देश

राजनीतिभन्दा खेती प्यारो ठान्ने पूर्वमन्त्री विष्ट

राजनीतिभन्दा खेती प्यारो ठान्ने पूर्वमन्त्री विष्ट

लमही। तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा रोपिएका छन् । झट्ट हेर्दा जो कोहीलाई अनौठो लाग्न सक्छ, त्यसमा पनि पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर फरुवा समाएर खनिरहेको भेटिन्छन् । 

पूर्वमन्त्री मगरले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको तीन बिघा ६ कठ्ठा जग्गामा ‘ड्रागन फ्रुट’ खेती शुरु गरेका छन् । त्यो उजाड जमीनमा दाङमै पहिला पटक ड्रागन फ्रुट अर्थात ‘रातकी रानी’ को उत्पादन गर्न लागिपरेका मन्त्री मगर भन्छन्, “पहरामा फूल फुलाउन र मरुभूमिमा मूल फुटाउन त्यति सजिलो छैन तर म प्रयास गर्दैछु ।”


आफू मन्त्री हुँदा राजनीतिक भ्रमणमा चीन गएको र त्यतिबेला पहिलो पटक खाएको फल ‘ड्रागन फ्रुट’लाई आफैंले नेपालमै उत्पादन गर्नुपर्छ भन्ने उनलाई त्यो बेलादेखि नै लागेको रहेछ । नेपालमा यसको सम्भावना राम्रो भएको र स्वास्थ्यका लागि पनि उपयोगी भएकाले आफूले नेपालमा यसको खेती शुरु गरेको उनले बताए । उनका अनुसार तराईमा यसका लागि उपयुक्त हावापानी छ । यस फलमा ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने गुण छ । 

ड्रागन फ्रुटको बिरुवा नेपालमा नपाइने भएकाले भियतनाम, थाइल्यान्डलगायतका देशबाट ल्याउने गरेको उनले बताए । तीन प्रकारका बिरुवाहरु पाइने भए पनि बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि रातो हुने दुई प्रकारका बिरुवाहरु उनले लगाएका छन् । ती विदेशबाटै कलमी गरेर ल्याइएका बिरुवा हुन् । 


युवालाई स्वरोजगार बन्न सिकाउन लामो समय बाँझो रहेको ३ बिघा ६ कठ्ठा जग्गालाई १५ वर्षसम्मका लागि उनले ४० लाख रुपैयाँमा भाडामा लिएका हुन् । उनले भने, “पछिल्लो समय युवा जमात आफ्नो जग्गा बाँझो राखेर विदेश गइरहेका छन् । उनीहरुलाई विदेश भन्दा स्वदेशमै पसिना बगाए मरुभूमिमा मूल फुटाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो खेतीको शुरुआत गरेको हुँ ।” 

अहिले करिब ७/८ कठ्ठामा जग्गामा दुई हजार १०० बिरुवा रोपिएका र बाँकी जग्गाका लागि चार हजार बिरुवा आउँदै गरेको उनले जानकारी दिए । लगाएको दुई वर्षदेखि यसले फल दिन थाल्छ । पूर्बमन्त्री विष्टलाई सघाउने पाँचजना छन् । दुईजना नियमित काममा खटिएका छन् भने अन्य तीनजना काठमाडौंमा बस्छन् । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरोमा खाँबो गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ । त्यहीँ डिप बोरिङ गरेर हप्तामा २/३ पटक सिंचाइ गर्ने गरिएको छ । 

यो फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले पनि रातकी रानी भन्ने गरिएको हो । जेठको १५ गतेदेखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्ने पूर्वमन्त्री विष्टले बताए । फूल फुलेको ४/५ दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको विशेष चिया बन्ने पनि उनले जानकारी दिए । उनका अनुसार फूल फुलेको ४५ दिनमा फल तयार हुने र यसको फल १५० ग्रामदेखि एक किलोग्रामसम्म हुन्छ । 

राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म यसबाट फल लिन सकिन्छ । यो सिउँडी प्रजातिको फल हो । दाङका लागि ड्रागन नौलो फलको रुपमा रहेको छ । अन्य मुलुकमा यो फल व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने भर्खरै यसले प्रवेश पाएको छ । यस फलमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यो फल मिठो नभए पनि औषधीय गुणले भरिपूर्ण रहेको पूर्वमन्त्री विष्टको भनाइ छ । 

यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको मुन्टाको पनि गजबको तरकारी बन्ने उनले जानकारी दिए । लामो समयको अध्ययन र अनुसन्धान पछि यो खेतीतर्फ आकर्षित भएका रहेछन् विष्ट । मुलुकमा परिवर्तन ल्याउन लामो समय राजनीतिमा सक्रिय रहेका उनी अब भने राजनीतिमा नफर्कने बताउँछन् । कृषि क्रान्ति गरेरै बाँकी जीवन बिताउने अठोट छ पूर्वमन्त्री विष्ट । 

विशेष