मनको कुरा थाहा पाउँछु भनेर कति त बोल्नै डराउँछन्
काठमाडौं । हामीलाई शारीरिक पीडा भयो भने अस्पताल जान्छौं । सहज रुपमा आफ्ना जिज्ञासा डाक्टर सामु राख्छौं । डाक्टरको सल्लाह मान्छौं र ठीक हुने प्रयत्न गर्छौं । तर शरिरका अन्य भागमा समस्या भएजस्तै मानिसको मानसिक अवस्थामा पनि समस्या आउनु पनि सामान्य कुरा हो भन्नेबारे हामी मध्ये कमै व्यक्ति यसबारे जानकार भएको विज्ञहरू बताउँछन् ।
मानसिक स्वास्थ्यको क्षेत्रमा लामो अनुभव बटुलेकी एक मनोविद् हुन् –चेतना लोकसम । मानसिक स्वास्थ्य, मनोविद र उनीहरुको बारेमा राम्रो जानकारी नहुँदा कतिपय मानिसहरु उनीसँग नजिक पर्नै डराउँथे । ‘यसले मनको कुरा थाहा पाउने पो हो कि ?’ भन्ने धेरैमा भ्रम हुन्छ । यसवाहेक उनीसँग बोल्यो भने अरुले पनि आफू मानसिक रोगी हो भन्ने सोच्छन् भन्ने अर्को भ्रमका कारण पनि बाटोमा मानिसहरूले उनलाई देखे भने तर्किन्थे ।
लोकसम भने अहिलेको बिग्रदो मानसिक स्वास्थ र यसबारे भएको कम सचेतनाका कारण उनी चिन्तित छिन् । भन्छिन्, ‘मानसिक स्वास्थ्यको अवस्था भयावह छ । कम्तीमा पनि पाँचजनामा एकजना व्यक्तिमा मानसिक समस्या देखिन्छन् ।’
मानसिक स्वास्थको महत्व मानिसको जनजीवनमा पानीजस्तै भिज्न समय लाग्ने बताउँछिन् उनी । गाउँघरतिर अझै पनि मनोविदको विकल्पमा धामी झाँक्रीको प्रयोग हुँदै आएको छ । यो अन्धविश्वासकै नतिजा भएकोमा उनले जोड दिइन् ।
भन्छिन्,‘गाउँघरमा यसबारे काम गर्ने व्यक्ति नहुँदा पनि धामी झाँक्रीकोमा जाने गर्छन् । अन्धविश्वासलाई चिर्नको लागि हाम्रो जनशक्ति अझै धेरै परिचालन गरिनुपर्छ ।’
शारिरिक आघात भएजस्तै मानसिक आघात पनि हुन्छ । दुुर्घटना भएर घाउचोट लाग्नु एउटा समस्या हो भने दुर्घटनाले गर्दा मानिस डराउनुु, फेरि दुर्घटना पर्छ कि भनेर डराउनु र त्यसले कसैको दैनिकीमा फरक प¥यो भने त्यो मानसिक आघात हुने उनले बताइन् ।
त्यसकारण शारीरिक रोगसँगै मानसिक रोग पनि सामान्य कुरा हो भनेर बुझाउनु पर्नेमा उनले जोड दिइन् । औषधि खाएर साइकोलोजिकल थेरापीमार्फत ठिक हुन सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । यसलाई पानीजस्तै पचाउने र जनजिब्रोमा भिजाउने जसरी लैैजानुपर्यो’, उनले भनिन् । दुनियाँमा सबभन्दा धेरै खुशी हुनुपर्ने चिज नै मन हो । यदि मन खुशी छ भने संसार खुुशी लाग्छ र मन दुखी छ भने संसारकै अमूल्य वस्तुु ल्याएर दिए पनि खुशी नहुने उनले बताइन् ।
कतिपयले प्रेममा धोका पाएर आत्महत्याको बाटो रोज्छन् । यसबाट कसरी जोगिने भन्ने प्रश्नमा उनले भनिन्, ‘केटाकेटीले मरेपछि समस्या सामाधान हुन्छ भन्ने सोच्ने गर्छन् । तर त्यस्तो होइन । यसबाट जोगिन र जोगाउन सबैको भूमिका हुनुपर्छ । त्यसमा परिवारले कति समयय दिइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण छ ।’
किशोर अवस्थामा हर्मोनल परिवर्तनले गर्दा कोही चाँडो रिसोउने, झगडालु हुने, अपोजिट सेक्समा आकर्षित हुने हुन्छ । यो कुरा भनेको सामान्य भएको र यसलाई अभिभावकले पनि बुझ्नुपर्ने र बच्चालाई पनि बुझाउनुपर्नेमा उनले जोड दिइन् ।
उनीसँग उपचारको लागि विभिन्न किसिमका व्यक्ति आउँछन् । डिप्रेसन भएका, त्यसमा पनि आत्महत्याको टेन्डेन्सी भएका, केटाकेटीमा बुलिइङको समस्या लिएर आएका हुन्छन्, शिक्षाको कारण, अभिभावकले बढी राम्रो अंशको अपेक्षा गर्ने समस्या, आमाबाबुले समय नदिएरहुने समस्या आदि समस्या लिएर उनकोमा आउने गर्छन् ।
हिजो आज व्यस्तताका कारण अधिकांश आमाबाबुले छोराछोेरीलाई समय दिइरहेका छैनन् । जसको प्रत्यक्ष प्रभाव छोराछोरीमा गएको उनले औंल्याइन् । आमाबाबु र छोराछोरीबीचको सामिप्यता फितलो हुँदै गएको कारण पनि धेरै बच्चाहरूमा मानसिक समस्या देखिएको उनले जनाइन् ।
यदि कोही मानसिक विरामी भएमा उनीहरूलाई दिनुपर्ने कुरा अरु केही नभएर माया भएको उनी बताउँछिन् । ‘परिवारले साथ दिएपनि समाजले हेर्ने दृष्टिकाणमा पनि परिवर्तन आउनु जरुरी छ । त्यस्तो व्यक्तिलाई मायाको खाँचो हुन्छ । उसको कुरा सुन्ने बुझ्ने प्रयत्न गर्नुपर्छ’, उनले थपिन् ।
उमेर बढ्दै गएपछि कतिपयलाई बिर्सने रोग लाग्छ । तर यो मानसिक रोग नभएको उनको जिकिर छ । उनीहरूलाई जति धेरै एक्सरसाइज गरायो उति बिर्सिन सक्दैनन्् भन्ने उनको विश्वास छ । ‘रिटायर लाइफपछि घरमै बस्नेमात्र हँुदा पनि बिर्सने रोग लाग्छ भनिन्छ । दिमाग एक्टिभ भइरहने किसमका काम गर्न लगाउनुपर्छ । बगैचामामात्र काम गर्दा पन स्वस्थ्य रहन मद्दत गर्छ’, उनले भनिन् ।
लोकसम लामो समयदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत छिन् ।
‘द रिलिफ ट्रष्ट’ नाम गरेको संस्थामार्फत उनले मानसिक स्वास्थ्यमा लामो समयदेखि काम गर्दै आएकी छन् । वि सं २०३० मा स्थापना भएको यस संस्थाले विभिन्न क्षेत्रमा रहेर काम गर्दै आएको छ । अभिभावकलाई बालबालिका हुर्काउनेबारे सचेत गराउने र समाजमा देखे भोगेका कुरालाई पनि उजागर गर्ने काम उक्त संस्थाले गर्दै आएको लोकसमले बताइन् । यस लगायत उक्त संस्थाले एसिड पीडितको लागि जनचेतना, रोकथामका कुुराहरुबारे पनि जनचेतना ल्याउने काम गरिरहेको छ ।