पत्रिका पढेर धारणा बनाउँछन कांग्रेस नेताहरु, भीम रावल बोलेपछि कांग्रेसको आँखा खुल्यो
कांग्रेस नेताहरुका बारेमा एउटा पुरानै टिप्पणी छ , ‘ कांग्रेसका नेताहरु अध्ययन गर्दैनन् । अन्टसन्ट बोल्छन्, गल्ति भए पछि गएर सच्याउँछन् । ’
पछिल्लो समय बिभिन्न राष्ट्रिय मुद्दामा कांग्रेसका नेताहरुको भूमिका र उनीहरुका अभिव्यक्तिलाई हेर्ने हो भने कांग्रेसलाई मुलुकमा के भैरहेको छ भन्ने पनि थाहा छैन । मुलुकमा बिखण्डनको चर्को स्वर गुञ्जिएर सरकारले पृथकतावादी सीके राउतसंग ११ बुँदे सम्झौता गरिसक्दा पनि कांग्रेस बेखबर देखियो ।
नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले आपराधिक समूह घोषणा गरेर प्रतिबन्ध लगायो, कांग्रेसको आधिकारिक धारणा छैन । कांग्रेसका नेताहरु सामान्य प्रतिक्रिया मात्र दिइरहेका छन् । अर्थात, भनौ उनीहरु प्रतिक्रियाको राजनीतिक गरिरहेका छन् ।
हुँदाहुँदा सरकार र स्वतन्त्र मधेश गठवन्धनबीच भएको सहमतिलाई कांग्रेस नेताहरुले हतारहतारमा स्वागत गरे । स्वागत गर्नेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि पर्छन् । अचम्म, स्वागत गरेको दुई दिन नबित्दै उनै देउवा, पौडेलसहित जिम्मेवार नेताहरु सोही सहमतिलाई ‘राष्ट्रघाती’ भन्न थालेका छन् ।
यो बिडम्बना हुनुमा कांग्रेस नेताहरुमा अध्ययन अनुसन्धानको कमी, सूचना संयन्त्र ध्वस्त हुनु, आपसमा समन्वय नहुनु तथा देश बिदेश भित्रको सम्र्पक सम्बन्ध केही नहुनु प्रष्ट हुन्छ ।
मुलुकको सबैभन्दा पुरानो गौरवमय इतिहास भएको पार्टीको हालत यस्तो छ । कांग्रेस नेता बिष्णु धितालका अनुसार कांग्रेसलाई मुलुकभित्र के भैरहेको छ ? कस्ता किसिमका खेल भैरहेका छन् ? अन्तर्राष्ट्रिय तत्वहरु कसरी घुसेका छन् ? आफूले के भूमिका निर्वाह गर्नुपर्ने हो ? लगायतका बिषयमा फिटिक्कै चिन्ता छैन ।
बिहान उठ्यो, पत्रिका हेर्यो । सोही बमोजिम धारणा बनायो, भाषण गर्यो । यही तालले गर्दा कांग्रेस कम्युनिष्टका एजेण्डामा हिंड्यो भनेर कांग्रेस भित्रै एकथरीले बर्षौदेखि फरक अभियान चलाइरहेका छन् ।
अहिले सभापति शेरबहादुर देउवा नै खत्तम भएको भन्दै एकथरीले ढोल पिटिरहेका छन् । तर, धिताल भन्छन्, ‘सभापतिलाई खुइल्याएर कांग्रेस बलियो हुँदैन, यो समय भनेको कांग्रेस एकीकृत भएर लोकतन्त्र सिध्याउन क्रियाशिल भएको सरकारबिरुद्ध लाग्नुपर्छ । ’
स्वतन्त्र मधेश गठवन्धनसंग भएको ११ बुँदे सहमतिका बारेमा अहिले पनि कांग्रेसका नेताहरुले गम्भीर अध्ययन नगरेको धितालको दाबी छ । नेकपा नेता भीम रावलले जब ११ बुँदेका केस्राकेस्रा केलाएर सार्वजनिक गरे त्यसपछि मात्रै कांग्रेस नेताहरुले चाल पाएको उनी बताउँछन् । ‘यो अल्छि र ठालु पाराले कांग्रेसले कहिलेसम्म चल्छ ?’ धिताल प्रश्न गर्छन् ।
पछिल्लो समय ५६ जिल्लाका सभापतिहरुले केन्द्रीय समितिको निर्णय उल्ट्याउन भनेर बिज्ञप्ती जारी गरेपनि अब त्यसलाई ठूलो मुद्दा बनाउन नहुने धितालको धारणा छ । उनी भन्छन्, ‘ महासमितिको सुझाव अनुसार नै केन्द्रीय समितिले बिधान संशोधन गर्नुपर्थ्र्यो, त्यो भएन, पुरानै प्रावधान राख्दा पनि केही बिग्रेको छैन । यसमा गलफत्ती गर्न जरुरी छैन । ’