कभर स्टोरी

शोकमा पनि चुनावका कुरा गर्ने ‘संवेदनाहीनहरु’

शोकमा पनि चुनावका कुरा गर्ने ‘संवेदनाहीनहरु’

आँशु पुछिएको छैन हाँसोको कुरा ?
मलामीबाट फर्किन पाएको छैन विवाहको कुरा ?
लाश आँगनमा छ, भित्र सहवासको कुरा ?

यी सबै असुहाउँदा कुरा हुन्, तर समाजमा यही देखिएको छ । हरेक कुराको समय आउँछ, तर समयलाई कुर्ने धैर्यता कसैमा देखिदैन । समय भन्दा अघि बढन खोजेर नै समाजमा बिसङ्गगति फैलिएको छ । यो बाटो भनेको अन्ततः बिनाश नै हो । 

 

सबैका प्रिय नेता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम नेकपा केन्द्रीय सदस्य रविन्द्र अधिकारीको सवालमा पनि यही देखिएको छ । अधिकारीको परिवार, उनका आफन्त, उनको गाउँ, जिल्ला, उनको पार्टी र देशभर छरिएका उनका प्रशंसकका आँखा ओभानो हुन नपाउँदै नेकपामा फोहरी राजनीतिको बाछिटा देखिन थालेको छ । 

 

नेकपा नेता बामदेव गौतमको भनाइबाटै सो पार्टी भित्र शोकका बेला समेत फोहरी राजनीति कसरी मौलाएको छ भन्ने पुष्टि गरेको छ । उनले रविन्द्रको क्षेत्रबाट आफूलाई उम्मेदवार बनाउन लागेको भन्दै प्रचार गरेर आफनो बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । साथै, रविन्द्रको क्षेत्रबाट आफू उम्मेदवार नबन्ने बरु उनकै परिवारबाट उम्मेदवार बनाउन पहल गर्ने समेत उनले स्पष्ट पारेका छन् । 

 

अब प्रश्न उठ्छ के यो समय उपनिर्वाचन र उम्मेदवार चयनको को हो ? 

 

पक्कै होइन । यो शोकको घडी हो । यतिबेला शोक मनाउने हो । शोकको घडी सकिएपछि जे जे गर्ने हो त्यहीबेला गरे हुन्छ । उपनिर्वाचनका लागि उम्मेदवार चयन र अब रविन्द्रले सम्हालेको मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्ने चर्चा चलाउनु आँगनमा लाश राखेर भित्र मधुपल खोजे जस्तै हो । 

 

नेता गौतमलाई उम्मेदवार बनाउने भनेर बदनाम कसले गर्यो ? यो कुरा गौतमले खोल्नुपर्छ । होइन भने अन्टसन्ट लेखेर आफैले आफ्नो चर्चा चलाएको आरोप उनीमाथि लाग्नेछ ।

 

यहाँ गौतमको मात्र होइन अर्का नेता योगेश भट्टराईको पनि बदनाम गर्न सुरु भैसकेको छ । ‘अब पर्यटन मन्त्रालयमा योगेशले आँखा गाडेका छन्’ बिभिन्न सार्वजनिक ठाउँमा यस्ता टिप्पणी सुन्न थालिएको छ । 
यी सबै चर्चा सडकमा सर्वसाधारणले चलाएका होइनन् । नेकपाका  नेताहरुको मुखबाट निस्केका शब्दका आधारमा चर्चा सुरु भएको हो । 

 

दुःखको घडीमा असान्दर्भिक चर्चा चलाउने जो सुकै होस नेकपाले आफनो पार्टीको नेता कार्यकर्ता परे कारवाही गर्नुपर्छ । मानविय संवेदना कायम नराख्ने हो भने राजनीति कुनै हालतमा चल्ने छैन । 

 

यस्तै अवस्था  बिगतमा सुर्खेतमा तत्कालिन नेकपा एमालेका नेता यदु गौतमा मारिदा पनि भएको थियो । उनको अन्तिम संस्कार गर्न नपाउँदै उनकी श्रीमतिलाई उम्मेदवार बनाउने लगभग निर्णय नै भएको थियो । 

 

यस्तै, बर्दियामा नेपाली कांग्रेसका नेता गोविन्द पौडेल मारिदा पनि उनकी श्रीमतिलाई उम्मेदवार बनाउने निर्णय शोककै घडीमा गरियो । 

 

तत्कालिन नेकपाका महासचिव मदन भण्डारी लगायत बिभिन्न पार्टीका नेताहरुको निधनको समयमा पनि योक्रमले निरन्तरता पाएको छ ।  जहिल्यै यो प्रकारका घटना हुन्छन्, घाउमा मलहम लगाउनु भन्दा पनि शोकको संवेदनामा टेकेर राजनीतिको सिंढी उक्लिने काम किन हुन्छ ? यसले हाम्रो राजनीतिक संस्कार मात्र होइन मानविय असंवेदनाको चुली पनि प्रकट गरेको छ । 

विशेष