स्वास्थ्य

कसरी गर्ने मोबाइलको सुरक्षित प्रयोग?

कसरी गर्ने मोबाइलको सुरक्षित प्रयोग?

काठमाडौं । मोबाइल फोनले मानिसको जीवनलाई सरल मात्रै बनाएको छैन, कतिपय अवस्थामा जोखिम पनि निम्त्याएको छ । मोबाइलले उत्पादन गर्ने रेडिएसनले मानवीय स्वास्थ्यमा असर गर्छ । त्यसो त कतिपय अवस्थामा मोबाइलले दुर्घटनासमेत निम्त्याउने गरेको छ । मोबाइलले निम्त्याउन सक्ने जोखिम र असरबाट जोगिन कस्ता उपाय अपनाउन सकिन्छ?

 

मोबाइल गोजीमा नबोक्ने
गोजीमा मोबाइल बोक्नु अधिकांशका लागि बाध्यता हुने गर्छ । यद्यपि, सकेसम्म गोजीमा फोन नबोक्दा राम्रो हुन्छ । फोन प्रयोग नभएका वेला पनि फोनले नजिकैको टावरमा कनेक्सनको प्रयास गरिरहेको हुन्छ । यस्तो वेला रेडिएसन उत्पादन हुन्छ । त्यसैले गोजीमा फोन राख्नु राम्रो होइन । 

 

सिरानीमुनि नराख्ने
सुतेको समयमा सिरानीमुनि फोन राख्दा दुर्घटनाको सम्भावना हुन्छ । कहिलेकाहीँ ब्याट्री तातेर वा अन्य प्राविधिक कारणले फोन पड्कन सक्छ । त्यसो त फोन प्रयोग नहुँदा पनि फोनसेटले टावरसँग कनेक्सन खोजिरहेको हुन्छ । यसले रेडिएसन उत्पादन गर्छ र शरीरलाई असर गर्न सक्छ । त्यसैले सुत्ने समयमा सिरानीमुनि फोन राख्नुहुन्न ।

 

हेडसेट प्रयोग गर्ने 
मोबाइलबाट फोन गर्दा हेडसेट प्रयोग गर्नुहोस् । फोनसेटलाई कानमा छुवाएर फोनमा कुराकानी गर्दा त्यसवेला उत्पन्न हुने रेडिएसनले तपाईंको दिमागलाई असर गर्न सक्छ । त्यसैले, वायरलेस वा वायरसहितको हेडसेट प्रयोग गर्दा उपयुक्त हुन्छ । त्यसो गर्दा कारणवश फोन पड्कियो भने पनि तपाईंलाई ठूलो असर गर्दैन ।

 

शरीरलाई छुवाएर मोबाइल नचलाउने 
फोनमा कुराकानी गर्दा सकेसम्म हातबाहेक शरीरका अंगलाई नछुवाउनुस् । फोन चलाउँदा नाटकीय रूपमा उत्पादन हुने रेडिएसनले तपाईंलाई आक्रमण गर्न सक्छ । त्यसैले थोरै भए पनि दूरीमा राखेर मोबाइल प्रयोग गर्नुहोस् । हेडसेट प्रयोग गरेर फोनमा कुराकानी भइरहेको वेलामा पनि मोबाइल सेटलाई काखमा नराख्नुहोस् ।

 

नेटवर्क राम्रो भएका बेला फोन गर्ने 
मोबाइलको नेटवर्क कमजोर भएका वेला जब सेटले बढी काम गर्नुपर्ने हुन्छ, त्यस्तो वेला अझ बढी रेडिएसन उत्पादन हुन्छ । यसर्थ, नेटवर्क कम भएको वेला फोनकल नगर्नुहोस् । सकेसम्म पूरा नेटवर्क हुँदा कल गरेको राम्रो ।

 

फोनभन्दा म्यासेज बढी गर्ने
फोनमा कल गर्नुभन्दा म्यासेज गर्नु राम्रो हुन्छ । किनकि, म्यासेजले भन्दा फोनकलले बढी रेडिएसन उत्पादन गर्छ । त्यसैले टेक्स्ट, इमेलमा बढी कुराकानी गर्नु राम्रो हुन्छ ।

मोबाइल सुरक्षित

विशेष