विचार इतिहासमा आज

गिरिजाप्रसाद नअटेको गणतन्त्र

गिरिजाप्रसाद नअटेको गणतन्त्र

रोल्पाले गणतन्त्रको आवाज बुलन्द गर्दा त्यतिबेला काठमाडौं साउतीमा बोल्थ्यो । राजनीतिक दल–दरबारबीच ‘लभ–हेट’को सम्बन्ध थियो । कोही राजा ज्ञानेन्द्रलाई थर्काएर प्रधानमन्त्रीको जागिर फुत्काउने पक्षमा थिए त कोही फकाएर । समयलाई काइते राजनीति मञ्जुर भएन । सबैका लागि कित्ता रोज्नुपर्ने बाध्यता आइलाग्यो । बाउको पुस्ताका दास मनोवृत्ति भएका राजनीतिज्ञको सहयोगमा एक्काइसौं शताब्दीको राजनीति गर्छु भन्ने राजा ज्ञानेन्द्रको तुरुप पनि भुत्ते सावित हुँदै गयो । दरबार र दलबीच च्याँखेदाउ खेल्दै बन्दुकको राजनीति गरिरहेको माओवादी पनि दबाबमा थियो । आफूहरुलाई ‘भुसको भँगेरो’ नगन्ने राजा ज्ञानेन्द्रको शेखी झार्न दलका नेताहरुको निकटता स्वाभाविक बन्दै गयो । राजालाई टक्कर दिने एक मात्र पात्र थिए– गिरिजाप्रसाद कोइराला । 

 

राजा महेन्द्र र बीपीको टक्करले प्रजातन्त्र गुमेर पञ्चायत जन्मियो । यसैगरी राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाको ईख प्रतिशोधमा अनुवाद हुँदा मुलुकमा गणतन्त्र भित्रियो । गिरिजाप्रसाद यस्ता आँटी राजनीतिज्ञको नाम हो, जो राजाले आफूलाई ‘भ्रष्ट’ भनेर आरोप लगाउँदा  ‘दाजुको हत्यारा’ जवाफ फर्काउन सक्थे । गिरिजाविना मुलुकमा गणतन्त्र सम्भव नहुनेमा सवै दलका समकालीन नेताको सहमति छ । उनी जे बोल्थे, त्यसमा अडिग हुन्थे । बरु जे गर्थे, त्यो बोल्दैनथे । उनको राजनीतिक इतिहासका तीन पाटा छन् । राजनीतिको पूर्वाद्र्ध उनले आफ्नो दाजु बीपीलाई सफल बनाउन खर्चिए । त्यो त्याग जेल, नेल, संघर्षमा  मात्र सीमित भएन । यसको आयतन यतिसम्म फराकिलो भयो कि जहाज अपहरण गर्ने सम्मको जोखिम मोल्न तयार भए । जहाज अपहरणको यो प्रकरण दक्षिण एशियाको राजनीतिमै दुर्लभ मानिन्छ । जसको सफल नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।

 

०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरी बीपीलाई जेल हालेपछि बीपीको दूत बनेर दरबारमा सन्देश लाने ल्याउने काम गरे । यसले भित्री गुदी बुझ्न सहयोग गर्‍यो । बीपीको अवसानपछि काँग्रेस राजनीतिमा गिरिजाप्रसाद नाम फराकिलो हुँदै गयो । अत्यन्त जाँगरिला र कुशल संगठक भएका कारण कार्यकर्ता माझ उनी स्थापित हुँदै गए । ०४६ सालको सफल जनआन्दोलनपछि गिरिजाप्रसाद पार्टीको केन्द्रविन्दुमा रहे । कृष्णप्रसाद भट्टराई चुनावमा पराजित भएपछि प्रधानमन्त्रीको कुर्सी उनी भए ठाउँमै स्वागतमा आयोे । जोस थियो, जाँगर थियो । पार्टीको स्पष्ट भिजन थियो । राज्य नियन्त्रित अर्थतन्त्रलाई खुल्ला बजारमा परिणत गरेर अवसरको ढोका खोल्ने कामको शुरुवात गिरिजा नेतृत्वको सरकारले गर्‍यो । मुलुकमा लगानीका बाटा खोलिए । शिक्षा, स्वास्थ्य, यातायात, हवाई सेवामा निजी लगानीकर्ताहरुको आकर्षण बढ्यो । मुलुकको अर्थतन्त्र झण्डैझण्डै दोहोरो अंकको महत्वाकांक्षी सुधारतर्फ लागेको भनेर प्रक्षेपण थालियो । कालो बादलमा आएको चाँदीको घेरा धेरै समय टिकेन ।

 

गिरिजाप्रसाद सीमित मानिसको घेराबन्दीमा पर्न थाले । नेताहरुमा बेमेल बढ्यो । कृष्णप्रसाद भट्टराईको पराजयमा कोइरालाको हात रहेको आवाजले दलभित्र विखण्डन बढायो । कोइरालाभन्दा अग्रज गणेशमानसिंह र कृष्णप्रसाद भट्टराई पार्टीमा निष्क्रिय बन्दै गए । सरकार ढाल्ने खेल शुरु भयो । भट्टराई–कोइराला गुटले पार्टी जरो गाढ्यो । भागवण्डाको राजनीति विधिजस्तै बन्यो । एक अर्कालाई सिध्याउन तल्लो तहसम्म पार्टी कार्यकर्ता हात धोएर लागे । पार्टीभित्र असहिष्णुता यतिसम्म बढ्यो कि बहुमतको सरकार भंग गरेर एमालेलाई सत्ता बुझाउने काम भयो । मजबुत ढुकुटीमा उपस्थित जनाएको एमालेले वितरणमुखी लोकप्रिय कार्यक्रम ल्याएर काँग्रेसको ढाड भाँच्न शुरु गर्‍यो । यसको अपजस गिरिजाप्रसादमाथि स्वाभाविक जान थाल्यो ।

 

त्यसपछि शक्तिसंघर्ष चुलिदै गयो । माओवादीले जंगलमा गोली पड्काएर संघर्ष थाल्यो । काँग्रेस एमाले दलको अन्र्तसंघर्ष धान्न नसकेर सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई बोकेर सरकारको नेतृत्वमा पुग्न थाले । सांसदलाई किनबेचको माध्यम बनाएर व्यवस्थालाई बद्नामका यत्न भए । वास्तवमा बहुदलीय व्यवस्था द्रौपदीको सारीजस्तै बनाइयो । व्यवस्था बद्नाम हुनुको प्रमुख पात्रमध्ये गिरिजाप्रसादको कार्यशैली प्रमुख मानियो । नेपालको राजनीतिमा सवैभन्दा बढी आक्रमण झेलिएका पात्रमा कोइरालाको नाम आउँछ । तात्कालिन प्रतिपक्षी एमालेले त उनको नाममा भएका विरोधमा के गर्‍यो भन्दा पनि के गरेन भन्दा उपयुक्त हुने स्थिति थियो । माओवादीले संघर्ष थाल्दा गिरिजाप्रसाद समर्थक काँग्रेस आक्रमणको पहिलो तारोमा पर्थे ।

 

दरबार हत्याकाण्डपछि राजनीतिक कोर्स फेरियो । राजा ज्ञानेन्द्रसंग गिरिजाप्रसादको केमेष्ट्री मिलेन । माओवादी सशक्त बन्दै आयो । सबैलाई सेफ ल्यान्डिङ चाहिएको थियो । ज्ञानेन्द्रको  लिएको सत्ता फुत्काउने अस्त्रको खोजीमा दलहरु थिए । ज्ञानेन्दलाई साईजमा ल्याउन प्रचण्डलाई गिरिजा, गिरिजालाई प्रचण्डको आवश्यकता थियो । आखिर त्यो साईत जुर्‍यो । ०६२, ०६३ जनआन्दोलन यही डिजाइनको पूर्वाभ्यास थियो । भाँचिन जान्ने, दोब्रिन नजान्ने गिरिजाप्रसादमा एकाएक सहिष्णु चरित्रको विकास भयो । कम्युनिष्टलाई अजात शत्रु ठान्ने उनी कम्युनिष्टसंगको सहकार्यमा अग्रसर भए । संवैधानिक राजतन्त्रको कठोर समर्थक पार्टीलाई गणतन्त्रको पक्षधर बनाए । यद्यपि त्यो निर्णयले संगठनको आत्मामा धेरै चोट लाग्यो । वास्तवमा कम्युनिष्ट पार्टीहरुको एकतामा तयार भएको आन्दोलनको यज्ञमा चरु होम्ने कामको जिम्मेवारी कोइरालाले लिए ।

 

त्यो बेला राष्ट्रिय अन्तर्राष्ट्रिय, घरेलु  परम्परागत, गोली बारुदसहितको माओवादी फौजीको दबाब झेले । बेबी किङको तुरुप मिल्काए । राजाले विघटन गरेको संसद राजाबाटै पुनस्र्थापना गर्न लगाएर माओवादीलाई लोकतन्त्रको मूलधारमा ल्याए । राष्ट्र प्रमुख र सरकार प्रमुखको जिम्मेवारी एकसाथ निर्वाह गर्ने इतिहासकै शक्तिशाली राजनीतिज्ञ पनि बने । उनको पछिल्लो राजनीतिक प्रोफाइल अनुकरणीय बन्यो । यद्यपि उनले चाहेको भए सुशासनका लागि धेरै काम हुन सक्थे । त्यसो हुन नसके पनि मुलुकलाई हत्या र हिंसाको राजनीतिबाट मुक्त दिलाउने कामको जस उनैलाई जान्छ । 

 

कम्युनिष्टप्रति अनुदार गिरिजाप्रसाद कोइरालाले कम्युनिष्टको मूलभूत सिद्धान्त गणतन्त्र ल्याए पूरा गरिदिए । यो सफलताले अरुले के कति पाए थाहा छैन । उनले धेरै हारे । पार्टीमै उनका समर्थक घटे । कृष्णप्रसाद भट्टराई जस्ता युगपुरुष पार्टीबाट अलप भए । काँग्रेसमाथि सैद्धान्तिक रुपमा विचलन आएको आरोप लाग्न थाल्यो । कालान्तरमा नेपालको पहिलो राष्ट्रपति बन्ने उनको सपना पूरा भएन । कम्युनिष्ट पार्टी सुप्रिमो प्रचण्डलाई अहिले पनि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नसकेकोमा पछुतो छ । पछिल्लो कार्यकालले गिरिजाप्रसाद सहमति, सहकार्यको राजनीतिक छवि दियो । परिचय बद्लियो । यति चाहिँ भन्नै पर्ने हुन्छ कि समयले थुप्रै अवसर दिँदा पनि उनले राजनेता बन्ने सुखद अवसर गुमाएकै हुन । खरिदार कृष्णप्रसाद कोइरालाका तीन भाइ सुपुत्र मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद मुलुकको प्रधानमन्त्री भएर विश्वमै हुने दुर्लभ इतिहास लेखाएकै हुन । जुन लेखोट कहिल्यै मेटिने छैन । ८५ वर्षसम्म सतिसाल भएर लोकतन्त्रका लागि लड्ने  चट्टानी अडान भएका यी व्यक्तित्वको कदर इतिहासले सधैं गरिरहने छ ।  
 

गिरिजाप्रसाद कोइराला

विशेष