पशुपतिअगाडिको बागमतीमा कलकल पानी बगाउँछौ (भिडियोसहित)
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपतिनाथको नाममा भएको भूमिमा इसाईहरुको चर्च रहेको खुलासा गरेका छन् । नेपालआजसँगको कुराकानीका क्रममा उनले यस्तो रहस्य सार्बजनिक गरेका हुन् । तर त्यो चर्च कहाँ छ भन्नेबारे आफूलाई जानकारी नरहेको उनले बताए । चर्च हटाउन आफू एक्लैको प्रयासले नहुने भन्दै उनले सर्वपक्षीय सहयोगको अपेक्षा गरेका छन् । प्रस्तुत छ, डा. ढकालसँग गरिएको कुराकानीको मुख्य अंशहरुः
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष केमा व्यस्त छ ?
पशुपतिको समग्र विकास, भावी सन्ततीलाई पशुपतिनाथको गरिमा र महत्व कायम राख्ने गरी गुरुयोजना तयार गरिरहेका छांै । त्यही क्रममा अरु विविध पाटो पनि जोडेका छौं । नयाँ विकासका काम पनि गुरुयोजनालाई केन्द्रमा राखेर गरेका छौं । भोलि गुरुयोजना स्वीकृत हुँदा पनि फरक नपर्नेगरी काम गरिरहेका छौं । अहिले हाम्रो ध्यान पशुपति क्षेत्रमा पर्ने बागमती नदी सफाईमा पनि काम गरिरहेका छौं । कम्तिमा पनि गुह्येश्वरीदेखि तिलगंगासम्म कञ्चन पानी बगाउने योजनामा छौं ।
तपाईहरुले भौतिक विकासको काम गर्दा सम्पदा मासेको आरोप सम्पदाप्रेमीले लगाएका छन् । उनीहरुको गुनासो चाहिँ के के हो ?
– हामीले जति पनि सांस्कृति, धार्मिक धरोहरको पुनर्निर्माण गर्दा सम्पदा जुन स्वरुपमा हुनु पर्ने हो, त्यही अनुरुप निर्माण गरिरहेका छौं । केही मार्गको कुरामा विवाद आएको हो । परिक्रमा पथ बनाउन लागिरहेका छौं । विश्वरुप मन्दिरसम्म पुग्ने सडक बनाउने कुरामा सम्पदाप्रेमीहरुको गुनासो थियो । उहाँहरुको चित्त बुझ्ने गरी हामीले गुनासो सम्बोधन गरिसकेका छौं । तिलगंगा–ताम्रगंगा सडकको विषयमा पनि असन्तुष्टि थियो । केही धर्मावलम्वीले चिहानको रुपमा प्रयोग गरेको विषयमा पनि हामीले सम्बोधन गरेका छौं । तिलगंगा–ताम्रगंगा सडक बन्द गर्ने तयारीमा छौं । जो पनि जहाँबाट पनि प्रवेश गर्ने अवस्था बन्द गर्न घेराबेरा लगाउँछौं । वन मास्ने, जंगल मास्ने, सम्पदा मास्ने काम गरेका छैनौं । स्तरोन्नती गर्ने प्रयास गरेका छौं ।
कोषसँग काठमाडौं महानगरपालिका असन्तुष्ट, पुरातत्व विभाग असन्तुष्ट, सम्पदाप्रेमी, स्थानीय जनप्रतिनिधि, वडामात्रै नभएर पत्रकार पनि जंगिएको देखियो । किन सबै कोषसँग असन्तुष्ट ?
यो विषयमा हामीले सबैको आवाजलाई लिएका नै छौं । कोष राम्रो होस भन्ने भावनालाई सम्मान गरेका छौं । अरु कुनै कुरामा चित्त नबुझेको कुरामा पनि एकैपटक प्रहार गरौं भनेर पनि त्यस्ता असन्तुष्टि आउने रहेछन् । त्यस्ता कुरालाई हामीले मत्थर गरेका छौं । मत्थर गर्ने भनेको सम्बोधन गर्ने हो । हाम्रो दायरा र मान्यतामा रहेर सम्बोधन हुन्छ ।
पशुपति क्षेत्र श्रीयन्त्रको संरचना बनेकोछ, यहाँ नौ ढोका, नौ चोक, नौ डबली छन भन्ने छ । त्यो आम मानिसले देख्न पाउँदैनन् । त्यो के अब देख्न पाउलान आम मानिसले ?
–हामीले विज्ञहरुसँग यसबारे छलफल गरेका छौं । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागसँग पनि छलफल गरेका छौं । मूर्तअमूर्त सम्पदाको अध्ययन रिपोर्ट पनि आएको छ । यसको खाका चाँडै निकाल्ने छौं ।
सरसफाईमा तपाईंले पहिले प्रयास गर्नुभयो, तर अहिले उस्तै छ हालत किन ?
सरसफाईमा धेरै राम्रो छ अवस्था । ब्रम्हनालबाट निस्किएका पदार्थलाई गन्हाएको भन्नु हुँदैन । दूध, दही, मह चढाएको नै बागमतीमा जान्छ । त्यो पञ्चामृतका रुपमा कहलिन्छ । मानिस जीवनको अन्तिम अवस्थामा पुग्दा ल्याउने पनि ब्रम्हनालमै हो । गुहे्श्वरीदेखि तीलगंगासम्म कञ्चन पानी बगोस भनेर हामीले नयाँ कार्यक्रम पनि ल्याउँदै छौं । फोहोरलाई नष्ट गर्ने र त्यसलाई पानीमा रुपान्तरण गर्ने ब्याक्टेरियामा आधारित प्रोजेक्ट गुहे्श्वरीमा राख्दै छौं । जसबाट यस क्षेत्रमा कञ्चन पानी बग्ने परिकल्पना गर्न सकिन्छ । पशुपति क्षेत्रमा पर्ने बागमतीमा ढल नमिसाइदिने हो भने पनि पानी स्वतः सफा हुन्छ ।
यसअघि पनि धेरैवटा कार्यक्रम पानी सफा बनाउने भनेर ल्याइयो । पैसा र समयको मात्रै बर्बादी भयो । अहिले ल्याउन लाग्नु भएको प्लान्ट पनि कतै त्यस्तै त होइन ?
हामी प्रयोगात्मक रुपमा यो प्लान्ट प्रयोग गर्न खोजिरहेका छौं ।अहिलेको प्रविधि प्रयासस्वरुप हुन लागेको हो । मूलतः ढलमुक्त बनाउन सकियो भने धेरै ठूलो काम हुन्छ ।
विश्व सम्पदा सूचीमा परेको पशुपतिनाथमा सम्पदा जोगाउनु भनेर पटक पटक सर्वोच्च अदालतले आदेश दिनु पर्ने अवस्था कसरी आयो ?
अदालतको आदेशलाई हामीले पालना गरेका छौं । अदालतले पहिलो आदेश तीलगंगा–ताम्रगंगा सडक बन्द गर्नू भन्ने आदेश थियो । त्यो हामीले सम्पन्न गर्यौं । दोस्रोपटक पदमार्गमा कंक्रिट नलगाउनू भन्ने आदेशलाई पनि पालना गरेका छौं । सुझावहरुलाई पनि मध्येनजर गरेर काम गरिहेका छौं । भौतिक र अभौतिक सम्पदाहरुको संरक्षणका लागि हामी प्रयासरत छौं ।
पशुपति क्षेत्र वा पशुपतिनाथको नाममा रहेको जमिनमै चर्च स्थापना गरिएको छ भन्ने कुरा सुनिन्छ । के हो सत्य ?
मैले पनि यो कुरा सुनेको हो । २६४ हेक्टर जमिनमा पशुपति क्षेत्र छ । त्यो क्षेत्रमा रहेका मोहीले आफ्नो भागमा परेको जमिनमा अर्को आस्था हुनेलाई जमिन दिएको भन्ने सुनिएको हो । त्यो चर्च कहाँ छ, मैले देखेको छैन । त्यो चर्चलाई म एक्लैले वा पशुपति क्षेत्र विकास कोषले मात्रै हटाउन सक्दैन । यसमा सबैको सहयोग चाहिन्छ ।
पशुपतिनाथको जमिन वा सम्पत्ति धेरै छ । तर त्यसको संरक्षण भएन । कति जग्गा जमिनको लगतसमेत छैन भन्ने सुनिन्छ । वास्तविकता के हो ?
हामीले यो कुरालाई वास्तविक थाहा पाउने उद्देश्यले एक समिति गठन गरेका छौं । त्यो समितिले पशुपतिनाथको जग्गा जमिन खोजेर पत्ता लगाउने काम गरेको छ । उसले रिपोर्ट पनि बुझाइसकेको छ । त्यो चाँडै सार्वजनिक गर्ने छौं । जति पनि सम्पत्ति छ, त्यो पारदर्शी तवरले बाहिर ल्याउँछौं । पशुपतिको जमिनमा मोही कायम गराउने प्रयास पनि प्रशस्तै भएको छ । त्यो रोक्ने प्रयास गरिरहेका छौं ।
पहुँच हुनेको गाडी मन्दिरको ढोकैसम्म पुग्ने, नहुने वृद्ध अशक्त वनकालीबाटै पैदल हिँड्नु पर्ने अवस्था छ । किन यस्तो ?
हामीले स्थानीयका लागि पासको व्यवस्था गरेका छौं । पास हुनेले त्यो बाटो भएर हिँडन पाउँछन् मोटर लिएर पनि । अरुका लागि समान नियम छ । अशक्त र वृद्धवृद्धाका लागि वनकालीको मैदान देखि नै विद्युतीय सवारीको व्यवस्था गरेका छौं । हामीले गत वर्ष नै यो क्षेत्रलाई सवारीमुक्त क्षेत्र घोषणा गरेका छौं ।
एक औपचारिक कार्यक्रम नै गरेर मगन्तेमुक्त क्षेत्र घोषणा गर्नुभयो । तर अहिले पशुपति क्षेत्रमा मगन्ते देखिन्छन् । किन ?
हामीले ३ सय भन्दा बढी सहयोगापेक्षीहरुलाई पुनस्र्थापना गरेका थियौं । एक हिसाबले भन्ने हो भने हामीले पशुपतिनाथलाई मगन्ते मुक्त नै बनाएको हो । यो क्षेत्रमा विभिन्न चाडपर्वमा अन्यत्रका सहयोगापेक्षी आउँदा रहेछन् । हामी कसैलाई पनि हटाउने वा धपाउने गर्दैनौं । पेशेवर माग्नेहरुलाई निरुत्साहित गर्ने र बास्तविक बेसहाराहरुलाई सहारा दिने काम गर्छौंं । अहिले पनि मानिसहरु सडकमा आउने घरबारविहीन हुने रोकिनेवाला छैन । कहिँ कतै जाने ठाउँ नभएकाहरुले आउने भनेको फेरि पशुपतिनाथ नै रहेछ ।
पशुपति क्षेत्र प्रवेश गर्दैगर्दा कतै निर्माण सामाग्रीको थुप्रो, कतै अव्यवस्थित पार्किङ, धुलो बिग्रको सडकले इम्प्रेसन खराब पर्छ । यो स्थिति ठीक हुन कति समय लाग्छ ?
भूकम्पले ध्वस्त भएका सम्पदाको पुनर्निर्माण गरिरहेका छौं । जसका कारण केही अव्यवस्थित देखिएको छ । भित्री क्षेत्रमा सवारी निषेध गरेपछि वनकालीको मैदानमा पार्किङ राखेका हौं । नवनिर्मार्ण, पुनर्निर्माण भइरहेको छ । २०७७ सालसम्म निर्माणका सबै काम सम्पन्न गरिसक्ने लक्ष्य लिएका छौं ।
गुरु योजनाको काम कहाँ पुग्यो ?
गुरुयोजनाको काम लगभग सकिएको छ । हामीलाई यसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गरिरहेको छ । यो योजना सरकारले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । भावी काम भनेको भौतिक काम भन्दा पनि संरचनासुधारको काम हुन्छ । केही महिनामा यो गुरुयोजनाले अन्तिम रुप पाउनेछ ।
५६ सालतिर यस क्षेत्रमा रहेका १५० वटा जति घर भत्काइएको थियो । फेरि पनि भत्काउने तयारीमा हुनुहुन्छ ?
यो भन्दाअगाडि दक्षिणतर्फको वस्ती हटाइएको थियो । हामीले वस्ती हटाउने बारे कुनै औपचारिक छलफल गरेका छैनौं । वस्ती कायम राखेरै कसरी गुरुयोजना कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत छ ।