जनताका छोरालाई ज्यानकै डर, राजाका छोरा निष्फिक्री
काठमाडौंमा आफ्नो सुरक्षामा खतरा उत्पन्न भएको भनेर जनताबाट निर्वाचित एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थर्रथर्र कामिरहँदा जनकपुरमा भिडको बीचबाट पूर्वराजा ज्ञानेन्द्रले ‘आफू जनताबीचमै सुरक्षित छु’ भन्ने सन्देश दिन खोजे । प्रचण्डको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या ५९ पुर्याइएको छ । पूर्वराजालाई भने सेनाको सुरक्षा खोसेर सरकारले धेरै अघि नै सशस्त्रको जिम्मा लगाएको छ ।
राजाको एक झलक पाउँदा मात्रै पनि अहोभाग्य ठानिने देशमा आज तिनै ‘राजा’ जनताको भिडमा निष्फिक्री हिँडिरहेका छन् । जनताबाटै निर्वाचित भएका प्रचण्ड आज खुलेआम हिँड्न पनि डराउनु पर्ने अवस्थामा पुगेका छन् । जनताकै छोरी, निर्वाचित नेतृ एवं राष्ट्रपति विद्यादेवी भण्डारी हिँड्ने बाटोमा त अरु ‘प्रजा’ निषेधित सरह छन् ।
बेलायत, नर्वे, स्विट्जरल्याण्ड, बेल्जियमलगायत युरोपका देशमा राजसंस्था अझै छ । त्यहाँका राजकुमारहरुले सडकमा साइकल चलाइरहेको भिडियो देख्न पाइन्छ । क्यानडा, अष्ट्रेलियाका प्रधानमन्त्रीले मेट्रोमा यात्रा गरेको, जनतासँग सेल्फीलिँदै गरेको दृश्यले एकसाथ धेरै सन्देश प्रवाह गर्छ ।
निर्वाचनको बेला जनताको घरदैलोमा पुग्ने, गाई दुहुने, खेतमा धान काट्ने, जनतासँगै बसेर खाना खानेहरुले सिंहदरबारको टिकट पाउनेबित्तिकै तिनीहरु अलौकिक हुन पुग्छन् । उनीहरुका बोली ‘महावाणी’, उनीहरु हिँडेको ‘सवारी’, उनीहरुको पिकनिक पनि ‘औपचारिक भ्रमण’ हुन पुग्छ । प्रजाले खाने भात हुन्छ, उनीहरुको ‘भुजा’ बन्न पुग्छ । जनताले खाने ‘बिस्कुट’ उनीहरुले खाने ‘बिस्किट’ वा ‘कुकिज’ बन्न पुग्छ ।
गोल्डस्टार जुत्ता लगाएर पाइन्टको पछाडिको गोजीमा दाँत माज्ने ब्रस बोकेर हिँडेकाहरुलाई आज पुराना श्री ३ का खलकसँग वैवाहिक सम्बन्ध गाँस्न पाउँदा आफूलाई अरु रैती भन्दा उन्नत ठान्ने अवस्था सिर्जना भएको छ । सिंहदरबारको टिकट र जनताको ठेकेदारीले गलेको काँधको उपचार सिंगापुर, थाइल्याण्ड र अमेरिकामा हुने गर्छ । जाजरकोटमा सिटामोल नपाएर जनता मर्छन्, नेताका बानी नपरेको टाउको पजेरो र टोयटामा फिट गरिएको एअर कन्डिसनको हावाले दुख्छ ।
‘शोकलाई शक्तिमा बदल्ने’ बानी रुपान्तरित भएर अहिले ‘शौखलाई शौकतमा रुपान्तरण’ गर्नुपर्छ भन्ने मान्यता विकास भएको छ । रामायणका मुख्य खलनायक रावणले रामसँग पराजित हुनुपर्ने कुनै कारण थिएन । मृत्युअघि रावणले रामलाई आफू पराजित हुनुको कारण सोध्छ । रामले ‘अहंकारीलाई कुनै शस्त्रले मार्नै पर्दैन, ऊ भित्रको अहंकारले नै उसलाई समाप्त पार्छ’ भन्छन् । सुनको लंका, प्राइभेट विमान, सुरा र सुन्दरी वा आणविक हतियार के थिएन र रावणसँग ? अल्वर्ट आइन्स्टाइन जस्ता भाई कुम्भकर्ण (कुम्भकर्णलाई रामायणकालका महान वैज्ञानिक पनि मानिन्छ), इन्द्र जित्ने छोरा मेघनाद थिए रावणसँग । हाम्रा देवकोटा जत्ति कै प्रतिभाशाली रावण आफैं थियो । कला, साहित्य, संगीतमा रावण पारंगत थियो । तर अर्काकी श्रीमतीमा आँखा लगाउँदा रावणको सर्वनाश भयो । उसको अहंकार र दूराचारले उनकै भाई तथा कुलद्रोही विभिषणले राज्य पाए ।
कमल थापाको अर्तीबुद्धिमा लाग्दा राजा ज्ञानेन्दको गद्दी गयो । आज राजा ज्ञानेन्द्र जनताको बीचमा छन् भने जनताका नेता हुँ भन्नेहरु सुरक्षाकर्मीको घेरामा बसेर ‘मलाई मारेर के पाउँछौं ? गणतन्त्र जोगिन्छ ?’ भन्दै मनभित्रको ‘टेरर’लाई राजनीतिसँग जोडिरहेका छन् ।
जनयुद्धकालमा तोर्पे र काइते कुरालाई पनि पुष्टि गर्नु पर्यो भने त्यो विषयको अगाडि ‘वैज्ञानिक’ भन्ने शब्द जोडे पुग्थ्यो । यतिबेला केपी ओलीको र प्रचण्डको आलोचकहरुलाई ‘गणतन्त्रविरोधी’को ट्याग लाग्छ । इसाईहरुले पानी छम्केर हिन्दु, मुसलमानजति सबैलाई इसाईधर्मावलम्वी बनाउँछन् ।
यसैगरी पानी छम्केको भरमा इसाई भएको एउटाले शुक्रबारको दिन कुखुरालाई पनि पानी छम्केर साग बनाएछ, अनि पकाएर खाएछ । जनताको भिडमा रहेका पूर्वराजा देख्दा पक्कै पनि त्यो गणतन्त्रविरोधी भिड नै मानिन्छ । वर्तमान व्यवस्थाप्रतिको जनताको असन्तुष्टि किमार्थ वर्तमान सत्ताले मान्दैन । हिजोसम्म राजाको पाउमा आफ्नो भाग्य देख्नेहरु अहिले ‘पानी छम्केका’ गणतन्त्रवादी भएका छन् ।
मदन भण्डारीको दुर्घटनामा अमर लामाको संलग्नता पुष्टि हुने कुनै प्रमाण भेटिएन । तिनै अमर लामालाई माओवादीले नै सिध्याए । अमर लामा सम्भवतः होलसेलका शहीद होलान् यो देशका । अरिंगाल शब्द हालै आयो । तर अरिंगाले प्रवृत्ति पुरानै हो । त्यो अरिंगाले प्रवृत्तिले अमर लामालाई मदन भण्डारीको हत्यारकै कोटीमा राखिदियो । पूर्वराजा ज्ञानेन्द्रलाई उनकै दाजुको वंश नाशकको रुपमा अथ्र्यायो ।
देख्नेजति सबैले हत्याकाण्ड दीपेन्द्रले मच्चाए भन्छन् । सुन्नेलाई त्यो पत्यार लाग्दैन । हत्याकाण्डको वास्तविक छानविन र साँचो कुरा जनताले पत्याउने तवरले बाहिर आइदिएको भए कुरा अर्कैै हुन सक्थ्यो । तर दरबारका चाटुकारहरुले ज्ञानेन्द्रलाई ‘सरकार सदगद, काजकिरिया फटाफट सक्नु पर्छ । मामिला सल्टाएर शासन चलाइ हाल्नुपर्छ’ भनेर सुझाए । ‘हो मा हो ’ मिलाउँदा राजसंस्था ‘गो मा गो’ भयो । न अमर लामाको घटनामा संलग्नता पुष्टि भयो, न राजा ज्ञानेन्द्रको घटनामा संलग्नता पुष्टि भएको छ । दरबार हत्याकाण्डको फेरि छानविन गर्छु भन्थे प्रचण्डले, १७ हजारको छानविन भयो भने चाहिँ के गर्ने ? भन्ने प्रश्नले उनलाई रसातलमा पुर्याइदियो ।
–ध्रुव रिजाल