बिप्लव होइन ओली र प्रचण्ड दोषी, अब आन्दोलनको हुरीले यो व्यवस्था नै उडाउँछ
नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द गरेर सरकारलाई मुखतोड जवाफ दिएको छ । बिखण्डनको नारा बोकेका सीके राउतलाई सम्मान र राष्ट्रवादको अभियानसहित बिद्रोहमा उत्रिएका बिप्लवलाई सिध्याउने नीति लिएपछि आम जनताको सहानुभूतिपनि बिप्लवतर्फ गएको देखिन्छ ।
बिहीबार देशभर भएको बन्दमा पनि कसैले बिप्लवको बिरोध गरेको देखिएन । मानिसहरुले सास्ती भोगे तर राउत भन्दा बिप्लव नै ठीक भन्ने पनि राय राखे ।
बिप्लव नेतृत्वको नेकपासंग सहकार्यसंगै एकताको प्रयास गरिरहेका नेकपा क्रान्तिकारीका नेता एवम देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेल बिप्लवलाई आपराधिक समूह घोषणा गरी प्रतिबन्ध लगाउनु सरकारको फासिवाद चरित्र भएको बताउँछन् । दलाल पूँजीपतिहरुबाट संचालित यो सरकारले बिप्लवलाई मात्र होइन आफना बिरोधी सबैलाई सिध्याउने नीति लिएको उनको दाबी छ ।
बिप्लवको पार्टी स्पष्ट राजनीतिक लाइन र उद्देश्यसहित अघि बढेकाले उसंग राजनीतिक व्यवहार गर्नुपर्नेमा उल्टो प्रतिबन्ध लगाउनु सरकारको निकम्मापन भएको गजुरेलको भनाइ छ । गजुरेल भन्छन्, ‘ कानुन बिपरित काम भएको भए त्यसै अनुसार कारवाही अघि बढाए भयो नी, राजनीतिक पार्टीलाई अपराधिक भन्न मिल्छ ? ’
‘जहाँसम्म चन्दा उठाएको कुरा छ, त्यो त सबै दलहरुले उठाउँछन् । ओली, प्रचण्ड, बादल सबैले उठाए, अहिले पनि उठाइरहेका छन् । बिप्लवले जबरजस्ती गरी चन्दा उठाएका छैनन् । उनले मागे, कसैले दियो भने, त्यसमा के आपत्ति ?’ गजुरेलको तर्क छ ।
चन्द नेतृत्वको पार्टीसंग सहकार्य र एकताको प्रयास जारी रहेको र यो छिटै टुंगोमा पुग्नेमा आफू बिश्वस्त रहेको उनले बताए । बिप्लवको पार्टीलाई आतंककारी घोषणा गरेपनि आफूहरुको सहकार्य नरोकिने गजुरेल बताउँछन् ।
सरकार निकै क्रुर र तानाशाही ढंगले अघि बढेकाले बिप्लवको समूहलाई मात्र नभइ आफूहरुलाई पनि निशाना बनाउनसक्ने उनको आशंका छ । यो सरकार फासिवाद शैलीले अघि बढ्दै देशकै अस्तित्व नै मेट्ने हिसाबले अघि बढिरहेकाले यसलाई आन्दोलनबाटै तह लगाउनुपर्ने उनी बताउँछन् ।
मध्य चैतबाट आफनो पार्टीको नेतृत्वमा देशब्यापी आन्दोलन हुने र यसले सरकार ढाल्ने उनको बिश्वास छ । अहिलेको राजनीतिक व्यवस्थाबाट जनता आजित भैसकेकाले संघीय जनगणतन्त्र स्थापना नै आफूहरुको एकमात्र उद्देश्य रहेको उनले स्पष्ट पारे ।
‘आन्दोलनका दौरान सरकारले दमन गरे रगत बगाउन पनि तयार छौं । ’ गजुरेल बताउँछन् ।
गजुरेलका अनुसार मुलुकमा भारत, चीन, अमेरिका तथा पश्चिमा राष्ट्रहरुको दबदबा बढेकाबेला त्यसलाई छेक्नुपर्नेमा सरकार उल्टो उनीहरुकै दलाल बनेको छ । सबै राजनीतिक शक्तिहरु नेकपासंग रुष्ट हुँदै गएकाले सरकारबिरुद्धको आन्दोलनमा सबै शक्तिबीच सहकार्य हुनसक्ने उनले बताए ।