माथिल्लो तामाकोसीः टनेल लाइनिङ आधा पनि सकिएन
काठमाडौं । माथिल्लो तामाकोसीको सेयर नेप्सेमा सूचीकृत भएर किनबेच शुरु भइसकेको छ । तर यो आयोजनाको निर्माण कहिलेसम्ममा सम्पन्न हुने हो भन्ने अझै पनि संशयमै छ । पूर्वघोषित मितिलाई आधार मान्ने हो भने यो आयोजना दुई वर्षअघि नै सम्पन्न भइसक्नु पर्ने थियो । चार वर्षमा निर्माण सम्पन्न लिइएको माथिल्लो तामाकोसी आर्थिक वर्ष ७२/७३ मा सम्पन्न हुनु पर्ने थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा जारी चालु आर्थिक वर्षको ‘बजेट –अर्धबार्षिक समिक्षा’मा आयोजना विलम्ब हुनमा मुख्य सुरुङको डिजाइन परिवर्तन, पेन स्टक पाइप खन्नमा जटिलता, बाँध एवं टनेमा कमजोर भू–भाग, मुआब्जा वितरणमा समस्या आदि उल्लेख छ ।
यस आयोजनाको काम ९८ प्रतिशत सम्पन्न भइसकेको दावी गरिएको छ । बाँकी कामहरुमा सुरुङ लाइनिङको काम ४६ प्रतिशत मात्रै पूरा भएको छ । टर्बाइन जडानको काम पाँच प्रतिशत बाँकी रहेको छ । प्रशारण लाइनको काम १५ प्रतिशत बाँकी छ । चालु आर्थिक वर्षका लागि सरकारले यो आयोजनाका लागि ५० करोड रुपैयाँ छुट्याएको थियो । सो रकमको १६ करोड ६७ लाख मात्रै खर्च भएको छ ।
तोकिएकै मितिमा यस जलविद्युत आयोजना निर्माण सम्पन्न भएको भए ३५ अर्ब २९ करोडमा सम्पन्न हुने थियो । भारतीय नाकाबन्दी र भूकम्पका कारण आयोजना तोकिएको मितिभन्दा स्पष्ट तीन वर्ष पर धकेलिएको छ । सरकारले संशोधित सम्पन्न अवधि ७६÷७७ लाई मानेको छ । यो मितिमा पनि निर्माण सम्पन्न हुनेमा प्रशस्तै शंका गर्ने ठाउँ छ ।
दोलखाको लामाबगरमा निर्माणाधीन आयोजना ४५६ मेगावाट क्षमताको छ ।