फोटो समाज

बालीमा फोहोरको सम्मान [फोटो]

- संकेत कोइराला

बालीमा फोहोरको सम्मान [फोटो]

इण्डोनेशियाको बालीमा विश्वका पर्यटकहरूको आकर्षण बढ्दो छ । मुस्लिम मुलुक भए पनि बालीमा हिन्दु धर्मको प्रभाव, सरदर सस्तो पर्यटकीय बजार र प्राकृतिक सम्पदाको उचित संरक्षणका कारण नेपाली पर्यटकले बालीको भ्रमणमा रुचि बढाएका छन् । यो आलेखमा बाली शहरमा फोहोर व्यवस्थापन गर्न अपनाइएको प्रविधिको उल्लेख गर्न खोजिएको छ ।

त्यहाँ उत्पादित फोहोर जम्मा गर्न शहरभरि कलात्मक डसबिन राखिएका छन् । फोहोरको सम्मान गर्दै कला र फोहोर व्यवस्थापन गर्न एकैपटक निकालिएको यो जुक्ति नेपालका लागि पनि उपयुक्त 'काइदा' हुनसक्छ । न फोहोर भनेर नाक खुम्च्याउनुपर्ने अवस्था न समस्याबाट तर्सिनुपर्ने कहालीलाग्दो क्षण नै । फोहोर फाल्न राखिएको भाँडोसमेत पर्यटकलाई शिक्षा र मनोरन्जन दिने साधन बनाइएको अवस्थामा अरू व्यवस्थापन कस्तो होला आफैँ कल्पना गर्न सकिन्छ ।

त्यहाँका सुपरमार्केट हिन्दुशास्त्रका भगवान्‍को नामबाट राखिएको छ । शहर महाभारत र रामायणकालीन युद्ध सम्झाउने विशाल कलाबाट सुशोभित छ । त्यहाँको पैसामा समेत हिन्दु धर्म झल्किने कला संग्रहित छ ।

नेपालमा फोहोरलाई मोहोर बनाउने विषयमा थुप्रै बहस भए । गैरसरकारी संस्थाले उचालेको नारामा राजनीतिज्ञ बहकिए । सरकारले योजना, आयोजना बनाएर बहस गरिए । अझै पनि कुनै राष्ट्रिय उत्सव भयो कि ठूलाबडा पञ्जा लगाएको हातमा कुचो बोकेर निस्किएको दृश्य बाक्लै देख्न पाइन्छ ।

पूर्वमुख्यसचिव लीलामणि पौडेलको अगुवाईमा शुरु भएको बाग्मती सफाई अभियान 'मच्चियो, मच्चियो थच्चियो' हुनपुग्यो । अझ काठमाडौं, ललितपुर र भक्तपुरका जनप्रतिनिधिको पहिलो एजेण्डा भनेकै यहाँ उत्पादन हुने फोहोरको व्यवस्थापन हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा दैनिक एकएक वटा नयाँ काम गर्ने संकल्पसहितको घोषणापत्र ल्याएका थिए । अन्ततः हिलो, धूलो र दुर्गन्ध काठमाडौंको नियति सबैको भाग्यबाट हटेको छैन । त्यसैले रचनात्मक कामको प्रशंसा मात्र हैन, नक्कल गरौं । तब मात्र सबैको भाग्यमा समृद्धि लेखिन्छ ।


यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

फोहोरको सम्मान

विशेष