कभर स्टोरी

जसले ज्ञानेन्द्र, गिरिजा, मनमोहन, मदन, कीर्तिनिधि र रामवरणका सिलाए दौरा सुरुवाल (भिडियोसहित)

जसले ज्ञानेन्द्र, गिरिजा, मनमोहन, मदन, कीर्तिनिधि र रामवरणका सिलाए दौरा सुरुवाल (भिडियोसहित)

लुगा सिलाउने कलको पांग्रासँगै उनको जीवन घुमेको पनि ६ दशक नाघेछ । पुर्ख्यौली थातथलो काठमाडौं । अधिकांश सन्तानको जीवन आरम्भ साउँ अक्षर घोकाइबाट शुरु हुन्छ । तर, यी पात्रले स्कुलको अनुहार नै देखेनन् । क, ख, एबिसिडीसंँग संगतै भएन ।  बरू १०–११ वर्षको बालवयमै पिताजीको लुगा सिलाउने बिँडो थपक्कै समाए । उनका पिताजी महेश्वरबहादुर श्रेष्ठले ६ मध्ये बाँकी पाँच छोरालाई स्कुल पठाए । आफू अस्ताउँदो सूर्य हुँदा, सन्तान उदाउँदो सूर्य भएको हेर्ने चाहना राखे ।

तर, किन किन यिनलाई बाह्रखरी अक्षरले पटक्कै तानेन । अक्षर छिचोल्ने उमेरमा त चिटिक्क मिलेका लुगा सिलाउने कालिगढ बनिसकेका थिए । कपडाको कोलाजमा धागोको रफू भर्ने सम्मोहन त्याग्न नसकेकै कारण आज उनी सीप साधकमा अनुवाद भए । ७४ टेकेका रामकृष्ण श्रेष्ठ कर्मका ती पुजारी हुन, जसले सिलाएको दौरा सुरुवाल आङमा नहाल्ने थोरै उच्च नेता तथा प्रशासक छन् । राजादेखि रंकसम्म उनका उपभोक्ता हुन् । 


पूर्वराजा ज्ञानेन्द्र, अधिराजकुमार धीरेन्द्र, युवराज पारसदेखि नवयुवराज हृदयन्द्रसम्म दरबारका तीनपुस्ताको दौरासुरुवाल उनले सिलाएका छन् । ज्ञानेन्द्र शाह राजा भएका बखत उनलाई दरबार बोलाइयो । जिउमा फिता लगाएर राजाको शरीर नापे । यसरी नाप्दा राजाको पदीय अदपले कत्ति पनि छोएन । अरू सामान्य ग्राहकजस्तै लाग्यो उनलाई । जब लुगा तयार गरेर बुझाउन उनी दरबार गए, राजाको प्रतिक्रिया थियो– 'नाइस' । मुन्टो हल्लाएर त फर्किए, तर 'नाइस' भनेको के हो ? बुझ्न सकेनन । घरमा छोरीले नाइस भनेको  राम्रो हो भन्ने अर्थ्याएपछि बल्ल उनले सन्तोषको सास फेरे । 

रामकृष्ण राजा मात्र होइन, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवको समेत दौरा सुरुवाल सिलाउने रुचिका पात्र हुन । उनैले सिलाएको दौरा सुरुवाल लगाएर यादवले राष्ट्रपतिको सपथ लिएका थिए । यो समय यसरी पनि स्मरणीय छ कि एकदिनमै दौरा सुरुवाल सिलाएर बुझाएका थिए ।

 

रामकृष्णले सिलाएको लुगा दौरा सुरुवाल कसका लागि प्रिय भयो भन्दा पनि कसका लागि भएन भन्ने हो । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको दौरा सुरुवाल सिलाएर उनले यो यात्राको पहिलो आरम्भ गरेका थिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासको पहिलो टेकाई यही थियो । पञ्चायतका पिलर पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टदेखि गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समेत मन जित्न सफल भए । उनको विश्लेषण छ– ‘गिरिजाप्रसाद मन जित्न गाह्रो, मन जितेपछि शरीरको मासु काटेर दिन नहिच्किचाउने व्यक्ति हुन् ।’ 

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले राजासँग भेटमा जाँदा यिनैले सिलाएको दौरा सुरुवाल पहिरिएका थिए । दौरा सुरुवाल तयार गरेर दिएपछि मात्र मदन भण्डारी तिनै हुन भन्ने हेक्का भयो । कम्युनिष्टका प्रथम प्रधानमन्त्री मनमोहन अधिकारीको शरीरमा पनि रामकृष्णकै सीप जच्यो । ०४८ सालमा पहिलोपल्ट चुनाव जितेर आएका मनोहन पनि रामकृष्णकै असली ग्राहक बने । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँंग उनको हिमचिम पुरानै हो । गृहमन्त्री हुँदादेखि नै देउवाको शरीरमा रामकृष्णले सिलाएको दौरा सुरुवाल परेको हो । चौथोपल्ट प्रधानमन्त्रीको सपथमा समेत देउवा रामकृष्णले सिलाएको दौरा सुरुवालमा सजिएका थिए। टिभीमा यस्तो दृश्य देख्दा रामकृष्णलाई पनि आनन्द लाग्दो रहेछ । 

अघिल्लो सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मात्र हैन, उनका पिताजी पनि वर्षौंदेखि रामकृष्णका विश्वासी रहेछन् । नेताहरू रामचन्द्र पौडेल, डा.रामशरण महत, बालकृष्ण खाँड, विक्रम पाण्डे, प्रेमबहादुर सिंहको शरीरका नापमा अहिले पनि दौरा सुरुवाल तयार भइरहेका छन् । उनको कामबाट खुसी भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेले त लुगा सिलाउने मेसिनसमेत उपहार दिएका छन् । यो सामग्री तयार पार्ने क्रममा हामी जाँदा उनी धमाधम एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको दौरा सुरुवाल तयार गरिरहेका थिए । 

शंकरप्रसाद कोइरालाले शाखा अधिकृत, सचिव हुँदै मन्त्रीसम्म पुग्दा पनि  सीपको माया गरिरहेका छन् । प्रशासनतर्फ मुख्यसचिव सोमलाल सुवेदी, पूर्वमुख्यसचिव विमलप्रसाद कोइरालाका दौरा सुरुवालमा पनि रामकृष्णकै सीप लुकेको छ । सचिव, सहसचिव र त्यसमुनिका पदाधिकारीको त नाम नामेसी उल्लेख गरेर साध्य छैन् । पूर्वआईजीपी अच्युतकृष्ण खरेललाई अहिलेसम्म उनकै सीपले तान्छ । श्रेष्ठले सिलाएको दौरा सुरुवालले किन प्रसिद्धि पायो त ? अधिराजकुमार धीरेन्द्रलाई दौराको फेरो खुम्चिएको मन नपर्ने रहेछ । यसको उपचार खोज्न उनले आफ्नै अक्कल लगाएर बाक्लो कपडा प्रयोग गरे । यो पनि एउटा कारण हुनसक्ने भन्दै रामृष्ण दावी गर्छन्– 'दौरामा बक्रम प्रयोग गर्ने म पहिलो व्यक्ति हुँ ।' 

वीरेन्द्र राजाका ज्वाईं गोरखशम्शेर राणा, व्यवसायी प्रभाकरशम्शेर राणा, खेलकुद क्षेत्रबाट पञ्चायत राजनीतिमा प्रभाव जमाएका शरदचन्द्र शाहलाई पनि रामकृष्णको सीपले खुसी बनायो । ग्राहकले भनेको नभएर आफूले दिएको समयमा काम सक्ने उनको बानी छ ।  कतिपय ठूला मानिस छिट्टै काम सक्न दबाब दिन्छन् । भाँचिन जान्ने, दोब्रिन नजान्ने रामकृष्ण टसको मस नभएपछि मन अमिल्याएर गएका पनि आफैँ फर्किन्छन् । यो पंक्तिमा कलाकार मदनकृष्ण श्रेष्ठ चाहिँ अपवाद ठहरिएका छन् । 

मैतीदेवी चोकबाट पैदल ५ मिनेटको दूरी घट्टेकुलोतर्फ दक्षिण पश्चिम दिशामा रामकृष्णको चारतले घर छ । देउता विश्वासिला भए भक्तको खाँचो हुँदैन भन्ने पुष्टि घरको तेस्रो तलाको एउटा कोठामा बसेका रामकृष्ण दम्पत्तिको सीपले पुष्टि गर्छ । देशका धेरै ठूलाबडा उनकोमा आउँछन् । धेरैको त सम्झना पनि छैन । अग्नि साक्षी राखी जग्गेको सात फेरोमा जन्म मरणको कसम खाने जोडी त धेरै भेटिएलान् । तर, रामकृष्ण त्यो भाग्यमानी पुरुष हुन्, जसले रातबिहान कर्ममा छाया बनेर उपस्थित हुने सहधर्मिणीका रूपमा विष्णुमाया श्रेष्ठलाई पाएका छन् । विष्णुमाया सिर्जनाभित्रकी ती हिस्सा हुन्, जो पतिको आधा कामलाई हातको सीपले विट मार्छिन् । 

परिवारको दालभात, डुकू यही पेसाबाट चलेको छ । न पसल, न साइनबोर्ड तर तीन तलामाथि पनि कामको खाँचो छैन । ठूलो सपना पनि छैन, न त गुनासो नै छ । प्रत्येक दिन पशुपति दर्शन गरेर ६ बजे घर फर्किएपछि बूढाबूढी एकसाथ कर्ममा लिन हुन्छन् । सात छोरी छन् । सबैको घरजम भइसकेको छ । ज्वाईं नै छोरा समान भएकाले ती सन्तान 'लक्की सेभेन' सावित भएका छन् । नातिको अनुहारमा भविष्य हेरेर रमाउनु यिनीहरूको नित्यकर्म हो । छोरा नभएकोमा पछुतो छैन । रामकृष्णको सेखपछि सीप पुस्तान्तरण नहुने लगभग निश्चित जस्तै छ । यसमा चित्त दुखाई छैन । बरू आफूले सिलाएको दौरा सुरुवाल लगाएका नेताले जनहितमा काम नगरेकोमा रामकृष्णको चित्त फाटेको छ । 

सबै ठूलाबडासँंग समदूरीको सम्बन्ध राखेका उनले व्यक्तिगत फाइदाका लागि कसैसंँग खुसामद गरेका छैनन् । बरू बगिरहने नदीजस्तै कर्मशील जीवनलाई निरन्तर अगाडि बढाइरहेका छन् । रामकृष्ण यस्ता नदी हुन्, जहाँ लेउ लाग्ने कल्पनासम्म पनि गर्न सकिदैन । 

 

ज्ञानेन्द्र, गिरिजा, मनमोहन, मदन, कीर्तिनिधि र रामवरण कालिगढ रामकृष्ण श्रेष्ठ

विशेष