यो मनेको कुरा यो मनले र यो मनको कुरा त्यो मनले थाहा पाउने विद्या’ साइकोलोजी होइन । साइकोलोजिस्टले त अरुको मनको कुरा थाहा पाउने भन्ने झनै होइन । मानसिक अस्पताल पाटनका चिकित्सक मनोविद तृष्णा घोष विष्ट भन्छिन्, ‘मलाई बच्चैदेखि साइकोलोजिमा चासो थियो । यो पढ्यो भने कसैको दिमाग पढ्न सक्छु जस्तो लाग्थ्यो । तर यो सबै भ्रम रहेछ ।’ 

 

विष्टले विगतका पाटा खोलिन्, ‘दश वर्ष अघि म यस क्षेत्रमा आउँदा कतिपयलाई त यसबारे थाहै थिएन । अस्पतालका निर्देशकलाई आफैंले बुझाउँदै हिड्नुपथ्र्यो । कतिले हाम्रोमा यसको आवश्यक्ता छैन भन्थे । अहिले पनि कति अस्पतालमा साइक्याट्रिक वार्ड नै छैनन् ।’

 

अहिले पनि मानिस के हुँदा चिकित्सक मनोविदकोमा जाने भन्नेबारे सचेत छैनन् । कतिपयले पागल नै हुनुपर्छ भन्ने सोच्छन् । यस्तो अफवाह् अझै पनि भएको भन्दै उनले भनिन्, ‘कसैले कसैको मनको कुरा थाहा पाउन सक्दैन । मानिस स्वयंले पनि थाहा पाउँदैन । किनभने अहिले एउटा तरिकाले सोचिरहेको छ भने दुई मिनेट पछि त्यो सोचाइ अर्को भइसक्न पनि सक्छ । कसैको व्यवहार र हाउभाउले अनुमान निकाल्ने हो ।

 

व्यक्तिको व्यवहार, इतिहास र टेस्टिङको इन्फर्मेसनले हामी डायग्नोसिसमा पुग्छौं । हामी कहाँ आउने मान्छेलाई समस्या कहाँबाट आएको छ थाहा हुँदैन । हामीले टेस्टिङको माध्यमबाट सचेत गराइदिन्छौं ।’ 


गुणस्तरीयय स्वास्थ्य सेवा भएका मुलुकहरुमा मानसिक समस्यामा औषधि दिनुपूर्व चिकित्सक मनोविदको परामर्श लिइन्छ ।

 

सामान्य प्रकारको डिप्रेसनको लक्षण, लामो समयदेखिको तनाव, अनिन्द्रा, कुलत, रिस बढि उठ्ने जस्तो स्थितिमा मनोचिकित्सकलाई भेटेर सरसल्लाह लिन सकिने भन्दै उनले भनिन्, ‘हामीकहाँ आउन पागल नै हुनपर्छ भन्ने छैन । पागलपन भनेको कडा प्रकारको रोग हुन्छ । त्योसम्म नपुगोस् भनेर सानो समस्या हुने वित्तिकै आउनुपर्छ ।’

 

खानेकुराले पनि मानसिक स्वास्थमा असर पुर्‍याउने उनी बताउँछिन् । रक्सी, गाँजा, क्याफीनजस्ता चिज बढी सेवन गर्दा यसले पनि मानसिक रुपमा असर गर्छ । क्याफिनले मानिसले गर्ने कार्यको गति बढाइदिन्छ । यसकासाथै निन्द्रा नलाग्ने बनाउँछ । 

 

अहिले धेरैले व्यक्तिगत साइको काउन्सेलिङ गर्ने क्लिनिक स्थापना गरेर पनि बसेका छन् । संख्या धेरै हुँदा विश्वास छिटै गरिहाल्ने वातावरण पनि हुँदैन । त्यसमाथि पनि धेरै साइकोलोजिस्ट मान्यता प्राप्त भएका छैनन् त्यसैले त्यहाँ जान चाहनेहरू सचेत हुुनुुपर्ने उनले बताइन् । उनका अनुसार सचेत हुनका लागि मनोचिकित्सकको रेजिस्टे«सन नंबर, एम फिल होल्डर हो कि होइन, कुुन अस्पतालमा काम गर्छन् भन्नेबारे ध्यान दिनुपर्छ । 

 


बिष्ट कहाँ धेरैजसो मानिसहरू डिप्रेसन, एन्जाइटी, व्यक्तित्वको समस्या, विभिन्न कारणले तनाव भएको, पढ्न नसक्ने, श्रीमानश्रीमतीका झै झमेला जस्ता समस्या लिएर पुग्छन् । अधिकांश बच्चाहरू पनि अहिले डिप्रेसनको शिकार भएका समाचारहरू पनि बेलाबेलामा आइरहन्छन् । यसको कारण उनले अभिभावकले बढी पढाईलाई प्राथामिकता दिने बताइन् । ‘अभिभावकले बच्चालाई तुलना गर्ने गर्नु हुँदैन । यसले धेरै असर पार्छ’, उनले सुझाइन् ।  

 

बिष्टका अनुुसार अहिले मानसिक बिरामीको संख्या बढेको छ । सरकारबाट अलिकति चाहना गरेर सरकारी अस्पतालमा दरबन्दी खोलियो भने सजिलो हुन्छ । संख्या धेरै हुँदा कतिपय अवस्थामा उनीहरूले अन्य अस्पतालमा रिफर गर्नुपर्ने स्थिति छ । अहिलेसम्म कति अस्पतालमा साइकाइट्रिक वार्ड नै छैन । जसकारण मानिसमा यसबारे सचेतना कम छ । यसको परिणाम अहिले कोही मानसिक बिरामी भन्यो भने पागल नै भयो भन्ने सोच्छन् । 

 

 

मानसिक रुपमा विक्षिप्तभएपछि त्यसको उपचार नै छैन भन्ने भ्रम पनि छ । ‘वान्स अ म्याड अल्वेज म्याड’ भन्ने सोच हावी भएको विष्ट बताउछिन् । ‘वास्तावमा त्यसो हैन । बच्चाले नपढ्ने, रक्सी खाएर हिँड्ने, श्रीमानश्रीमतीको झगडा हुने, जागिरमा तनाव हुने पनि मानसिक रोग हो’, उनले थपिन् । 

 

पछिल्लो समय युवापुस्ताहरू उनी कहाँ आपसीसम्बन्धका समस्या लिएर धेरै पुग्ने गर्छन् । प्रेममा असफल भएका कारण आत्महत्याको कोसिस गरेकाहरू पनि उनलाई भेट्न पुग्छन् । यस्तो अवस्थामा उनीहरूले कुलतमा फस्ने, नराम्रो चिज सेवन गर्ने,अभिभावकको कुरा नसुन्ने गर्छन् । यसमा अभिभावकले धेरै ख्याल गर्नुपर्ने र साथीको भूूमिका निभाउनुपर्नेमा उनको सुझाव छ । 

 

पछिल्लो ६ वर्षदेखि मानसिक अस्पतालमा कार्यरत तृष्णाले स्कुल दार्जिलिङमा, स्नातक कलकत्ता विश्वविद्यालय र बैंग्लोर विश्वविद्यालयबाट क्लिनिकल साइकोलोजिमा स्नातकोत्तर गरिन् । कस्तुर्बा मेडिकल कलेजबाट एमफिल गरेकी छिन् । तृष्णा दुुई वर्ष भारतको पुनामा जेनेरल अस्पतालमा काम गरेपछि नेपाल आएकी हुन् । नेपालमा तीन महिना धुलिखेल अस्पतालमा काम गरेपछि उनी हाल मानसिक अस्पतालमा कार्यरत छन् । 

 

अन्तिममा एउटा प्रश्न उब्जियो । साराको समस्यालाई सुुन्ने र समस्याको हल गर्नमा लाग्ने चिकित्सक मनोविदले आफ्नो तनाव व्यवस्थापन कसरी गर्छन् ? विष्ट भने धेरै तनाव हुँदा आमासँग बोल्ने गर्छिन् । ‘जति बोलिन्छ त्यत्ति समस्याको सामाधान हुन्छ । आफन्तसँग बोल्नुस्, जसले नराम्रो सजेसन दिँदैन उसँग बोल्नुस् । नबोल्ने र अन्तर्मुखी स्वभावका व्यक्तिलाई मानसिक रोगले बढी च्याप्छ’, उनले भनिन् ।

तृष्णा घोष विष्ट

विशेष