Technology ओटोमोबाइल

विजुली बजारको आर्क ब्रिज संचालनमा 

विजुली बजारको आर्क ब्रिज संचालनमा 

काठमाडौं । बानेश्वर–माईतिघर सडक खण्ड स्थित बिजुलीबजार धोबिखोलामाथि निर्माण भएको आर्क ब्रिज संचालनमा आएको छ । करिब ५ वर्ष लगाएयर निर्माण कार्य सम्पन्न गरिएको सो ब्रिज परिक्षणका लागि खुल्ला गरिएको हो । 

 

अन्तराष्ट्रिय मोडलमा निर्माण गरिएको उक्त ब्रिजको ९५ प्रतिशत भन्दा बढी काम सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर विश्व बिजय लाल श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार अब ब्रिजको रङरोगन, बत्ति जडान लगायतका फिनिसिङको काम मात्र बाँकी छ ।

 

पिच गर्नु अघि एप्रोच रोड र पुलको बीच भाग सम्याउन भन्दै निर्माण कम्पनीले सवारी साधनको आवतजावत खुला गरेको छ ।

 

निर्माण सकिएपछि निश्चित अवधि तोकेर ब्रिज डेक लोड टेस्टिङ (बीडीएल) अर्थात पुलको भारबहन क्षमता जाँच गरिन्छ । त्यसपश्चात मात्र सार्वजनिक प्रयोगमा खुला गरिन्छ । यसका लागि अझै केही महिना समय लाग्ने उनको भनाइ छ ।

 

पछिल्लो समय विश्वभर रुचाउन थालिएको नेटवर्क आर्क प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्धनको पक्षले पनि उत्कृष्ट हुने इञ्जीनियर श्रेष्ठ बताउँछन् ।

 

यो पुल सञ्चालनमा आएपछि बानेश्वर–माइतीघर सडकखण्ड आकर्षक देखिनेछ भने सर्भिस लेन (मुल सडकको दायाँ(बायाँको लेन) बाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने बाध्यता हट्नेछ । बानेश्वर–तीनकुने सडकखण्डका सर्भिस लेनहरु नयाँ पुलसँगै जोडिनेछन् ।

 

२०७१ पुस १३ मा ठेक्का दिइएको यो ब्रिज २०७४ पुस १३ मानै समायवधि सकिएको थियो । तर ठेक्का सम्झौता अनुसार पुल निर्माणको काम समयावधि भित्रै नसकिने भएपछि थप एक वर्ष म्याद थप गरिएको थियो । जेई कन्स्ट्रक्सनले १३ करोड रुपैयाँ लागतमा निर्माण ठेक्का पाएको यो पुलको लम्बाई ५१ दशमलब ४५ मिटरको छ ।

 

के हो नेटवर्क आर्क ब्रिज ?

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हो । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै आकर्षक देखिन्छ । 

आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीचबीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिन्छ ।

माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ । आर्कहरुलाई पनि क्रस ढलान गरेर जोडिन्छ । र केलबहरु प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ ।

आर्क ब्रिज

विशेष