इथियोपियामा जहाज दुर्घटनामा परेकी नेपाली महिला एकता अधिकारी को हुन् ?
इथियोपियामा १ सय ५७ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा एक नेपालीको पनि ज्यान गयो । ती हुन् नेपाली महिला एकता अधिकारी । उनी डब्ल्यूएफपी इथियोपियाकी कर्मचारी हुन् ।
डब्ल्यूएफपी नेपालकी केसाङ लामाले अधिकारीका परिवारजनलाई दुर्घटनाबारे औपचारिक सूचना दिएपछि एकताको निधन भएको थाहा भएको हो ।अधिकारीको मूल घर गोर्खा हो । उनका बुवाआमा हाल अमेरिका भ्रमणमा रहेका छन् भने उनका भाइ नेपालमै छन् ।
अधिकारीले सन् २०१५ मा यूकेस्थित एङ्लिया रस्किन विश्वविद्यालयबाट एमबीए गरेकी थिइन् । अधिकारीले नेपालमा ठूलो भूकम्प गएको केही महिनापछि अर्थात् जुन २०१५ देखि डब्ल्यूएफपी नेपालमा काम गर्न थालेकी थिइन्। उनले गत वर्ष सेप्टेम्बरसम्म नेपालमा काम गरेको डब्लयूएफपी नेपालले जानकारी दिएको छ ।

गत वर्ष पपुआ न्यूगिनीना भूकम्प गएपछि उनलाई त्यहाँ सूचना व्यवस्थापन अधिकृतका रूपमा दुई महिना खटाइएको थियो । उनी सोही पदमा गत वर्ष सेप्टेम्बरमा इथियोपिया गएकी हुन् । गत डिसेम्बर महिनादेखि उनी डब्ल्यूएफपी इथियोपियाको कन्ट्री अफिसमा सप्लाई चेन अफिसरका रूपमा कार्यरत थिइन् ।