‘फेरि भेट्ने भनेका थियौं, यस्तो अवस्थामा पो भेट भयोे’ (भिडियोसहित)
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनालाई श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
श्रद्धाञ्जलिका लागि मृतकहरुको शव टुँडीखेलमा राखिएको थियो । बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि विशिष्ट व्यक्तिहरुदेखि सर्वसाधारणको लाम लागेको थियो ।
मृतकहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, एवं सबैजसो मन्त्रीहरु टुँडीखेल पुगेका थिए ।
पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत विशिष्ट व्यक्तिहरु अन्तिम श्रद्धाञ्जलिका लागि पुगेका थिए ।
मृतकहरुको शवमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाएका थिए भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री अधिकारीको शवमा पार्टीको झण्डा ओढाएका थिए ।
बाबुरामले भने, ‘मैले आशा गरेका युवा नेता’
श्रद्धाञ्जलि सभामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रवीन्द्र अधिकारी आशालाग्दा युवा नेता रहेको प्रतिक्रिया थिए । उनले आफू मन्त्री अधिकारीसँग व्यक्तिगत रुपमा पनि सम्पर्कमा रहेको उल्लेख गरे । राष्ट्रले नै ठूलो सम्भावना गुमाएको उनको भनाइ थियो ।
होनाहार प्रतिभा गुमायौं
पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुर्घटनामा ज्यान गुमाउने सातै जना राष्ट्रका होनाहार व्यक्तिहर भएको बताएका छन् । मृतकहरुलाई श्रद्धाञ्जलि अर्पण गर्दैै खनालले यो दुर्घटनाबाट मुलुकले अपूरणीय क्षति व्यहोरेको बताए ।
सधै लोकप्रिय
पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले रवीन्द्र अधिकारीसँग पहिलो संविधानसभामा पनि आफूले काम गरेको र विद्यार्थी राजनीतिदेखि नै उनी अत्यन्त लोकप्रिय नेताको रुपमा चिनिएको उल्लेख गरे । अध्यक्ष ढकालले आशालाग्दा युवा नेता गुमाउनु पर्दा आफू मर्माहत भएको उल्लेख गरे ।
सहकर्मी गुमायौं
भौतिक योजना एवं यातायात मन्त्री रघुवीर महासेठले आफ्ना एक सहयात्री, सहयोद्धा गुमाउनु पर्दा आफू अत्यन्त दुःखी भएको बताएका छन् । उनले हवाई यात्रालाई थप सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।
‘१५ दिनपछि भेट्ने भनेका थियौं, भेट त भयो तर यो अवस्थामा’
प्रदेश नम्बर ३ का सांसद एवं पूर्वमन्त्री केशव स्थापितले मन्त्री अधिकारीसँग मिलेर पर्यटन विकासका धेरै विषयमा छलफल भइरहेको बेला अप्रत्याशित घटना भएको प्रतिक्रिया दिएका छन् । १५ दिनपछि छलफल गर्ने गरी छुुटेका थियौं । उनले भने, ‘१५ दिनपछि भेट त भयो तर यो अवस्थामा ।’
दुर्घटनामा आङछिरिङ शेर्पा, धु्रवदास भोछिभोय, युवराज दाहाल, वीरेन्द्र प्रसाद श्रेष्ठ र अर्जुन घिमिरेको ज्यान गएको थियो ।