मेलम्चीको पानीः सरकार नै भन्छ ‘७९ सालसम्म धैर्य गर्नू’
काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा कहिले आउला ? यो प्रश्न बीस वर्षदेखि काठमाडौंबासीले गरिरहेका छन् । खानेपानीमन्त्री बीना मगरको कुरा पत्याउने हो भने त ७५ वैशाखमै वा त्यो नभए ७५ को दशैंमा मेलम्चीको पानी आइपुग्नु पर्ने थियो । दशैंमा मेलम्चीको पानी आउने मन्त्री मगरले ग्यारेन्टी गरेपछि काठमाडौंबासी दशैंको खसी मेलम्चीकै पानीले खुइल्याउने आशामा थिए । तर त्यस्तो केही भएन । ७५ को दशै सकिएको चार महिनामा खानेपानी मन्त्रालयका सचिव र कर्मचारीले मेलम्चीको ठेक्का लिइरहेको इटालियन कम्पनी सिएमसीलाई भगाएको खबर बाहिरियो ।
अब कहिलेसम्ममा मेलम्चीको पानी काठमाडौं आइपुग्ला त ? चालु आर्थिक वर्षको अर्धबार्षिक समिक्षामा मेलम्चीको पानी आर्थिक वर्ष ७८/७९ सम्ममा आइपुग्ने उल्लेख छ । समिक्षा प्रतिवेदनमा भनिएको छ, ‘शुरुमा आर्थिक वर्ष ७१/७२ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा संशोधित कार्यतालिकाअनुसार पहिलो चरको कार्य आर्थिक वर्ष ७५/७६ मा सम्पन्न हुने र दोस्रो चरणको कार्य आर्थिक वर्ष ७८/७९ मा सम्पन्न हुने लक्ष्य रहेको छ ।’
अर्थात सरकारकै योजनामा पनि मेलम्चीको पानी ७९ सालमा मात्रै काठमाडौं आउनेछ ।
काठमाडौं उपत्याकामा प्रतिदिन १७ करोड लिटर खानेपानी वितरण गर्ने लक्ष्यसहित एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन छ । ५५ सालदेखि शुरु भएको आयोजना १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । सरकारी कर्मचारीहरुले ठेकेदारसँग कमिसन मागेको र सो दिन नमान्दा ठेकेदार भगाएको खबर बाहिरिएपछि खानेपानी मन्त्री बीना मगरले सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरेकी छिन् ।
यस आयोजनाको संशोधित कुल लागत ३१२.९ मिलियन अमेरिकी डलर अर्थात ३३ अर्ब ३९ करोड रुपैयाँ छ । सरकारले चालु आर्थिक वर्षमा मेलम्चीका लागि ७ अर्ब ६ करोड ५९ लाख रुपैयाँ दिएको थियो । तर दूर्भाग्य समिक्षा अवधिसम्म एक अर्ब पनि खर्च भएन । सरकारले दिएको रकममध्य मेलम्चीले करिब ४८ लाख मात्रै खर्च गरेको छ ।
मेलम्ची आयोजनाको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८६ प्रतिशत रहेको छ ।