कभर स्टोरी

सिकेले गरे सहमतिको उल्लंघन, सरकार आफनै सहमतिको पासोमा 

सिकेले गरे सहमतिको उल्लंघन, सरकार आफनै सहमतिको पासोमा 

सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिकबल पनि अब सरकारसंग रहेन ? सिकेको भक्ति गर्नुपर्ने यो सरकारलाई त्यस्तो के आइपर्यो  ? सहमति घोषणा कार्यक्रममै उनी जनमतसंग्रहका लागि सरकार तयार भनेर लेख्नछन्, सरकार मौन छ । सहमतिको दुई दिन नबित्दै धनुषा पुगेर उनी सहमति उल्लंघन गर्छन्, सरकार एक शब्द बोल्न सक्दैन । के भैरहेको छ यो देशमा ? 

 


आइतबार दिउँसोबाट काठमाडौंका गल्लीगल्लीमा यी प्रश्न उठेका छन् । सिके राउतको चर्चा अहिले देशभर चलेकाले शायद अन्यत्र पनि यी बिषयमा छलफल भैरहेको होला । 

 


सबैभन्दा अचम्म त के छ भने सरकार एकाएक राउतको प्रशंसा र बचाउमा ज्यान फालेर लागेको छ । आइतबार मात्रै गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा जनमानसमा उठेका प्रश्नहरुको चित्त बुझ्दो जवाफ दिनुभन्दा पनि प्रश्न गर्नेहरुलाई बेवकुफ बनाउने प्रयास गरे । 

 


संयोग कस्तो पर्यो भने गृहमन्त्री थापा संसद्मा राउतका पक्षमा बोलिरहँदा धनुषामा सिके राउत सहमतिको उल्लंघन गरिरहेका थिए । शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेका थिए ।

 


काठमाडौंबाट जनकपुर पुगेका राउतलाई उनका समर्थकले विमानस्थलमा पुरानै झण्डा र ‘फ्रि मधेश’ लेखिएको ब्यानरसहित स्वागत गरेका हुन् ।सरकारसँग ११ बुँदे सहमति गर्दै विखण्डनकारी गतिविधि त्यागेको घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै राउतका कार्यकर्ता स्वतन्त्र मधेसका लागि तयार पारिएको सामाग्री प्रयोग गरेका हुन् । सरकारसँग भएको सम्झौताको ६ नम्बर बुँदामा स्वतन्त्र मधेस गठबन्धनका लागि तयार पारिएको सामाग्री प्रयोग नगर्ने उल्लेख छ ।

 


बुँदा नम्बर ६ मा स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन भन्ने उल्लेख गरिएको छ ।  आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भन्नेसमेत उल्लेख भएपनि राउतका कार्यकर्ताले ठाडै उल्लंघन गरेका छन् । 

 


राउतका कार्यकर्ताले सहमति उल्लंघन गरिरहँदा यता गृहमन्त्री थापा भने राउतले बिखण्डनको मुद्दा छोडेको र  जनमतसंग्रहमा सहमति नभएको भन्दै खुशी मनाउन सबैलाई आह्वान गरिरहेका थिए । 

 


यसअघि राउतले सरकार स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्न तयार भएको दाबी गरेका थिए । सम्झौताको २ नम्बर बुँदामा उल्लेख भएको जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट तराई मधेसमा देखिएको असन्तुष्टिलाई समाधान गरिने भन्नुको अर्थ जनमत संग्रह भएको उनको दाबी थियो ।

 


गृहमन्त्री थापाले भने ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’को अर्थ जनमत संग्रह नभएको जिकिर गरे । उनले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को अर्थ जनमत संग्रह लगाउने हो भने ११ बुँदे सम्झौता तोडिने चेतावनी पनि दिए । 

 


सम्झौता गर्ने दुइ पक्षबीचमै बुझाइको यत्रो अन्तर किन ? सरकारले एउटा बुझने, राउतले अर्को बुझने हो भने यसले ल्याउने परिणाम के हुन्छ ? के यो दीगो समाधान हो ? दुवै पक्षसंगै बसेर यो कुरा सल्टाउन छोडेर किन बेग्लाबेग्लै ब्याख्यामा ? 

 


आइतबार धनुषामा राउत पक्षले गरेको सहमति उल्लंघनमा सरकारको धारणा के हो  ? के गृहमन्त्री थापाले संसद्मा बोले जस्तै ११ बुँदा तोड्ने साहस गर्न सक्छन् ? कि शीर निहुराएर रुझेको बिरोलो भएर बस्छन् ? राउत सरकारसंग भएको सहमतिप्रति रत्तिभर पनि चिन्तित नहुनु भनेको के हो ? 

 


राउत सिआएको एजेन्ट हुन भन्ने चर्चा छ । उनलाई प्रयोग गरेर पश्चिमा शक्तिहरुले नेपालमा प्रभुत्व जमाउँदै चीन र भारतको बिजेपीलाई धक्का दिने रणनीति अख्तियार गरेको बिश्लेषण गरिएको छ । यसअघि भएका होली वाइन लगायतका काण्डले पनि पश्चिमा शक्तिहरुको सक्रियता पुष्टि भएकै हो । के राउतको शक्ति त्यही हो त ? 

  

प्रधानमन्त्री केपी ओली पनि सहमतिमा भएको कुराबाट जो पछि हट्छ वा धोका दिन्छ उ नै सकिने बताउँछन् । तर सरकारले ढोल पिट्नुबाहेक केही गर्न नसक्ने बिगतका दृष्टान्तहरुले पनि देखाएको छ । योबेला सहमति उल्लंघन नै भैसक्यो, अब के गर्ने त ? 
 

विशेष