कांग्रेसमा पौडेल र सिटौलाको उत्रियो मुकुण्डो
भागवण्डाका लागि देउवाको तेजोबध
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य कृष्ण सिटौलाको मुकुण्डो उत्रिएको छ । सभापति शेरबहादुर देउवाले बिधि र प्रक्रिया मिच्दै बहुमतको आडमा पेलेर पार्टी चलाएको भन्दै लामो समयदेखि देउवाको खोइरो खन्दै आएका पौडेल र सिटौलाले अन्ततः आफनो असली अनुहार देखाएका छन् ।
नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले गठन गरेको अनुशासन, निर्वाचन तथा नियमावली मस्यौदा समितिमा भाग पाएपछि पौडेल र सिटौला दंग परेका हुन् ।
सभापति देउवाले महासमिति बैठकको निर्णय बिपरित केन्द्रीय समिति बैठकबाट बिधान परिमार्जन गरेको भन्दै उनीहरुले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनीहरुले आफू पक्षधर नेताहरुलाई पनि ‘नोट अफ डिसेन्ट’ लेख्न लगाएका थिए । यति मात्र होइन बिभिन्न ५६ जिल्लाका सभापतिहरुलाई देउवाबिरुद्ध वक्तव्य निकाल्न लगाउने पनि यीनै थिए ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि देउवालाई एकलरुपमा जिम्मेवारी लिन दबाब दिनका लागि पार्टी भित्र अभियान नै उनीहरुले चलाए । महासमिति बैठक अघि नुवाकोटमा उनीहरुले जिल्ला सभापतिहरुको भेला गर्न नै लगाए । यो पार्टी बिधान बिपरितको कार्य थियो ।
सभापति देउवाले बिधि र प्रक्रिया मिचेर पार्टी चलाइरहेको, कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरेको भन्दै उनीहरुले बिशेष महाधिवेशन बोलाउन भित्रभित्रै जिल्ला सभापतिहरुलाई हस्ताक्षर अभियानका लागि उक्साइरहेका थिए । यसमा सबैभन्दा बढी नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी र काभ्रेका सभापति मधु आचार्य प्रयोग भैरहेका थिए । आजपनि त्यो प्रयास जारी छ ।
नेपाली कांग्रेसमा देउवा भएसम्म पार्टी कहिल्यै उभो नलाग्ने भन्दै देशभर सत्तोसराप गर्ने पौडेल र सिटौलाले के खोजेका रहेछन् त ? केही दुई चारवटा समितिमा आफना नेताहरुलाई भाग पुर्याउन नै यतिका नाटक हो ? यदि देउवा बेठिक छन्, उनले महासमितिको निर्णय बिपरित बहुमतको आडमा पेलेर बिधान संशोधन गरेका हुन् भने त्यो कुरा अहिले किन हरायो ? देखाउनका लागि मात्र ‘नोट अफ डिसेन्ट’ लेख्ने ?
भागवण्डा नै खोजेको हो भने कुरा नलुकाएर स्पष्ट रुपमा भन्दा भैहाल्थ्यो नी । मोही माग्ने ढुंङ्ग्रो लुकाउने किन ? अहिलेसम्मको अनावश्यक बहसले जुन समयको बरबादी भयो त्यसको भरपाई के ?
सबैको गुनासो छ, नेपाली कांग्रेस कमजोर भयो, प्रतिपक्षी दलको भूमिका प्रभावकारी हुन सकेन । वास्तवमा कांग्रेसलाई कमजोर बनाउन सभापति देउवा भन्दा पौडेल र सिटौलाको भूमिका बढी देखिन्छ । सभापतिलाई काम गर्न नदिने, सानोसानो कुरामा अत्तो थापेर बस्ने, भए नभएको कुरा गरेर नेता कार्यकर्तालाई दिग्भ्रमित पार्ने र अन्तमा गएर भागवण्डा मिलेपछि चुप बस्ने ।
अहिले सिटौला र पौडेल समूहमै उनीहरुप्रति असन्तुष्टि बढ्न थालेको छ । पछिल्लो केन्द्रीय समिति बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति, रमेश लेखकको संयोजकत्वमा नियमावली मस्यौदा समिति र भिष्राज आङदाङवेको नेतृत्वमा अनुशासन समिति गठन गरेको थियो । निर्वाचन समितिमा खम्मबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सीताराम केसी सदस्य छन् ।
यस्तै, नियमावली मस्यौदा समितिमा मीन बिश्वकर्मा, ईश्वरी न्यौपाने, प्रदीप पौडेल र जीवन परियार सदस्य छन् । पौडेल र सिटौला समूहबाट अनुशासन समितिमा धनराज गुरुङ र उमाकान्त चौधरी छन् । संस्थापन पक्षबाट देवेन्द्रराज कंडेल र किशोर राठोर छन् ।
अब भागवण्डाका आधारमा अघि बढ्न थालेपछि कुन नैतिकताले देउवाको बिरोध गर्ने ? देउवा बेठिक कि बार्गेनिङका लागि आफनो सभापतिको बदनाम गरी कांग्रेसलाई नै कमजोर बनाउन भूमिका खेल्नेहरु बेठिक ?